+
+

श्रीलंकाको नेतृत्वमा पात्र मात्रै फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १७:४५
रनिल विक्रमासिंघे (बीचमा) ।

६ साउन, काठमाडौं । आर्थिक एवं राजनीतिक संकट झेलिरहेको श्रीलंकाले नयाँ नेतृत्व पाएको छ । रनिल विक्रमासिंघे राष्ट्रपति भएको दुई दिनपछि शुक्रबार दिनेश गुणवर्द्धने प्रधानमन्त्री नियुक्त भए । नेतृत्वमा आएको यो परिर्वतनले श्रीलंकामा भइरहेको आन्दोलन भने थामिनेमा आशंका छ ।

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा यही महिना विशाल आन्दोलन भएको थियो । राजनीतिक परिर्वतनको चाह बोकेर सडकमा उत्रिएका आन्दोलनकारीको निशानामा गोटाबाया राजापाक्षे थिए । आन्दोलनकारीले राष्ट्रपतिको सरकारी निवास नै कब्जामा लिएपछि देश छाडेर भागेका गोटाबायाले १३ जुलाईमा राजीनामा दिए ।

त्यसयता कार्यबाहक राष्ट्रपतिको भूमिका रहेका प्रधानमन्त्री विक्रमासिंघे बिहीबार राष्ट्रपति चुनिए । उनले शुक्रबार दिनेश गुणवर्द्धनेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

वामपन्थी दल महाजना पेरामुना (पिपल्स युनाइटेड फ्रन्ट)का नेता गुणवर्द्धने, श्रीलंकाली वामपन्थी आन्दोलनका नेता डन फिलिप रुपासिंघे गुणवर्द्धनेका छोरा हुन् । युरोप र अमेरिकामा रहँदा वामपन्थी आन्दोलनमा जोडिएका दिनेश गुणवर्द्धने स्वदेश फर्किएपछि पार्टीमा आवद्ध भए । १९७४ मा महासचिव बनेका उनी लगातार ८ वटा निर्वाचन जितेर पटकपटक सरकारमा गएका थिए ।

रोकिएन प्रदर्शन

नयाँ राष्ट्रपति र प्रधानमन्त्री नियुक्त भएलगत्तै सुरक्षाकर्मीले राजधानी कोलम्बोमा शिविर बनाएर बसेका प्रदर्शनकारीलाई हटाउन थालेको छ । तर आन्दोलनकारीले रनिल गो होमको नारा लगाइ रहेका छन् ।

जसले गर्दा नयाँ राष्ट्रपति र प्रधानमन्त्री चुनिए पनि श्रीलंकामा आन्दोलन रोकिने संकेत देखिएको छैन । गत मेमा प्रधानमन्त्री चुनिएका विक्रमासिंघे तत्कालीन राष्ट्रपति राजापाक्षेका सहयोगी थिए, जसलाई श्रीलंकाको संकटका लागि जिम्मेवार मानिएको छ ।

तर उनी विक्रमासिंघे १३४ सांसदको समर्थनमा २०२४ को अन्त्यसम्मका लागि राष्ट्रपति चुनिएका हुन् ।

प्रदर्शनकारीहरु संविधान संशोधन गरेर राष्ट्रपतिको शक्ति घटाउनुका साथै आम नागरिकलाई राहत होस् भन्न चाहन्छन् । साथै एक वर्षभित्र चुनाव गर्नुपर्ने माग छ । ग्याले फेस कोलम्बोका प्राध्यापक एमजी थरका भन्छन्, ‘अब जनतालाई राजापाक्षे परिवार र उनलेले स्थापित गरेको कुनै नेताप्रति विश्वास छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?