+
+

युवा सम्मेलनमा सहभागी हुन बस्नेत नेतृत्वको टोली अजरबैजान प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १९:४५

७ साउन, काठमाडौं। असंलग्न आन्दोलनको युवा शिखर सम्मेलनमा भाग लिनका लागि शनिबार नेपाली प्रतिनिधि मण्डल अजरबैजानको राजधानी वाकु प्रस्थान गरेको छ।

नेपालका तर्फबाट राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको नेतृत्वमा दुई सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो। टोलीमा अर्का सदस्य युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरे रहेका छन् ।

जुलाई २५ देखि २९ तारिखसम्म संचालन हुने शिखर सम्मेलनमा असंलग्न आन्दोलनमा ऐक्यबद्धता जनाउने विभिन्न मुलुकका युवा प्रतिनिधि सहभागी हुनेछन् । हालसम्म १२० देशले असंलग्न आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

युवा शिखर सम्मेलनबाट असंलग्न आन्दोलनमा ऐक्यवद्धता जनाउने मुलुकका युवाहरुको अन्तर्राष्ट्रिय नेटवर्क समेत गठन गर्ने कार्यसूची रहेको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

बस्नेतले सो शिखर सम्मेलनमा नेपाली पक्षको तर्फबाट असंलग्न आन्दोलनमा नेपालको स्पष्ट र दृढ प्रतिवद्धतालाई पुन: दोहोर्याउने जनाएका छन्। असंलग्न आन्दोलनले मात्र विश्व शान्ति, सहअस्तित्व र भातृत्व अभिवृद्धि हुने विषयलाई युवा शिखर सम्मेलनमा जोड दिने बस्नेतले वताए।

अजरबैजान जानु अघि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज सहित प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका बस्नेतले भने, ‘प्रधानमन्त्री ज्यूले नेपाल असंलग्न आन्दोलनमा सदैव प्रतिवद्ध रहेको सन्देश सुनाउनु भन्नुभएको छ।’ बस्नेत नेतृत्वको टोली आगामी शनिबार स्वदेश फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?