+
+

विद्युतीय चुलोलाई नै बिजुली संकट, बजारमा बढेन माग

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ साउन १८ गते ८:००

१८ साउन, काठमाडौं । गत वर्ष नेपाली बजारमा इन्डक्सन/ इन्फ्रारेड चुलोको मागको वृद्धिदर उत्साहजनक रहेन । विद्युतीय चुलो प्रयोग बढाउने सरकारी योजना गफमै सीमित रहेको त्यसले देखायो ।

सरकारले विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरिरहे पनि विद्युत् वितरण प्रणालीमा रहेको समस्या समाधान नहुँदा नेपालमा इन्डक्सन आयात अघिल्लो वर्षकोभन्दा सामान्य मात्रै वृद्धि भएको व्यापारीहरुले बताएका छन् । पटक-पटक बिजुली गइरहने समस्याले विद्युतीय चुलो किन्न र किनेहरुकाले नियमित प्रयोग गर्न चासो नदेखाएका हुन् ।

विद्युतीय चुलो प्रयोग बढ्ने सम्भावना धेरै भएपनि बजारमा माग नबढेको तथ्यांकले देखाउँछ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७८/७९मा (साउन ०७८देखि असार ०७९सम्म) नेपालमा ३२ करोड २८ लाख मूल्य बराबरको १ लाख ५८ हजार २६४ वटा इन्डक्सन/इन्फ्रारेड चुलो आयात भयो । यो संख्या आव ०७७/७८को भन्दा करिब ३ हजार वटा मात्रै बढी हो ।

आर्थिक वर्ष ०७७/७८मा २४ करोड ८२ लाख मूल्यको १ लाख ५४ हजार ९८८ वटा इन्डक्सन आयात भएको थियो । त्यसअघि आव ०७६/७७मा नेपालमा २ करोड ४८ लाख रुपैंयाँको १० हजार ४३५ वटा इन्डक्सन आयात भएको थियो ।

आव ०७७/७८मा यो संख्या १ लाख ५८ हजार पुगे पनि त्यसपछि वृद्धिदर सुस्तायो । आर्थिक वर्ष ०७८/७९मा ४१ हजार ४५४ वटा इन्फ्रारेड चुलो आयात भयो ।

कस्तो छ बजार ?

अहिले नेपालमा विभिन्न ब्रान्डका इन्डक्सन र इन्फ्रारेड चुलो उपलब्ध छन् । बाल्ट्रा, सीजी, फिलिप्स, बजाज, मिडिया, होम ग्लोरी लगायत कम्पनीका चिनियाँसहित, नेपाली र भारतीय ब्रान्डका इन्डक्सन चुलो बजारमा पाइन्छ ।

सिटी इलेक्ट्रोनिक्सका अर्जुन प्रधान बजारमा धेरै खाले इन्डक्सन र इन्फ्रारेड चुलो उपलब्ध भए पनि सीमित ब्रान्डलाई मात्रै रुचाइएको बताउँछन् ।

उनका अनुसार इन्फ्रारेड चुलो हेर्दा इन्डक्सन जस्तै देखिए पनि यसले फरक तरिकाले काम गर्छ । यसमा ग्यासमा जस्तै सामान्य भाँडा प्रयोग गरेर खाना पकाउन सकिन्छ । इन्डक्सनको तुलनामा इन्फ्रारेड चुलो बढी महँगो हुन्छ । इन्डक्सनको तुलनामा इन्फ्रारेडमा बिजुली पनि बढी खपत हुन्छ।

इन्फ्रारेडले हिटरको जस्तो काम गर्ने भएकाले बजारमा यसको माग र बिक्री इन्डक्सनको तुलनामा कम हुने स्मार्ट फ्यामिली होम अप्लायन्सेसका सञ्चालक सनिश गोतामेले बताए ।

इन्डक्सन चुलोमा भने ताप सबैतिर समान रुपमा जाने भएकाले ग्यासको तुलनामा यसमा छिटो खाना पाक्छ । इन्डक्सनमा प्रयोग गरिने भाँडा भने ‘इन्डक्सन बेस’ नै हुनुपर्छ । बजारमा इन्डक्सन चुलोमा प्रयोग हुने कुकर, कराइ र प्यान उपलब्ध छन् ।

नेपाली बजारमा ३५ सयदेखि ५ हजार रुपैयाँसम्मका इन्डक्सन चुलो बढी बिक्ने गरेका छन् । इन्फ्रा रेडलाई भने ५ हजारदेखि ११ हजार रुपैयाँसम्म पर्छ ।

साधारणतया इन्डक्सन तथा इन्फ्रारेड चुलोहरु १८ सय वाटदेखि २२ सय वाटसम्मको पाइन्छ । कुनै इन्डक्सन र इन्फ्रारेड २२ सय वाटभन्दा माथिका पनि छन् ।

चुलोलाई विद्युतको संकट

विद्युतीय चुलोबारे अध्ययन गरेका प्रा. डा. जगननाथ श्रेष्ठ ग्यासको तुलनामा विद्युतीय चुलो ४० प्रतिशत सस्तो पर्ने बताउँछन् । उनका अनुसार बिहान-बेलुका खाना पकाउने समयमा १० मिनेट मात्र बत्ती गयो भने पनि खाना बिग्रिने भएकाले धेरैले यसमाथि भरोसा गर्न सकेका छैनन् ।

विद्युत वितरण लाइन मात्रै होइन, धेरै ग्राहकको घरमा रहेको विद्युतीय पूर्वाधार पनि इन्डक्सन खपत धान्न सक्ने खालको छैन । कम एम्पिएरका लाइन जोडिएकाले इन्डक्सनको लोड धान्न सक्ने गरी ग्राहकले नै लाइन स्तरोन्नति पनि गरेका छैनन् ।

विद्युत महसुल पनि विद्युतीय चुलोको प्रयोग बढाउने खालको छैन । नेपाल विद्युत प्राधिकरणले जति धेरै खपत गर्‍यो उति कम दरको महसुल लिने नीति लिएको बताए पनि ११ रुपैयाँ युनिटको बिजुली ‘इलेक्टि्रक कुकिङ’ प्रवर्द्धनको बाधक बनेको छ ।

वितरण प्रणाली सुधारेर लाइन काटिने समस्या नआउने ग्यारेन्टी नगर्दासम्म ग्राहकले भान्साबाट पूर्णरुपमा ग्यास सिलिण्डर हटाउन सक्दैनन् । ग्राहकले विश्वसनीय विद्युत आपूर्ति खोजिरहेको र नेपाल विद्युत् प्राधिकरणले त्यसकै लागि काम गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् ।

इन्डक्सन चुलो प्रयोगको दर बढाउन सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । यस वर्षको बजेट वक्तव्यमा स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने घोषणा त भएको छ, तर त्यो कार्यक्रममाथि सुरुबाटै प्रश्न उठिरहेको छ ।

प्रत्येक परिवारलाई इन्डक्सन वितरण गर्ने सरकारी योजनामा लक्षित वर्ग नतोकिएकाले मात्रै हैन, विद्युत् प्रणाली नहेरी ल्याइएकाले पनि कार्यक्रम नै शंकाको घेरामा छ ।

सरकारले कार्यक्रमको कार्यविधि पनि बनाएको छैन । विद्युत् खपत बढाउने र एलपी ग्यासको आयात घढाउने भन्दै गरिएको घोषणामा विद्युतका सबै घरायसी ग्राहकलाई विद्युतीय चुलो दिने सरकारको योजना छ ।

विद्युत वितरण प्रणाली भने विद्युतीय चुलोको लागि तयार भइसकेको छैन । विद्युत् प्राधिकरणका अनुसार अहिले करिब ४३ लाख ३० हजार घरायसी विद्युत ग्राहक छन् ।

सरकारको घोषणाअनुसार सबैले एकैपटक विद्युतीय चुलो पाएर प्रयोग गर्न थाले भने के हुन्छ ? प्राधिकरणका एक इन्जिनियरका अनुसार एउटा इन्डक्सन चुलोले ‘कुकिङ प्याटर्न’ अनुसार ०.२ देखि २ किलोवाटआवरसम्म विद्युत खपत गर्न सक्छ । इन्डक्सन चुलो समान्यतयाः विद्युत प्रणालीमा साँझ र बिहान खाना पकाउने समयमा सबैतिर एकसाथ जस्तै जोडिन्छन् ।

घरायसी ग्राहकमध्ये आधाले मात्रै इन्डक्सनमा औसत १ किलोवाट (१००० वाट) आवर विद्युत् खपत गरे भने करिब २१ लाख ६ हजार किलोवाट आवर बराबर विद्युत खपत हुनेछ । २१ लाख किलोवाट आवर भनेको २१०० मेगावाट आवर बिजुली हो ।

जबकी, नेपालको विद्युत् उत्पादनको जडित क्षमता २ हजार २०५ मेगावाट छ । नदीमा पानी घट्ने हिउँदमा त करिब आधा बिजुली भारतबाट ल्याउनुपर्छ । सबै इन्डक्सन जोडियो भने नेपालमा साँझ-बिहानको पिक आवरमा ३९०० मेगावाट बिजुली आवश्यक पर्नसक्छ ।

यद्यपि, प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई अहिले पनि प्रणालीमा २० लाखसम्म इन्डक्सन चुलो जोडिइसकेको दाबी गर्छन् । थप इन्डक्सन जोडिँदा वितरण प्रणालीमा चाप परे पनि माग व्यवस्थापन गर्न समस्या नहुने उनको भनाइ छ । ‘महामारीको बेलामा विद्युत उपयोगको प्रवृत्तिमाथि अध्ययन गर्दा प्रणालीमा ठूलो संख्यामा इन्डक्सन रहेको र संकटमा मान्छेले त्यसलाई प्रयोग गरेको पाएका थियौं,’ उनले भने, ‘सरकारी प्रोत्साहनमा प्रणालीमा इन्डक्सन थपिनु हाम्रो लागि सुखद् हो ।’

इन्डक्सनका लागि प्रणालीको स्तरोन्नति नगरे साँझ-बिहान एकसाथ प्रयोग बढ्दा प्रणालीले थेग्न नसकेर तार, ट्रान्सर्फमर, फिडर र ११ केभीका लाइनहरु पडि्कने, जल्ने समस्या हुनसक्ने भट्टराईले स्वीकारे । ‘हामी पुराना प्रणाली हटाउँदै विश्वसनीय वितरण प्रणाली बनाउन काम गरिरहेका छौं, तर पोल गाड्न, ट्रान्सर्फमर राख्न र तार बिछ्याउन अवरोध भइरहेको छ,’ उनी भन्छन्, ‘त्यसैले चाहेजसरी विद्युत् प्रणालीमा प्राविधिक समस्या नआउने ग्यारेन्टी गर्न सकेका छैनौं ।’

भट्टराईका अनुसार वितरण प्रणाली सुधारेर लाइन काटिने समस्या नआउने ग्यारेन्टी नगर्दासम्म ग्राहकले भान्साबाट पूर्णरुपमा ग्यास सिलिण्डर हटाउन सक्दैनन् । ग्राहकले विश्वसनीय विद्युत आपूर्ति खोजिरहेको र प्राधिकरणले त्यसकै लागि काम गरिरहेको उनको भनाइ छ ।

अहिले पनि धेरै ग्राहकले इन्डक्सन चुलो प्रयोग गरिरहेको भन्दै उनले वितरण प्रणालीमा आइरहने समस्याका कारण ग्राहक विश्वस्त हुन नसकेको बताए । ‘बिहानभरि कुनै कारणबस लाइन आएन भने विद्युतीय चुलोमा भर पर्ने त भोकै बस्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘त्यो अवस्था नआओस् भनेरै हामी विद्युत वितरण प्रणाली सुदृढीकरण गरिरहेका छौं ।’

प्राधिकरणका वितरण विभाग प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवाल सरकारले देशमा उत्पादित बिजुली देशभित्रै खपत गराउने उद्देश्यसहित इन्डक्सन वितरणको योजना ल्याएको बताउँछन् ।

अपेक्षाअनुसार इन्डक्सन प्रयोग बढे वितरण प्रणालीमा बढ्ने चुनौतीका लागि प्राधिकरण तयार रहेको उनले बताए । ‘प्रणालीलाई बलियो बनाउने गरी काम गरिररहेका छौं’, सिलवाल भन्छन्, ‘लाइनहरुको स्तरीकरणसँगै इन्डक्सनको प्रयोग बढाउँदै लैजाँदा देशलाई लाभ हुन्छ ।’

अर्थमन्त्रालयले संरचना वृद्धि गर्दै लगेर सय प्रतिशत पुर्‍याउने बताउँदै आएको छ । सिंहदरबारबाट ग्यास विस्थापन सुरु गरेर जनतासम्म लैजाने गरी पहिलो चरणमा सिंहदरबारको क्यान्टिनमा इन्डक्सन जोड्न थालिएको छ ।

प्रा. डा. श्रेष्ठ ग्यासलाई विस्थापित गर्ने हो भने नेपालको विद्युतीय सप्लाई गुणस्तरीय बनाउनैपर्ने बताउँछन् । उनी भन्छन्, ‘बिजुली झ्याप-झ्याप नगए मात्र विद्युतीय चुलोको प्रयोग बढ्दै जान्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक विषयमा कलम चलाउने घिमिरे अनलाइनखबरको आर्थिक ब्युरोको संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?