+
+

पुल वारिपारिका दुई प्रहरी चौकी : रासन भत्तामा साढे ११ हजार अन्तर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते ७:५२

६ साउन, बाजुरा । बाजुरा र हुम्लाको सिमानामा छ कवाडी बजार । नदीको वारि बाजुराको कवाडी बजार र पारितिर हुम्लाको कवाडी बजार छ । बिच्छँयाबाट बगेर आउने कवाडी नदीले विभाजन गरे पनि झोलुङे पुलले यी दुई बजारलाई मात्र होइन, दुई जिल्ला र दुई प्रदेशलाई जोडेको छ ।

प्रदेश नै फरक र जिल्ला नै फरक भएकाले वारिपारि दुवै बजारमा प्रहरी चौकी छन् । तर २ मिनेटको दुरीमा रहेका दुई प्रहरी चौकीमा खटिएका प्रहरीले पाउने सेवा सुविधामा भने ठूलो अन्तर छ । बाजुराको कवाडी प्रहरी चौकीमा कार्यरत प्रहरीले मासिक रासन भत्ता ८ हजार ५०० रुपैयाँ पाउँछन् भने पारि बजारमा रहेको मैला प्रहरी चौकीका प्रहरीले २० हजार ।

बिहान–बेलुकी चिया खाने ठाउँ एउटै, खाजा खाने ठाउँ र खाद्यान्न किन्ने पसल एउटै रहेको तर आफूहरुले पाउने सुविधा फरक रहेको कवाडी प्रहरी चौकीमा कार्यरत एक प्रहरीले बताए । ‘चौकी स्थापना भएको ठाउँ दुई मिनेटको फरकमा छ, बिचमा पुलले सिमाना छुट्याएको छ तर सुबिधा भने बाजुराको भन्दा हुम्ला जिल्लाका प्रहरी जवानको ११ हजार ५ सय बढी छ,’ उनले भने ।

बाजुराको बिच्छँया प्रहरी चौकी सदरमुकाम मार्तडीबाट तीन दिन पैदल दुरीमा छ भने हुम्लाको मैला प्रहरी चौकी सिमकोटबाट चार दिन पैदल दुरीमा छ । यी ठाउँ दुबै जिल्लाको सर्वाधिक विकटका रुपमा छन् । राज्यले जिल्लाको हिसाबले सुविधा दिने भएकाले कवाडी प्रहरी चौकी होस् वा सदरमुकाम मार्तडीमा कार्यरत प्रहरी होस् रासन भत्ता एउटै रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी सूर्य थापाले बताए ।

जिल्लामा जिल्लाभरी एउटै रासन भत्ता भए पनि हुम्लामा भने तत्लो भेगमा २० हजार छ । माथिल्लो भेगमा २६ हजार रहेको हुम्लाका डीएसपी कृष्ण ओझाले बताए । माथिल्लो भेगमा चीनको सीमामा नाम्खा प्रहरी चौकी छ ।

प्रहरीहरुले कवाडी बजारबाट चामल मोटो प्रतिकेजी ६० देखि ७० रुपैयाँ, नुन प्रतिकेजी ३०, दाल, तरकारी लगायत अन्य दैनिक उपभोग्य सामान महँगो मूल्यमा किनेर खाने गरेका छन् । हुम्लामा कार्यरत प्रहरीलाई त भत्ताले अलिअलि पुग्छ, तर बाजुरामा काम गर्नेलाई भने यो सुविधाले नपुग्ने प्रहरीहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी मोहन आचार्यले सरकारले गरेको निर्णय अनुसार रासन दिने गरेको बताए । जिल्लाभन्दा पनि भौगोलिक अवस्था अनुसार सेवा सुविधाको व्यवस्था गरेमा मात्र प्रहरीलाई न्याय हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?