+
+

६० वर्षअघि अमेरिकाले किन अन्तरिक्षमा पड्काएको थियो परमाणु बम ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १३:०५

काठमाडौं । आजभन्दा करीब ६० वर्षअघि अमेरिकाले यस्तो ठाउँमा परमाणु बम विस्फोट गराएको थियो, जुन त्यस समयमा अकल्पनीय थियो । त्यस्तो ठाउँमा पनि परमाणु बम विस्फोट गराइन्छ कसैले सोचेको पनि थिएन ।

पृथ्वीभन्दा ४ सय किलोमिटर माथि अन्तरीक्षमा उक्त परमाणु बम विस्फोट भएको थियो । त्यस समय उक्त दृश्य हेर्नका लागि मानिसहरु हवाई टापुस्थत होनोलुलुको तटमा जम्मा भएका थिए । अन्तरीक्षमा परमाणु बम विस्फोटका असरहरु हेर्न उनीहरु लालायित थिए ।

उक्त विस्फोटका क्रममा आकाशमा उत्तरी प्रकाश (नर्दन लाइट्स) जस्तै प्रकाश तैरिएको देखिएको थियो ।

यो घटना सन् १९६२ जुलाई ९ को हो । अन्तरीक्षमा हुन गइरहेको अविश्वसनीय र अलौकिक घटना हेर्नका लागि हवाई टापुको होनोलुलुमा मानिसहरु तटमा जम्मा भएर व्यग्रताका साथ पर्खिरहेका थिए । त्यसक्रममा मानिसहरुले अन्तरीक्षमा भएको विस्फोट त देखे नै उत्तरी ध्रुवमा देखिने अरोरा बोरिएलिस अर्थात् नर्दन लाइट्सको पनि आनन्द लिन पाए । तर उक्त विस्फोटका कारण विभिन्न ठाउँहरुका विद्युतीय उपकरणमा क्षति पुगेको थियो ।

अमेरिकाले अन्तरीक्षमा गराएको उक्त परमाणु बम विस्फोटलाई ‘स्टारफिस प्राइम’ नाम दिएको थियो । यो अमेरिकाको अपरेशन फिशबाउलको हिस्सा थियो । उक्त अपरेशन अन्तरगत अमेरिकाले पाँचवटा परमाणु बम विस्फोट गराएको थियो । जसमा स्टारफिस सबैभन्दा ठूलो र भयानक विस्फोट थियो । यस विस्फोटका क्रममा १.४ मेगाटन ऊर्जा निस्किएको थियो । अर्थात् यो १४ लाख टन टिएनटी विस्फोट बराबर थियो ।

यो विस्फोट जन्स्टन टापुको ठीक माथि अन्तरीक्षमा ४ सय किलोमिटरको उचाइमा गरिएको थियो । यसका कारणले प्रशान्त महासागरको ठूलो क्षेत्रको आकासमा उत्तरी प्रकाशजस्तो दृश्य देखिएको थियो । साथै ठूलो क्षेत्रमा विद्युतीय उपकरणमा पनि क्षति पुगेको थियो ।

एक सैन्य दस्तावेजका अनुसार क्वाइयालिनको माथि आकारमा करीब २२५४ किलोमिटर पश्चिमतर्फ एक घना वातावरण छाएको थियो । जब विस्फोट भयो तब अन्तरीक्षमा तीव्र रुपमा सेतो प्रकाश निस्कियो । त्यसपछि बादलको बनावट पूर्णरुपमा परिवर्तन भयो । त्यसको ठ्याक्कै पछि सेतो प्रकाश हरियो रङको ठूलो चम्किलो बलजस्तै बन्यो ।

अमेरिकाले अन्तरीक्षमा उक्त परमाणु बम विस्फोटन गर्नुको कारण सोभियत संघलाई जवाफ दिनु थियो । सोभियत संघले त्यस अगाडि गरेको त्यस्तै खालको परमाणु बम परीक्षणको प्रतिउत्तरमा अमेरिकाले उक्त विस्फोटन गराएको थियो । साथै उक्त विस्फोटनको उद्देश्य पृथ्वीको चुम्बकीय शक्तिको जाँच गर्नु पनि थियो । साथै अन्तरीक्षमा परमाणु विस्फोटनलाई सोभियत संघका विरुद्धमा हतियारको रुपमा प्रयोग गर्न सकिने सम्भावनाका विषयमा पनि अमेरिकाले थाहा पाउन चाहेको थियो ।

उक्त विस्फोटनका कारण अन्तरीक्षमा रहेका विभिन्न स्याटेलाइटहरु बन्द भएका थिए । उक्त विस्फोटको एक दिन पश्चात् प्रक्षेपण गरिएका स्याटेलाइटहरुले पनि उच्च दरको विकीरणको सामना गरेका थिए ।

विस्फोटनस्थल भन्दा करीब १४ सय किलोमिटर टाढा रहेको हवाई टापुमा विभिन्न घर, भवन तथा कार्यालयका विद्युतीय उपकरणहरुमा क्षति पुगेको थियो । सडकको बत्ती बन्द भएको थियो र विभिन्न ठाउँमा बिजुली शट भएको थियो । कतिपय ठाउँमा त चोरीको अलार्म समेत आफैं बजेको थियो । त्यसका साथै सञ्चार प्रणालीमा पनि भारी असर परेको थियो । उक्त परीक्षणबाट अमेरिकाले अन्य शत्रु मुलुकको विद्युतीय प्रणालीलाई कसरी ध्वस्त बनाउन सकिन्छ भन्ने कुरा सिकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?