+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘९ मंसिरसम्म प्रतिनिधिसभाको कार्यकाल रहन्छ’

आवधिक निर्वाचन निश्चित समयमा हुनुपर्छ । एक दिन पनि प्रतिनिधिसभा रिक्त नहुने परिकल्पना अनुसार, आगामी मंसिर ९ गतेभित्र निर्वाचन भएर नयाँ जनप्रतिनिधि चयन हुनुपर्छ । बेलायतमा फिक्स्ड टर्म पार्लियामेन्ट छ । हामीकहाँ पनि शर्तात्मक रूपमा त्यही अवधारणा कार्यान्वयन भएको हो ।

डा. चन्द्रकान्त ज्ञवाली डा. चन्द्रकान्त ज्ञवाली
२०७९ साउन १७ गते ८:०७

हामीकहाँ संविधानसभाले संविधान बनाउने क्रममा ‘फिक्स्ड टर्म’ संसद (प्रतिनिधिसभा) को परिकल्पना गरेको देखिन्छ । बेलायतमा सन् २०११ मा फिक्स्ड टर्म पार्लियामेन्ट एक्ट जारी भयो । त्यसको सिको र विगतमा पनि हाम्रो तीतो अनुभवका कारण प्रतिनिधिसभाको निश्चित पदावधि तोक्ने व्यवस्था भएको देखिन्छ ।

फिक्स्ड टर्म भन्नाले निश्चित अवधि भन्ने अर्थ हो । बेलायतमा संसद विघटन गर्न नपाउने व्यवस्था छ । हाम्रोमा पनि राजनीतिक स्वार्थका कारण पटक-पटक निर्वाचन हुने, निर्वाचनका क्रममा ठूलो धनराशि खर्च हुने, जनता महँगीको मारमा पर्ने अवस्था भइरहृयो । हिजो संसदीय कालखण्डमा विकृतिको रूपमा नै प्रतिनिधिसभा विघटनको अभ्यास भयो । वास्तवमा त्यो तीतो र नमीठो अनुभव थियो ।

एउटा निर्वाचनबाट आएका जनप्रतिनिधिले ७/८ वटा सरकारसम्म बनाए । त्यसले गर्दा सरकार अस्थिर रहने अनि पटक-पटक विघटनका कारण संसद पनि मारमा पर्‍यो भन्ने अनुभवका आधारमा सशक्त र स्थिर संसद हुनुपर्छ भनेर यस्तो व्यवस्था गरिएको देखिन्छ ।

कम्तीमा पनि बलियो सरकार र स्थायी प्रकृतिको संसद हुनुपर्छ भन्ने सोच अनुसार संसदको निश्चित कार्यकाल तोकेको देखिन्छ । संविधानको धारा ८५ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ’ भन्ने व्यवस्था छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका दुई मुद्दामा जथाभावी विघटन नै हुन नसक्ने गरी व्याख्या गरेको छ ।

संविधानको धारा ७६ मा भएका सरकार बनाउने विभिन्न विकल्पको अधिकतम प्रयास गर भनेर सर्वोच्च अदालतले व्याख्या गरिसकेको छ । त्यो व्याख्या अनुसार, संसदमा विश्वासको मत लिएको सरकारले प्रतिनिधिसभा विघटन गर्न पाउने सुविधा छैन । अनि ‘अर्लि इलेक्सन’ (समयावधि सकिनुभन्दा अघि गरिने निर्वाचन)को सम्भावना पनि रहेन ।

संविधानमा नै प्रतिनिधिसभाको आयु पाँच वर्षको हुनेछ भनेर किटान गरिएको छ । यो बाध्यात्मक व्यवस्था हो । अब पाँच वर्ष पुग्न सक्छ वा त्योभन्दा अगाडि पनि निर्वाचन हुनसक्छ भन्ने प्रश्न नै रहेन । संविधानमा लेखिएकाले प्रतिनिधिसभा पाँच वर्षको अवधिसम्म चल्नुपर्ने बाध्यात्मक व्यवस्था रहृयो । त्यसैले अहिले सरकारले चाहँदैमा यो प्रतिनिधिसभा विघटन पनि हुन नसक्ने भयो । त्यसैले यसको कार्यकाल पाँच वर्षको नै हुन्छ ।

यो प्रतिनिधिसभाको कार्यकाल कहिलेदेखि गणना गर्ने भन्ने प्रश्न पनि आउन सक्छ । १० मंसिर २०७४ सालमा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन भएको थियो । त्यही मितिबाट कार्यकाल सुरु भयो । निर्वाचनको मितिबाट नै पदावधि सुरु भएको मान्ने प्रचलन छ, किनभने जनताले बालिग मताधिकार प्रयोग गरेर त्यही दिन मत व्यक्त गरेका थिए । त्यसरी हेर्दा ९ मंसिर २०७९ मा यो प्रतिनिधिसभाको कार्यकाल सकिन्छ ।

अहिलेको अवस्थामा प्रतिनिधिसभाको कार्यकाल आगामी ९ मंसिरसम्म कायम रहने भएपछि प्रधानमन्त्रीको पद पनि रिक्त भएन । सांसदहरूको पद पनि रिक्त भएन । त्यसैले प्रतिनिधिसभा, सांसद र प्रधानमन्त्री पद पूर्ण रूपमा नै रहेर निर्वाचन गर्ने परिकल्पना भएको हो भन्न सकिन्छ

आवधिक निर्वाचन निश्चित समयमा हुनुपर्छ । एक दिन पनि प्रतिनिधिसभा रिक्त नहुने परिकल्पना अनुसार, ९ गतेभित्र निर्वाचन भएर नयाँ जनप्रतिनिधि चयन हुनुपर्छ । बेलायतमा फिक्स्ड टर्म पार्लियामेन्ट छ । हामीकहाँ शर्तात्मक रूपमा त्यही अवधारणा कार्यान्वयन भएको हो ।

संविधानको धारा ७७ मा प्रधानमन्त्रीको पद कहिले रिक्त हुने भन्नेबारे व्यवस्था छ । प्रतिनिधिसभा विघटन भएमा प्रधानमन्त्रीको पद रिक्त हुन्छ । त्यसैगरी प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य नरहनेमा पद खाली हुने अर्को परिकल्पना छ । प्रतिनिधिसभाको कार्यकाल सकिएमा मात्रै प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य रहँदैनन् । अनि धारा ८९ मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएमा सदस्य पद रिक्त हुने अर्को व्यवस्था छ ।

संविधानको धारा ७७, ८५ र ८९ मा भएको व्यवस्था हेर्ने हो भने प्रतिनिधिसभाले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनैपर्ने परिकल्पना गरेको देखिन्छ । तीनवटा धारालाई समन्वयात्मक रूपमा व्याख्या गर्ने हो भने विघटन भएको अवस्था बाहेक प्रतिनिधिसभा पाँच वर्ष कायम रहने भन्ने देखिन्छ । त्यो अवधि जनताले मत व्यक्त गरेको दिनदेखि गणना हुनुपर्छ ।

होइन, निर्वाचित भएर शपथ ग्रहण गरेको मितिदेखि पदावधि गणना हुनुपर्छ भन्ने कतिपयको भनाइ छ । त्यसो हो भने २१ फागुनमा पदावधि सकिन्छ । कतिपयले निर्वाचनको मिति घोषणा गरेपछि स्वतः विघटन हुन्छ अनि सरकारको हैसियत कामचलाउमा परिणत हुन्छ पनि भनेका छन् ।

कतिपयमा पदावधि सकिएको ९० दिनभित्र निर्वाचन हुनुपर्छ भन्ने परिकल्पना पनि हुन्छ । कार्यकाल समाप्त भएपछि हुने निर्वाचनलाई ‘पोष्ट इलेक्सन’ भनिन्छ । हामीकहाँ पोष्ट इलेक्सनको परिकल्पना गरिएको छैन ।

हामीकहाँ पोष्ट इलेक्सनको पनि परिकल्पना छैन, अनि अमेरिकामा जस्तो तोकिएको मितिमा निर्वाचन गर्ने र पछि पदावधि सकिएपछि तोकिएको मितिमा मात्रै पद ग्रहण गर्ने पि्र-इलेक्सनको पनि व्यवस्था छैन ।

भारतमा जस्तो जुन दिन निर्वाचितहरूको शपथ ग्रहण हुन्छ, त्यही दिनदेखि कार्यकाल सुरु हुन्छ भन्ने परिकल्पना छ, हामीकहाँ त्यो पनि छैन । यसरी हेर्दा हाम्रोमा निश्चित अवधि तोकिएको प्रतिनिधिसभा थियो भन्न सकिन्छ । यसरी हेर्दा ९ मंसिरसम्म प्रतिनिधिसभाको कार्यकाल रहन्छ ।

यसरी हेर्दा ९ गतेपछि निर्वाचन हुने परिकल्पना छैन । ९ गते कार्यकाल सकिने प्रतिनिधिसभाको निर्वाचन १० गते हुन सक्दैन । त्यसरी हेर्दा ९ साउनभित्र नै निर्वाचनको मिति घोषणा हुनुपर्ने थियो । किनभने निर्वाचन आयोगलाई निर्वाचन गराउन कम्तीमा पनि १२० दिन आवश्यक पर्छ ।

संविधान र कानुनमा भएको व्यवस्था अनुसार तोकिएको अवधिमा निर्वाचनको मिति घोषणा गर्न सरकार चुक्यो । आज १६ गते हुँदा समेत निर्वाचनको मिति घोषणा हुनसकेको छैन । अब सरकारले संवैधानिक नैतिकता देखाउनुपर्ने हुन्छ ।

सरकारले ९० दिन भएपछि निर्वाचनको अवधि पुगिहाल्छ भन्ने सोचेको होला । तर विभिन्न कार्यविधि र प्रक्रिया निलम्बन गरेर छिटोछरितो काम गर्दा मात्रै ९० दिनमा निर्वाचन गर्न सकिने होला । अहिले त फेरि दुई तहको निर्वाचन गर्नुपर्नेछ । त्यसैले निर्वाचन आयोगलाई सहयोग हुने किसिमले आजभोलि नै सरकारले निर्वाचनको तिथिमिति घोषणा गर्नुपर्छ ।

दक्षिण अपि|mकामा निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गर्न सक्ने परिकल्पना छ । यहाँ त्यसैगरी व्याख्या गरिनुहँुदैन । कार्यकाल सकिएपछि राष्ट्रपतिले संसद विघटनको घोषणा गर्नेछन् भन्ने त्यहाँको जस्तो परिकल्पना हामीकहाँ छैन ।

अहिलेको अवस्थामा प्रतिनिधिसभाको कार्यकाल आगामी ९ मंसिरसम्म कायम रहने भएपछि प्रधानमन्त्रीको पद पनि रिक्त भएन । सांसदहरूको पद पनि रिक्त भएन । त्यसैले प्रतिनिधिसभा, सांसद र प्रधानमन्त्री पद पूर्ण रूपमा नै रहेर निर्वाचन गर्ने परिकल्पना भएको हो भन्न सकिन्छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा निर्वाचनका लागि मनोनयनपत्र दाखिला गर्ने मितिसम्म सभामुखको पद रहन्छ भन्ने परिकल्पना छ । अहिले प्रतिनिधिसभा विघटन त हुनसक्दैन । विघटन नभएकाले गर्दा सभामुख पद नरहने भन्ने परिकल्पनै हुँदैन । विघटन नहुँदा सभामुखको पद यथावत् रहन्छ ।

लाभको पद धारण गरेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने व्यवस्था भयो भने सभामुख र अरू सांसदहरूले पदबाट राजीनामा दिएर मनोनयन दर्ता गर्नसक्ने भए । त्यसो हुँदा पद रिक्त हुन्छ । तर, मनोनयनपत्र दर्ता गरेनन् भने पद यथावत् रहने भयो ।

यसरी जोगाइएको प्रतिनिधिसभाको के अर्थ भन्ने प्रश्न समेत आउन सक्ला । संसद रहेपछि उसले बिजनेश पाउने भयो, केही जरूरी परेमा अध्यादेश ल्याइहाल्न हतारो गर्नुपरेन । बहुमत रहेको अवस्थामा कुनै विधेयक समेत पारित हुनसक्ने भयो । कुनै प्रस्ताव पारित गर्न सक्छ ।

दुईतिहाइ पुग्ने अवस्थामा त संविधानदेखि अन्तर्राष्ट्रिय सन्धिसम्झौता अनुमोदन गर्न सक्ने भयो । यति व्यवस्था हुँदाहुँदै चार महिनाअघि नै प्रतिनिधिसभाको मृत्युवरण गर्ने काम हुनुहँुदैन । अन्तिम अवस्थासम्म प्रतिनिधिसभा कायम रहनुपर्छ । संविधानलेखनका क्रममा यसबारेमा धेरै छलफल र बहस भएको थियो ।

त्यसक्रममा अन्तर्राष्ट्रिय प्रचलन र विगतको अभ्यास हेरेर संविधान लेखिएको हो । त्यतिबेला निर्वाचनको मिति घोषणा हुँदा प्रतिनिधिसभा नरहने भन्ने परिकल्पना थिएन । यो सबै कुरा यथावत् रहँदारहँदै निर्वाचन मिति घोषणा हुनासाथ प्रतिनिधिसभा रहँदैन भनेर तर्क गर्न मिल्दैन । संविधानलेखनको घटना सबैले स्मरण गर्न आवश्यक छ ।

(संवैधानिक कानुनविद् ज्ञवालीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?