+
+

लहानका उपमेयरविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १०:१८

६ साउन, काठमाडौं । लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ । ‘सुरुमा कार्यालय बाहिर कुराकानी भयो, त्यसपछि आफ्नो कार्यकक्षको गोप्य कोठामा लगेर जबरजस्ती करणीको उद्योग गरेको आरोप छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एकजना प्रहरी अधिकृतले अनलाइनखबरसँग भने ।

कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

यो गत जेठ महिनाको घटना हो । तर उजुरी भने प्रहरी कार्यालयमा दुई दिन अगाडि मात्र दर्ता भएको छ । सुरुमा प्रहरीले उजुरी लिन मानेको थिएन । तर अधिकारकर्मीहरुको पहलमा प्रहरीले उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

आरोपीलाई पक्राउ गर्नुअघि अदालतबाट पक्राउ पूर्जी लिनुपर्ने भएकाले प्रहरीले निवेदन दिएको थियो । ‘बिहीबार अपराह्न चार बजेसम्म पनि पक्राउका लागि अनुमति आएको थिएन, आज फलो गर्छौं,’ सिरहाका एकजना प्रहरी अधिकृतले भने ।

महतो जनता समाजवादी पार्टीका महतो गत स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।

प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन छन् । उनको मोबाइल फोन पनि स्विच्ड अफ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?