+
+

यी हुन् तन्नेरीमाझ प्रिय ब्रान्डेड जिन्स पाइन्ट, कति पर्छ मूल्य ?

अंगद सिंह अंगद सिंह
२०७९ साउन १५ गते १६:१९

काठमाडौं । ‘सबैको लागि र सधैंका लागि’ भनेजस्तै छ, जिन्स । टिकाउ र सदावहार यो पहिरनले बितेको डेढ शताब्दीदेखि फेसन बजारमा कब्जा जमाइरहेको छ ।

यसको खास विशेषता त के भने पुरानो भए पनि, खुम्चिए पनि, खुइलिए पनि, च्यातिए पनि खासै फरक नपर्ने । किनभने यी सबै रुपरंगमा जिन्सले आफ्नो बेग्लै फेसन शैली स्थापित गरिसकेको छ ।

जिन्स पाइन्टको सुरुवात सन् १८७३ माज्याकब डेभिस र लेभी स्ट्रासले गरेका थिए । जिन्स पाइन्टको नाम इटालीको जेनोवा सहरको नामबाट राखिएको हो । जेनोवा १८ औं शताब्दीमा व्यापारिक केन्द्र थियो ।

इटालीको जेनोवामा त्यतिबेला गाढा निलो सुती कपडा पाइन्थ्यो जुन माछा मार्ने तथा  समुद्र र खानीमा काम गर्ने कामदारहरुले प्रयोग गर्थे । यो कपडा बलियो र टिकाउ हुने भएकाले यसलाई गाह्रो काम गर्नेहरुले लगाउने गर्थे । तर अहिले यो सम्भ्रान्तदेखि निम्नवर्गीयसम्मको प्रिय पहिरन भएको छ ।

मान्छेको आय र आवश्यकता अनुसार बजारमा सबै किसिमका जिन्स उपलब्ध छन् । ६–७ सय रुपैयाँदेखि हजारौं रुपैयाँ मूल्यका जिन्स बजारमा छन् ।

जिन्सका विश्व प्रसिद्ध केही ब्रान्ड छन्, जसले नेपाली तन्नेरीलाई पनि लोभ्याएको छ ।

लि डेनिम

लि डेनिम जिन्सको अमेरिकन ब्रान्ड हो । यो दरबारमार्गका साथै देशभरका भाटभटेनी सुपरस्टोरमा उपलब्ध छन् । लिको फेब्रिक, फिटिङ र फिनिसिङ राम्रो भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको बताउँछन्, दरबारमार्गमा रहेको लिजिन्सका आधिकारिक बिक्रेता लोकबहादुर न्यौपाने ।

न्यौपानेका अनुसार लि जिन्सको मूल्य ४ हजार ५ सय रुपैयाँबाट सुरु हुन्छ । यसको अधिकतम मूल्य १० हजार रहेको छ । अमेरिकन ब्रान्ड भए पनि लि ब्रान्डका जिन्स भारतबाट आयात गरिने उनले बताए ।

लि जिन्स पुरुषका लागि २८ देखि ४० इन्च र महिलाका लागि २६ देखि ३७ इन्च साइजसम्म उपलब्ध हुन्छ ।

लिभाइज

लिभाइज पनि अमेरिकन ब्रान्ड हो । यसलाई लेबी पनि भनिन्छ । लिभाइज जिन्सको विश्व चर्चित ब्रान्ड हो । यसको प्रयोग सन् १८५३ मालेभी स्ट्रासले गरेका थिए ।

दरबारमार्गका लागि लिभाइज ब्रान्डका अधिकृत बिक्रेता निकेश महर्जन लिभाइज विश्वको प्रसिद्ध ब्रान्ड भएकाले युवा पुस्ताको रोजाइको ब्रान्ड बनेको बताउँछन् ।

लिभाइजका ब्रान्डेड पाइन्ट दरबारमार्गका साथै शेर्पामल, जावलाखेल र सिटी सेन्टरमा उपलब्ध रहेको उनले जानकारी दिए । लेबी पाइन्टको अधिकांश साइज ३० देखि ३६ इन्च हुन्छ । लेबी ब्रान्डका जिन्स पाइन्टको मूल्य ४ हजारदेखि सुरु भएर १२ हजार रुपैयाँसम्म पर्छ ।

यूएस पोलो

यूएस पोलो जिन्स अमेरिकाको ब्रान्ड हो । नेपालका लागि यसको अधिकृत बिक्रेता दरबारमार्गमा रहेको यूएस पोलोका साथै ललितपुरको लबिम मलमा रहेको छ ।

यूएस पोलो पाइन्ट लगाउन सहज र टिकाउ हुने भएकाले यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको यूइस पोलो दरबारमार्गकी स्टाफ अर्चना बज्राचार्य बताउँछिन् ।

बज्राचार्यका अनुसार नेपालमा यूएस पोलो ब्रान्डका पाइन्ट २८ देखि ३६ इन्च साइजका बढी आयात हुन्छन् । यो ब्रान्डको न्यूनतम मूल्य ४ हजार ४ सयदेखि सुरु भएर ७ हजार रुपैयाँ पर्छ ।

पेपे जिन्स

पेपे जिन्स बेलायतको प्रसिद्ध जिन्स ब्रान्ड हो, जुन १९७३ मा बनेको हो । पेपे ब्रान्डको प्रधान कार्यालय स्पेनमा रहेको छ । बेलायतको ब्रान्ड भए पनि पेपे नेपालका लागि भारतबाट आयात गरिने पेपे जिन्स बिक्रेताका स्टाफ समीप श्रेष्ठले बताए ।

पेपेका जिन्स पाइन्ट पुरुषका लागि २८ देखि ४० नम्बरसम्मका आउँछन् भने महिलाका लागि २६ देखि ४० सम्म आउने गरेका छन् ।

पेपे ब्रान्डका जिन्स पाइन्टको न्यूनतम मूल्य ५ हजार १९८ रुपैयाँबाट सुरु भएर ११ हजार १९८ रुपैयाँसम्म पर्छ । यो पाइन्ट विश्वस्तरीय ब्रान्ड र गुणस्तरीय भएकाले मूल्य महंगो भएको श्रेष्ठ बताउँछन् ।

पेपे जिन्स दमौली, पोखरा, चितवन, धरान दरबारमार्गका साथै ललितपुरको लबिम मलमा रहेको छ ।

जिन्स वेस्ट

जिन्स वेस्ट अस्ट्रेलियन ब्रान्डेड जिन्स हो । यसको मूल्य नेपाली बजारमा ४ हजारदेखि ६ हजारसम्म पर्छ भने २९ देखि ४० इन्च साइजमा उपलब्ध हुन्छ ।

लबिम मलसिथत जिन्स वेस्टकी कर्मचारी कल्पना अधिकारी यो ब्रान्डका पाइन्ट लगाएर हिंड्दा छाला पोल्नबाट बचाउनुका साथै लगाउँदा  सहज महसुस हुन्छ । नेपालका लागि जिन्स वेस्टका पाइन्ट बौद्ध, सिटी सेन्टर र सिभिल मलमा पाइन्छ ।

सिमवुड जिन्स

सिमवुड जिन्स पनि अर्को प्रसिद्ध ब्रान्ड हो । सिमवुड जिन्सको नेपालका लागि ललितपुरको लबिम मलमा एक मात्रै आधिकारिक बिक्रेता छ ।

लबिम मलका लागि सिमवुडका कर्मचारी सुमन महर्जनका अनुसार यो ब्रान्डका जिन्सको साइज २९ देखि ३६ इन्चसम्म नेपालमा आयात हुन्छ । यो उच्चगुणस्तरको विश्व चर्चित ब्रान्ड भएकाले युवामाझ लोकप्रिय बन्दै गइरहेको उनको भनाइ छ ।

सिमवुडका जिन्स पाइन्टको मूल्य ११ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ । सिमवुडका जिन्स पाइन्ट युवाले रुचाउँदै गएकाले अहिले यसका ग्राहक बढ्दै गएको महर्जन बताउँछन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?