+
+

सीके राउत बने ओशो सन्यासी !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १७:५८

काठमाडौं । ‘आनन्द मैत्रयको रुपमा नयाँ जन्म भएकोमा धेरै बधाई । साथै ओशो परिवारमा भव्य स्वागत छ सीके राउतज्यू ।’

अभिनेत्रीबाट सन्यासी बनेकी शोभिता सिंखडाले आफ्नो फेसबुकमा यस्तो लेखेकी छन् । यससँगै उनले सार्वजनिक गरेकी छन्, डा. सीके राउतको तस्वीर । फोटो हेरेरै लख काट्न सकिन्छ, राउत ओशो सन्यासी भए ।

कुनैबेला ‘स्वतन्त्र मधेश’को माग राखेर चर्चामा आएका राउत अहिले जनमत पार्टी खोलेर बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा होमिएका छन् । उनको पार्टीले गत स्थानीय तहको निर्वाचनमा सप्तरीका केही पालिकामा जीत पनि हासिल गरेको छ ।

आफूलाई ‘गान्धी र बुद्धको बाटोमा रहेको’ बताउने राउतले यसअघि ‘स्वतन्त्र मधेश’को नाममा हिंसात्मक आन्दोलनको नेतृत्व गरेकै कारण पटकपटक पक्राउ पनि परे ।

उनै राउत यतिबेला भने ओशो तपोवनमा प्रकट भए, सन्यासीको भेषमा । कहिले सेतो त कतै गेरुवस्त्र धारण गरेर उनले आफ्नो सन्यासी रुपरंग सार्वजनिक गरिसकेका छन् । फेसबुकमा उनको डा. सीके राउत सचिवालय भन्ने एउटा पेज छ, जहाँ उनी राजनीतिक वस्त्र उतारेर सन्यासी बनेको प्रष्ट देखिन्छ ।

उक्त पेजमा उनले गेरु वस्त्रमा आफ्नो फोटो पोस्ट गरेका छन् । पानी परिरहेको मौसम । सानो गोरेटो । उनी छाता ओडेर हिंडिरहेका छन् । त्यही फोटोको क्याप्सन यस्तो लेखिएको छ, ‘मलाई सडकको जरुरत छैन, किनभने मैले तपाईंको पदचाप भेटिसकें ।’

सन्यासी बन्नका लागि ओशो तपोवन पुगेका राउतले त्यहाँ ९ दिनको ‘मिस्टिक रोज मेडिटेसन’ कोर्ष गरेका थिए । त्यस अवधिमा उनले मोबाइल फोन, सामाजिक सञ्जाल केही प्रयोग गरेनन् । विशेष कोर्ष सकाएपछि माला लगाएर उनले दीक्षा लिए ।

बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यास लिएका हुन् । राउतले काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा १० दिन ध्यान पूरा गरेर सन्यास धारण गरेका हुन् । सीके राउतले नयाँ नाम समेत पाएका छन्, ‘आनन्द मैत्रय’ ।

राउत यसअघि पनि ध्यान साधना र अध्यात्ममा रुचि राख्ने गरेको शोभिता बताउँछिन् । ‘हरिद्वारमा ध्यान गरेर बसेका रहेछन् । कुनैबेला जोगी नै भएर हिंडेको पनि भनिन्थ्यो,’ उनी भन्छिन्, ‘अध्यात्मको खोजी गर्दै धेरै ठाउँ भौतारिएका रहेछन् ।’ ओशोको सयौं पुस्तक पढेका उनी तपोवन पनि धाइरहन्थे । यसपालि भने उनले ओशो तपोवनबाट सन्यासी बनेर निस्किए ।

ओशो सन्यासी भए पनि उनले आफ्नो काम–व्यवहार वा राजनीतिलाई निरन्तरता दिन सक्ने शोभिता बताउँछिन् । ‘सन्यासी हुँदैमा आफ्नो काम त्याग्नुपर्छ भन्ने हुँदैन,’ शोभिता भन्छिन्, ‘बरु सोही कामलाई अरु राम्ररी गर्ने, माझ्ने गर्न सक्छन् । स्वच्छ र तटस्थ भएर काम गर्न सक्छन् ।’

मोनबुशो छात्रवृत्तिमा जापान गएका राउत सन् २००४ मा फर्किएपछि गेरुवस्त्र लिएर घरबाट निस्किएका थिए । ‘भगवान खोज्दै’ उनी भारतको कोलकाता, चेन्नई, कन्याकुमारी हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयसम्म पुगेका थिए ।

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट उनले विद्यावारिधि गरे । उनी वैज्ञानिक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?