+
+

छानबिन समितिमा ३ घन्टा : कडा प्रश्नकर्ता, ढुक्क जनार्दन

जनार्दनसँग छानबिन समितिको प्रश्नोत्तर

संसदीय सुनुवाइको शैलीमा एकसरो कुरा राख्ने, सांसदहरुले प्रश्न गर्ने र पुनः जवाफ दिन लगाएर विदा गर्ने प्रक्रियामा चलेको जनार्दनसँगको छानबिन समितिको सोधपुछले तीन घण्टा समय व्यतित गर्‍यो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ साउन ५ गते २०:३८
संसदीय समितिमा जवाफ दिएर बाहिर निस्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै जनार्दन शर्मा ।

५ साउन, काठमाडौं । ‘करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भनेर सदनमा प्रश्न उठेपछि सीसीटीभी हेर्ने माग आएको थियो । सुरुमा सीसीटिभी हेर्न किन दिनुभएन ?’ बिहीबार संसदीय विशेष समितिमा उपस्थित भएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सांसद प्रदीप ज्ञवालीले प्रश्न गरे ।

उनले अघि सोधे, ‘सदनमा प्रश्न उठ्दा त सीसीटिभी फुटेज डिलिट भएको थिएन होला नि ?’
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करको दर हेरफेर गराएको भन्दै संसदमा अर्थमन्त्रीमाथि प्रश्न उठाएको एमाले स्वयंले सीसीटीभी फुटेज हेर्न माग गरेको थियो ।

सुरुमा त्यसलाई बेवास्ता गरेका तत्कालीन अर्थमन्त्री शर्मा त्यतिबेला संकटमा परे, जब अर्थ मन्त्रालयले १९ असारमा ‘१३ दिनसम्मको मात्र सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात पहिलेको अभिलेख क्रमशः मेटिदै जाने’ बतायो ।

फुटेज मेटेको आरोप लागेपछि संसदले छानबिनका लागि २२ असारमा संसदीय विशेष समिति बनाएपछि शर्माले राजीनामा दिनुपरेको थियो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सोधे, ‘त्यसबेला सीसीटिभी फुटेज सार्वजनिक गरिदिएको भए थप बहस गर्नु नै नपर्ने हुन्थ्यो । अहिले त्यही सीसीटिभी फुटेजका लागि मिहिनेत गर्नुपर्ने स्थिति आयो । जनप्रतिनिधिका हैसियतले यसमा कुनै रियलाइजेसन छ कि छैन ?’

त्यही संसदीय विशेष समितिले बिहीबार विहान ८ बजे तत्कालीन अर्थमन्त्री शर्मालाई छलफलका लागि बोलाएको थियो । करिव ८ः२५ मा पुगेका शर्मालाई जेठा सदस्यका रुपमा संयोजकको भूमिका निर्वाह गर्दै आएका लक्ष्मणलाल कर्णले बजेट निर्माणका सन्दर्भमा सार्वजनिक रुपमा समेत उठेका प्रश्नहरुबारे आफ्नो धारणा राख्न आग्रह गरे ।

शर्माले पुरानै धारणा राखे । मन्त्री भइसकेका सांसदहरु समितिमा रहेको भन्दै उनले भने, ‘त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन्, अरु मर्यादापालकहरु हुन्छन् । को भित्र आयो ? को गयो ? भन्ने सजिलै थाहा हुनसक्छ । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो ।’ उनले सीसीटीभी फुटेजको अभिलेख कहिलेसम्म रहन्छ भन्ने आफूलाई जानकारी नहुने पनि जिकिर गरे ।

त्यसपछि सुरु भयो धारावाहिक प्रश्न । एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले संसदले छानबिन समिति गठन गर्दा समेत सीसीटिभी फुटेज फेला पर्न नसकेको उल्लेख गर्दै सोधे, ‘त्यसबेला सीसीटिभी फुटेज सार्वजनिक गरिदिएको भए थप बहस गर्नु नै नपर्ने हुन्थ्यो । अहिले त्यही सीसीटिभी फुटेजका लागि मिहिनेत गर्नुपर्ने स्थिति आयो । सिसीटिभी फुटेज नभेटाउँदा समस्या भयो । जनप्रतिनिधिका हैसियतले यसमा कुनै रियलाइजेसन छ कि छैन ?’

एमालेका अर्का सांसद खगराज अधिकारीले प्रश्न गरे, ‘आफूमाथि प्रश्न उठ्यो भने सार्वजनिक रुपमा अरुमाथि प्रश्न उठाउँदै हिँड्ने ? एमालेको पहिचान खोज्दै जाने ? बजेट निर्माणमा गलत भएको छैन भन्ने विवरण दिने कि भाषणबाजी गर्दै हिँड्ने ?’

अर्थमन्त्रीमाथि प्रश्न उठाएको एमालेले बजेटको शीर्षकगत छलफलमा उठेका प्रश्नहरुबारे जवाफ दिन शर्मा रोष्ट्रम जाँदा बैठक बहिष्कार गरेको थियो । त्यसको काउण्टरमा शर्माले सञ्चार माध्यमहरुमा अन्तर्वार्ता दिँदै ‘एमाले को हो ?’ सम्म भनेका थिए ।

एमाले सांसद अधिकारीले यसतर्फ लक्षित गर्दै सोधे, ‘आज यहाँ प्रष्टसँग भन्नुस्, तपाईं आफूमाथि प्रश्न उठेपछि डिफेन्स गर्न किन विभिन्न मिडियामा गएको ?’

शर्माआवद्ध दल नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले ‘बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको हो कि होइन ?’ भनी प्रश्न गरे । अनधिकृत व्यक्ति प्रवेश गर्ने सम्भावनाको विषयमा समेत प्रष्ट पार्न आग्रह गरे ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भनी सदनमै प्रश्न उठेपछि ‘सीसीटिभी फुटेज कसले डिलिट गरेको, संरक्षण गर्न अर्थमन्त्रीको हैसियतमा किन भूमिका नखेलेको’ भनी प्रश्न गरे ।

माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले बजेट निर्माणको आफ्नै कार्यविधिहरु समेत हुने उल्लेख गर्दै ‘ती कार्यविधिहरुको पालना भएको छ कि छैन’ भनी प्रश्न गरे ।

कुनै कार्य गर्दा अपनाउनुपर्ने सावधानीका सन्दर्भमा नेतृत्व नै बढी जिम्मेवार हुने भन्दै उनले ‘त्यसअनुसार भूमिका निर्वाह नगरेको भनी तपाईं (शर्मा) माथि उठेको प्रश्न असत्य हो भनेर कसरी सावित गर्न सक्नुहुन्छ’ भनी प्रश्न गरे ।

एमाले सांसद भानुभक्त ढकाल र विमला विक र कांग्रेसका सीताराम महतो, एकीकृत समाजवादीका सांसद सरला यादव र जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले पनि प्रश्न उठेपछि त्यससँग सम्बन्धित विवरण, सीसीटिभी फुटेज संरक्षण गर्नुको साटो डिलिट हुनुको कारण के हो ? भनी सोधेका थिए ।

ढुक्कसँग जवाफ

विशेष समितिका एक सदस्यका अनुसार सांसदहरुले एकपछि अर्को प्रश्न गर्दा शर्माले लगातार टिपोट गरिरहे । प्रश्न सकिएपछि बैठकको अध्यक्षता गरेका कर्णले बोल्न समय दिए । उनले कुनै सांसदको नाम त लिएनन्, तर एकपछि अर्को प्रश्नको उत्तर दिए । ‘उहाँलाई स्वभावले नै हक्की भन्ने गर्छन् । आज समितिमा पनि उस्तै गरी प्रस्तुत हुनुभयो’, एक सदस्य भन्छन् ।

‘तपाईंहरु छानबिनका लागि जिम्मेवारीमा हुनुहुन्छ । ढुक्कसँग छानबिन गर्नुहोस्, ममाथि हरेक कोणबाट छानबिन गर्नुहोस् । पाएका तथ्य र प्रमाणहरुमा टेकेर प्रष्टसँग जनतालाई भनिदिनुहोस् । मैले यसमा थप केही भनिरहनुपर्छ जस्तो लाग्दैन’ शर्माले भने ।

बजेट निर्माणमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नतालाई अस्वीकार गरेका उनले समयमा सीसीटीभी फुटेज सार्वजनिक नगर्नुमा भने कमजोरी महसुस गरे । सदनमा कुरा उठेपछि सीसीटिभी फुटेज सार्वजनिक नगरको भन्ने प्रश्नमा शर्माले भने, ‘त्यसबेला गल्ती गरेको भए पो डराउने ! सीसीटिभी फुटेज देखाउने झण्झटतिर नलागौं भन्ने भयो । त्यसबेला मैले यो प्रश्नको गम्भीरतालाई कति बुझ्न सकेँ भन्ने हदसम्म यहाँहरुको प्रश्न जायज देख्छु ।’

तर सीसीटीभी फुटेज डिलिट गरेको उनले अस्वीकार गरे । सीसीटीभी फुटेजको अभिलेख कहिलेसम्म रहन्छ भन्ने मन्त्रीलाई थाहा नहुने भन्दै उनले भने, ‘यो प्राविधिक विषय हो । यहाँहरु पनि मन्त्री भइसक्नुभएको छ । तपाईंहरु मन्त्री हुँदा सीसीटिभी फुटेजको स्टोरेज के छ, कति दिनमा डिलिट हुन्छ वा हुँदैन ? भनेर ख्याल गर्नुहुन्थ्यो ? मैले यसो भनिरहनपर्ने विषय हो जस्तो लाग्दैन ।’

सदनमै प्रश्न उठेपछि सीसीटिभी फुटेजको संरक्षण गर्न भूमिका किन नखेलेको भन्ने प्रश्नमा उनले कति दिनमा डिलिट हुन्छ भन्ने आफ्नो जानकारीमा नरहेका कारण सिस्टम अनुसार भएको हुनसक्ने जवाफ फर्काए । उनले भने, ‘सीसीटीभी फुटेज कति दिनमा डिलिट गर्ने भन्ने प्राविधिक विषयको सिस्टम मैले बसालेको होइन । यस्ता प्राविधिक विषय मेरो जानकारीमा छैन ।’

संसदमा उठेको प्रश्नको विभिन्न मिडियामा जवाफ दिँदै हिँडेको प्रश्नमा भने शर्माले गोलमटोल जवाफ दिए । कस्तो बजेट ल्याएको हो ? यसले समाजमा कस्तो प्रभाव पार्छ ? भनेर सोध्न मिडियाले बोलाएको भन्दै उनले भने, ‘थप प्रश्नहरु गर्दा जवाफ दिएको हुँ । गलत नियत र मनसाय राखेको थिइनँ र छैन ।’

नजानेका विषयमा जानेका व्यक्तिहरुको राय लिने र अगाडि बढ्ने आफ्नो स्वभाव रहेको उल्लेख गर्दै शर्माले बजेट निर्माणमा आफू र मन्त्रालयको सम्बन्धित टिम बाहेक अरुको संलग्नता नरहेको तथा प्रचलित अभ्यास र कार्यविधिहरुको उल्लंघन नगरेको जिकिर गरे ।

सांसदहरुले करको दर हेरफेर गर्न लगाएर व्यापारीबाट पैसा लिनुभएको भन्ने पनि आएको छ, के हो ? भनी सोधेका थिए । शर्माले भने ‘बजेट बनाउँदा जनतालाई सम्झिएँ’ भनी उत्तर दिए ।
जवाफको अन्त्यतिर तत्कालीन अर्थमन्त्री शर्माले भनेका छन्, ‘तपाईंहरु छानबिनका लागि जिम्मेवारीमा हुनुहुन्छ । ढुक्कसँग छानबिन गर्नुहोस्, ममाथि हरेक कोणबाट छानबिन गर्नुहोस् । पाएका तथ्य र प्रमाणहरुमा टेकेर प्रष्टसँग जनतालाई भनिदिनुहोस् । मैले यसमा थप केही भनिरहनुपर्छ जस्तो लाग्दैन ।’

त्यसपछि समितिका सदस्यहरुले पुनः प्रश्न गरेनन् । ११ बजेर २२ मिनेटतिर सभाकक्षबाट बाहिरिएका शर्माले सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिए, ‘मैले उहाँहरुले सोधेका प्रश्नहरुको जवाफ दिएको छु । बाँकी कुरा उहाँहरुले भन्नुहोला ।’

शर्मा हिँडेपछि समिति सदस्यहरुबीच उनले दिएको जवाफको सामान्य समीक्षा भएको थियो । तत्कालीन अर्थमन्त्री शर्माले सुरुमा राखेको धारणा र सांसदहरुको प्रश्नको उत्तरमा कुनै तलमाथि नभएको भन्दै विशेष समितिका एक सांसदले भने, ‘प्रश्नहरुले छोएन भनौं भने चोटिला चोटिला थिए । छोयो भनौं भने जुन धैर्यका साथ सबै प्रश्नहरु सुने, उसैगरी ढुक्कले जवाफ दिए ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?