+
+

माओवादीको अन्तर्घात छानबिन समिति ५ जिल्लाको स्थलगत अध्ययनमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १५:४८
दाँयाबाट क्रमश: माओवादीको अन्तर्घात छानबिन समितिका अध्यक्ष टंक राई, खिमलाल भट्टराई र मुक्ति प्रधान ।

५ साउन, काठमाडौं । स्थानीय तहको चुनावको ‘अन्तर्घात’ छानबिनका लागि नेकपा माओवादी केन्द्रले बनाएको समिति पाँच जिल्लाको स्थलगत अध्ययनमा जाने भएको छ।

समितिका अध्यक्ष टंक राईले बिहीबार बेलुकी आफूहरु प्रदेश १ का जिल्लामा जान लागेको बताए । ‘प्रत्यक्ष भेटेर सूचना लिनका लागि आज बेलुका पूर्व जाने कार्यक्रम छ,’ उनले अनलाइनखबरसँग भने ।

असार १९ देखि २३ सम्म काठमाडौंमा भएको माओवादी केन्द्रको तेस्रो केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गर्न अनुशासन आयोगका अध्यक्षसमेत रहेका राईंको नेतृत्वमा नेता खिललाल देवकोटा र पूर्व महान्याधिवक्ता मुक्ति प्रधान रहेको सदस्यीय समिति बनाएको थियो ।

२७ असारदेखि काम थालेको छानबिन समितिले पार्टी केन्द्रीय कार्यालयमै आइपुगेको सूचनाको विश्लेषणबाट छानबिन सुुरु गरेको थियो । ती सूचना विश्लेषण गर्दा तीन प्रदेशका पाँच जिल्लाको स्थलगत छानबिन गर्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको राईले बताए ।

उनका अनुसार प्रदेश १ को उदयपुर र ताप्लेजुङ, मधेशको महोत्तरी र सिरहा, लुम्बिनीको बर्दियामा छानबिन समितिले प्रत्यक्ष सूचना संकलन गर्ने छ । ‘प्रत्यक्ष भेटघाट गरेपछि कस्तो कुरो आउँछ, त्यसलाई मुल्यांकन गरेर टुंगोमा पुग्छौं,’ अध्यक्ष राईले भने ।

यी जिल्लामा चर्को अन्तर्घात भएको भन्दै माओवादीका केन्द्रीय तहका नेताहरुले नै केन्द्रीय समिति बैठकमा छानबिनको माग गरेका थिए ।

तीन प्रकारका अन्तर्घात

पार्टी केन्द्रीय कार्यालयमार्फत आइपुगेका सूचनाको विश्लेषण गर्दै छानबिन समितिले स्थानीय तहको चुनावमा भएका अन्तर्घातको तीन तहमा वर्गीकरण गरेको छ ।

केन्द्रीय नेताहरु संलग्न भएको र गम्भीर प्रकारको अनुशासन उल्लघंन भएकोलाई समितिले विशिष्ट प्रकारको अन्तर्घातमा राखेको छ । केन्द्रीय नेताहरुको संलग्नतामा भएको तर त्यसको असर मध्यम खालको भएकोलाई मध्यमस्तर र सामान्य आशंका मात्रै भएकोलाई सामान्य स्तर भनेर वर्गीकरण गरिएको छ ।

छानबिन समितिका अध्यक्ष राईले विशिष्ट किमिसको अन्तर्घात छानबिन गर्न ‘फिल्ड’मै जान लागेको बताए । मध्यम खालको अन्तर्घातको छानबिन भने फोनबाट सूचना लिएर र काठमाडौंमै बोलाएर गरिने उनको भनाइ छ ।

सामान्य स्तरको अन्तर्घातको छानबिनको जिम्मा भने स्थानीय समितिलाई नै दिइने राईले बताए । समितिले छानबिनका लागि पाएको १५ दिनभित्रै काम सक्ने गरी काम गरिरहेको छ ।

प्रारम्भिक सुझाव–लोकप्रिय उम्मेदवारको पूर्व जाँच आवश्यक

काठमाडौं बसेर देशभरबाट आएका अन्तर्घातको सूचनाको विश्लेषण गर्दा पार्टीको टिकट वितरण प्रणालीमै समस्या रहेको पाएको राई बताउँछन् । त्यसका लागि लोकप्रिय उम्मेदवारको पूर्व जाँच आवश्यक रहेको उनको भनाइ छ ।

‘सबैलाई आफू नै लोकप्रिय छु भन्ने लाग्छ’, उनी भन्छन्, ‘आफ्नै स्वमूल्यांकनले हुँदैन । कमसेकम लोकप्रियताको पूर्व जाँच पार्टीहरुले ‘प्राइमरी इलेक्सन’ गरेर गर्नुपर्छ । त्यस्तो गर्न सक्दैनन् भने पनि कमसेकम आफ्ना आम सदस्यहरुबीचमा चुनाव गरेर टुंग्याउनुपर्छ ।’

यस्तो प्रणालीमा जाँदा पालिकाको नेतृत्वमा उठ्न पालिकाभरिमा जसले बहुमत ल्याउँछ, त्यसले टिकट पाउने र संसदीय निर्वाचनमा उठ्नेले संसदीय क्षेत्रभरिको पार्टी सदस्यहरुको बहुमत ल्याउनुपर्ने छ ।

‘यस्तो प्रणाली विकास गरियो भने सबैको अपनत्व पनि हुन्छ’, राई भन्छन्, ‘अनि पदका आकांक्षीहरुको माथिका नेतातिर फर्किएको टाउको तलका जनता, कार्यकर्तातिर झर्छ । नेताको घरदैलो धाउनुभन्दा १० जना सदस्य बनाउनु मलाई फाइदा हुन्छ भन्नेतिर उम्मेदवार बन्न चाहानेहरु लाग्छन् । पार्टी नेताहरुको धेरै ठूलो झन्झट पनि कम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?