+
+

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

रासस रासस
२०७९ साउन ६ गते १३:०१

६ साउन, काभ्रेपलाञ्चोक । यहाँको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो ।

कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत सबै स्थानीय तहको खानेपानी परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । परीक्षण गरिएका खानेपानीमध्ये ५५ प्रतिशत खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइँले बताए ।

उनका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो । ‘जिल्लाका ४० स्थानमा गरिएको परीक्षणमा ५५ प्रतिशत खानेपानी दूषित पाइएको छ, खानेपानीमा कोलिफर्म शून्य हुनुपर्ने थियो’, स्वास्थ्य प्रमुख सेढाइँले भने ।

अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीका स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ । कतिपय स्थानमा वितरित जारको खानेपानीमा खराबी देखिएको सेढाइँले बताए । ‘जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौं’ उनले भने ।

खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । ‘हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेर मात्रै पानी पिउनुपर्छ’, सेढाइँले भने ।

दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम भइरहेको जनाइएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको प्रमुख सेढाइँले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?