+
+

ललितपुरको सडक यसरी बन्दैछ साइकलमैत्री

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ साउन ८ गते २०:५२

८ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले डेडिकेटेड साइल लेनमा ‘ब्यारिकेटेड पोल’ राख्न सुरु गरेको छ । महानगरपालिको पहिलो चरणमा लगनखेल बसपार्कदेखि बटुक भैरव मन्दिरसम्म परीक्षणका रुपमा ‘ब्यारिकेटेड पोल’ राख्न लागेको हो । त्यसका लागि धमाधम सुधारको काम चलिरहेको छ ।

रातमा समेत चम्किने रंगका पोलहरु राखेर साइकल लेन बनाइएको हो । नेपालमै पहिलो पटक साइकल लेन बनाएर शहरलाई साइकलमैत्री बनाउन प्रयास सुरु गरेको ललितपुरले १.५ मिटरको डेडिकेटेड साइकल लेनलाई थप सुविधायुक्त र सुरक्षित बनाउन थालेको हो ।

साइकलमैत्री शहर बनाउने उद्देश्यले सडकको छेउमा साइकल लेन बनाए पनि अहिले ती साइकल लेन अतिक्रमणमा परेका छन् । अहिले साइकल लेनसबैको हेपाइ र पेलाइमा परेको छ । ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ । कतै निर्माण सामग्री थुपारिएको छ भने कतै सवारी पार्किङ गरेर राखिएको छ ।

त्यस्तो अतिक्रमणलाई रोक्न र साइकल यात्रीलाई सुरक्षित महसुस गराउन यस्तो पूर्वाधार राख्न लागिएको महानगरपालिकाका पूर्वाधार विभागका प्रमुख रुद्रप्रसाद गौतमले जानकारी दिए । ‘साइकल लेनमा अरु सेवारीलाई प्रवेश नदिन र साइकल लेनलाई सुरक्षित राख्न यस्तो प्रयोग गरेका हौं,’ उनी भन्छन्,’यस्तो लेनको प्रयोगले कस्तो नतिजा दिन्छ भन्ने हेर्न बाँकी छ ।’

साइकल लेनको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साहित बनाएको छ । पहिले निम्न वर्गले चढ्ने साधन मानिए पनि स्वास्थ्य चेतनाका कारण हिजोआज धनी वर्गले पनि साइकल चढ्ने गरेका छन् । तर, विभिन्न प्रकारको अवरोधले साइकल चढ्नेहरु निरुत्साहित हुने अवस्था आएपछि डेडिकेटेड साइकल लेनमा महानगरले यस्तो प्रयोग गरेको हो ।

महानगरका अनुसार साँघुरो सडकमा बनाइएको ‘सेयर्ड’ साइकल लेनमा यस्तो पोल राख्न सकिंदैन । तर, त्यस्ता सेयर्ड साइकल लेनलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने र साइकल यात्रीलाई प्रयोगमा प्रोत्साहित गर्ने वातावरण बनाउन अतिक्रमण हटाउने काम चलिरहेको छ ।

यस्तो प्रयोगले साइकल लेनमा यात्रु गर्नेहरुले कुनै सुरक्षा चुनौती महसुस नगरी ढुक्कसँग चलाउन सक्ने गौतम बताउँछन्  ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भने अध्ययन नगरी साइकल लेन बनाउने बताउँदै आएका छन् ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?