+
+

सरकारले भन्यो : आयो नुनमा आयोडिनको मात्रा अधिक छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १७:१३

१७ साउन, काठमाडौं । नेपालीले खाने नुनमा आवश्यकता भन्दा बढी मात्रामा आयोडिन पाइएको विषय प्रयोगशाला परीक्षणबाट पुष्टि नभएको खाद्य प्रवधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नेपालीले खाने आयो नुनमा अधिक मात्रा आयोडिन भएकोबारे प्रकाशित अध्ययनहरुले भने झैं प्रयोगशाला परीक्षणमा यस्तो नदेखिएको विभागले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

नेपालीले प्रयोग गर्ने आयोडिन युक्त नुनको प्याकेटमा गरिएको परीक्षणमा बाहिर हल्ला भए जस्तो अधिक मात्रा नभएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।

‘नेपाललाई जुन मात्रामा आयोडिन सेवनका लागि नुनको व्यवस्था गरिएको छ त्यसको न्यूनतम् मात्रा भन्दा माथि नै नुन पाएका छौं,’ महानिर्देशक जोशीले भनिन्, ‘नुनमा कम्तिमा ३० पीपीएमदेखि ५० पीपीएमसम्म आयोडिनको मात्रा भए ठिक हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । हाम्रो परीक्षणमा यस्तो नेपालको यस्तो मात्रा पुगेको देखिन्छ ।’

नेपालको हकमा नुनमा आयोडिनको अधिकतम् मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठिक र बेठिक भन्ने छुट्टै बहस भएको र यसका लागि स्वास्थ्य मन्त्रालयले स्तर निर्धारण गर्नु पर्ने उनको भनाइ छ ।

भल, बाढी र पहिरोका कारण नेपालको माटोमा आयोडिन मात्रा निकै कम रहेको र सामुन्द्रिक खाद्य वस्तुको उपलब्धता मानिसमा नभएका कारण आयोडिन मात्रा धेरै नै हुनु पर्ने देखिएको भन्दै उनले भनिन्, ‘आयोडिनको मात्रा बारेको अध्ययन अपुरो छ यसलाई विस्तिृत बनाउन जरुरी छ । ’

विभागका उपमहानिर्देशक शैलेशकुमार झाले नेपालीहरुले खानामा नुनको प्रयोगको तरिकाका हिसाबले आयोडिनको मात्रा धेरै थोरैको निर्धारण गर्ने बताए । ‘कुकरमा नुन हालेर सिठ्ठी लगाइयो भने आयोडिनको मात्रा घट्छ, पकाइसकेर नुन थपियो भने आयोडिन बढी हुन्छ,’ झा भन्छन् ‘कसले कसरी पकाएर खाना आयो भन्ने कुरामा यो भर पर्ने कुरा हो ।’

विभागका गुणस्तर महाशाखा प्रमुख किशोर केसीले नेपालले औषत खानु पर्ने भन्दा धेरै नुन खानाले ओडिनको मात्रा धेरै भएको देखिएको हुनसक्ने बताए । हामीलाई दैनिक ५ एमएम भन्दा बढी नुन नखानु भनिन्छ तर नेपालीको औसत नुन खाने बानी ९.५ एमएम देखिएको छ,’ केसीले भने, ‘आवश्यकता भन्दा धेरै मात्रामा नुन खाएपछि आयोडिनको मात्रा धेरै देखिनु ठिकै हो ।’

आयोडिनका कारण नेपालले आयोडिन अभावका कारण हुने रोग प्रतिरोधमा ठूलो जित हासिल गरेको भन्दै उनले यसको प्रयोग र मात्राबारेमा विस्तृत अनुसन्धानको खाँचो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?