+
+

तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व सङ्कलन

रासस रासस
२०७९ साउन ७ गते १३:०८

७ साउन, सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो ।

कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।

उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ ।

त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ । सङ्कलितमध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्व दुई करोड उठेको थियो । आगमी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उनले जानकारी दिए ।

उनका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ । मेशिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको उनले बताए ।

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले बताए  ।

सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमले जानकारी दिए । सरकारले जोडदार पहल गरेर नाका सहज सञ्चालन हुने वातावरण बनाउनुपर्ने पत्रकार दिनेश दुलाल बताउँछन् । भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोड रुपैयाँसम्म राजस्व असुली हुँदै आएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?