+
+

उद्योगी व्यवसायीका लागि मौद्रिक नीति सहज छैन : गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १७:२२
शेखर गोल्छा/फाइल तस्वीर

१३ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि सहज नभएको बताएका छन् । शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

‘नयाँ मौद्रिक नीति कसिलो आएको छ । यो मौद्रिक नीति उद्योगी व्यवसायीहरुका लागि सहज छैन । यसले अहिलेको भन्दा अझ बढी बैंकिङ ब्याजदरलाई वृद्धि गर्छ । बजारमा विद्यमान रहेको तरलता अभावलाई बढाउँछ । तर हामीलाई के विश्वास छ भने यो नीति छोटो समयका लागि मात्रै हुन्छ । दीर्घकालीन रुपमा यो मौद्रिक नीतिले सम्बोधन गर्ने निजी क्षेत्रले विस्वास पनि लिएको छ ।’

मौद्रिक नीतिले व्यवसायीहरुलाई सहज नभए पनि औधोगिक उत्पादनका लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको अध्यक्ष गोल्छाले बताए । उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म नरहने दाबी गरे ।

आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा, भुक्तानी सन्तुलन वा शोधनान्तर स्थितिमा सुधार आउने बताए । उनले पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमिक विदेश गइरहेकाले रेमिट्यान्स बढ्नसक्ने उनको भनाइ थियो ।

अध्यक्ष गोल्छाले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा वस्तुहरुको मूल्य घट्दै आएकाले नेपालको व्यापार घाटा कम हुने विश्वास रहेको उल्लेख गरे । उनले पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा नेपालमा विदेशी लगानी ७ प्रतिशतले बढेको बताए । गोल्छाले कोरोना महामारीको बेला शून्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको भन्दै भिजिट नेपाल २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुने बताए ।

पछिल्लो समय नेपालको निर्यात उत्साहजन रुपमा बढेको उनले बताए । विद्युत्, सिमेन्ट र फलाम जस्ता सामान निर्यात सुरु हुनु अर्थतन्त्र सुधारको सकारात्मक संकेत रहेको अध्यक्ष गोल्छाले बताए । पछिल्लो समय विश्व बैंक, एशियाली विकास बैंकहरुले नेपालको विकास निर्माणमा लगानी प्रतिवद्धता बढ्दै गएकाले अहिले देखिएको अर्थतन्त्रको समस्या क्रमशः सुधार हुने देखिएको उनको भनाइ छ ।

अर्थतन्त्रमा देखिने समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि मुलुकमा उत्पादन बढाएर निर्यात बढाउने र उत्पादनमा लाग्ने कस्ट अफ डुइङ बिजनेस घटाउनु पर्ने उनको भनाइ थियो ।

अध्यक्ष गोल्छाले राष्ट्रिय उत्पादन बढाउन र उत्पादनमा लाग्ने लागत कम गर्न सकेनौं भने अर्थतन्त्रमा अहिले देखिएका समस्या बारम्बारदेखि रहने बताए । सरकारले बनाएका हेरक सुख्खा बन्दरगाहहरुमा रेल्वे सेवा जडान नभएसम्म बन्दरगाहको कुनै अर्थ नभएको उनले बताए । अध्यक्ष गोल्छाले देशैभर बन्ने बन्दरगाहमा रेल्वे सेवा र लजिष्ट्रिक लागत घटाउन नसकेसम्म औद्योगिक उत्पादन पनि बढ्न नसक्ने दाबी गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रतिनिधि सभाको बजेट अधिवेशनबाट नै आर्थिक ऐनहरु संसदबाट पास गर्नुपर्ने बताए । धेरै आर्थिक ऐनहरु संसदमा विचाराधिन अवस्थामा रहेको भन्दै यही बजेट अधिवेशनबाट पास गर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?