+
+

आगामी चुनावका दुई अनुहार

फेरि पनि राजनीति सुधार्न गर्ने त राजनीति नै हो। यद्यपि, राजनीति गर्न चुनाव नै लड्नुपर्छ भन्ने पनि छैन। तर चुनावी मैदानमा नउठी, सृजनशील र सक्षम पुस्ता जनताको घर-घर नपुगी, संगठित र सशक्त हस्तक्षेप नगरी यो राजनीति सुधार्न झन् कठिन हुनेछ।

ब्रबिम कुमार ब्रबिम कुमार
२०७९ साउन १८ गते १२:३५

स्थानीय चुनावको रापताप सकिएर सरगर्मी आउँदो संघीय संसदीय चुनावको पनि सुरु भइसकेको छ। अझ स्वतन्त्रका विभिन्न समूहबीचको स्वतन्त्र भन्ने विवाद पनि नभएको होइन। चुनावकै रन्कोमा संयोगस्वरूप केही साताअघि एकैदिन केही मिनेटको अन्तरमा दुई पुराना मित्रहरूले सम्पर्क गरे।

फोनको आशय एउटै थियो- आगामी संसदीय चुनावमा उठ्ने सोच्दैछु, के छ सल्लाह सुझाव ? सक्रिय युवा अभियानकर्मबाट किनारामा उभिएको मान्छेले दिने सल्लाह र सुझाव के हुँदो हो ? ‘कुरा ठिक छ, बाँकी सोचेर कुरा गरौंला नि’, यत्तिमै कुरा टुंग्याए।

दुवै मित्रहरूले एउटै कुरा थपे- ‘अरु बुद्धिजीवी र विज्ञसँग पनि सल्लाह लिंदैछु।’

भर्खरै इराकको संसदीय चुनाव, केही अघि अफगानिस्तानको संसदीय र राष्ट्रपतीय चुनावबाट फर्केको थिएँ। त्यताको ह्याङओभर बाँकी नै छ, म यता के सल्लाह दिऊँ ?

२७ किलोमिटरको रिङरोड भित्र थुनिएको काठमाडौंमा नेपाल, दक्षिणएशिया अनि विश्व नै भ्याइदिने बुद्धिजीवी र विज्ञहरूको भेल थामिनसक्नुको छ। चिन्ता लाग्छ ती मित्रहरूको पनि, कसरी जोगिएलान् विज्ञहरूको उत्पात सल्लाहबाट। एकै व्यक्तिले निर्वाचन प्रणाली, समावेशीको मामला, शिक्षा र स्वास्थ्य, जलवायु परिवर्तन, अर्थतन्त्र सबै भ्याइदिने मुलुक पो हो त।

रिङरोड भित्र हुने प्यानलहरूमा (म्यानलहरूमा पनि) एउटै अनुहार सधैं दोहोरिरहनुपर्ने कस्तो संकट हो मुलुकको ? एक मित्रले ठट्टै ठट्टामा केही अघि भनेथे, ‘पहिले चोक-चोकमा देउता पाइने कान्तिपुर नगरी आजकल क्याफे क्याफेमा बुद्धिजीवी भेटिने शहर भएको छ।’ खैर काठमाडौं र बुद्धिजीवीको प्रसङ्गलाई छोडेर केही पुरानो सन्दर्भतिर लागौं।

सन् २०११ को सेप्टेम्बरमा किसानमारा बहुराष्ट्रिय कम्पनीको रूपमा चिनिएको मोन्सान्टो नामक अमेरिकी कम्पनीको बीउ सहयोगको रूपमा नेपाल भित्र्याउने तात्कालिक कृषि मन्त्रालय र अमेरिकी विकास नियोगबीच भएको सहमतिको विरोधमा कृषि र खाद्य क्षेत्रमा काम गर्ने केही अभियन्ताले असहमति जनाए। त्यतिबेला लगभग मकैमा आत्मनिर्भर रहेको नेपाल मोन्सान्टोको बाटो लागे आत्मघाती हुने उनीहरूको चिन्ता थियो। छापाहरूमा त्यसबारे केही चर्चा पनि भए तर सडकमा निस्किएर आन्दोलन नगरी आत्मघाती सहमति फिर्ता हुनेवाला थिएन।

यो प्रकरणको झण्डै एक वर्षअघि एक जना जोसिलो युवालाई एउटा युवा संस्थामा भेटेको थिएँ, उही पुकार बम। मोन्सान्टो प्रकरणमा एक दिन पुकारले भन्यो, ‘म सब साथीहरूलाई भन्छु, सडकमा सशक्त अभियान गर्नुपर्छ, अनि बल्ल केही हुन्छ।’

धेरै अभियानकर्मीको पहल र सहकार्यमा सडकमा मोन्सान्टो विरोधी प्रदर्शन भयो। उति बेलैदेखि सडकमा भेटेको पुकार आजकल पनि सडकमै छ, मुद्दाहरू फरक होलान्, कहिले डा. गोविन्द केसी, कहिले किसानले मल नपाएको बेला होस् वा कहिले विदेशमा काम गरिरहेका लाखौं नेपालीको मतअधिकारको लागि होस्। कोरोना महाव्याधि प्रथम चरणमा पुकार सरकारको काम-कारबाहीदेखि वाक्क भएर इनफ इज इनफ भन्दै अनशन बस्यो। धेरै साथी आए, गए तर पुकार अहिले पनि सडक वरिपरि नै छ।

मोन्सान्टो आन्दोलनकै क्रममा कृषि मन्त्रालयबाट राम्रो रेस्पोन्स नपाएपछि, सीधै प्रधानमन्त्री कहाँ कुरो पुर्‍याउने सल्लाह भएअनुसार तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसम्म पुग्ने बाटो खोजियो। विद्यार्थी राजनीतिमा संलग्न एक मित्रले प्रधानमन्त्री पुत्रीलाई सम्पर्क गर्न सुझाए। मैले फोन गरें, केही अभियन्तासँग भेटेरै सल्लाह गर्न बिजुलीबजारमा रहेको एउटा युवा संस्थामा मानुषीलाई भेटियो। कुनै सुरक्षा विना, एउटा निजी मोटरसाइकलमा युवा संस्थामा आएकी मानुषी यमी भट्टराईको सरलता, सहजता र विषयप्रतिको गम्भीरता तारिफयोग्य थियो।

संभवत: त्यतिबेला सबैभन्दा धेरै मत ल्याएर त्रिवि स्ववियूकी सचिव थिइन्। छलफलकै क्रममा मानुषीले आफूलाई एक विद्यार्थी कार्यकर्ताको रूपमा बुझिदिन र प्रम पुत्रीको परिचयबाट टाढा राख्न आग्रह गरिन्। नेपालकै एकअर्का प्रधानमन्त्रीको सन्तानको रवाफ देखेको हुनाले उनको सरलता र परिपक्वता हामीलाई रोचक नै लागेको थियो।

हामीले कतै कतै गफ पनि लगायौं- हाम्रो संस्था प्रधानमन्त्रीको छोरी पनि मिटिंगमा आउने संस्था हो। मानुषीसँग सल्लाह भएअनुसार र अन्य प्रयत्नबाट पनि त्यतिबेला चर्चामा रहेको जनतासँग प्रधानमन्त्री कार्यक्रममा डा. भट्टराईलाई मोन्सान्टोकै विषयमा प्रश्न राखियो। उनले नेपाली किसान र अर्थतन्त्रलाई अहित हुने सहमति कार्यान्वयन नहुने विश्वास दिलाए।

पहिलो संविधानसभाको मिति सकिंदै थियो। पुकार र हामी दिनहुँ जेठको चर्को घाममा बानेश्वर वरपर जनपक्षीय नयाँ संविधानको माग गर्दै नारा जुलूस गर्दै थियौं। जुलूसमा प्राय: उज्ज्वल थापा पनि हुन्थे। अन्तिम बैठक नै नबसी संविधानसभा मर्‍यो। उज्ज्वल थापा र पुकार बमले त्यस पश्चात ‘अब के त ?’ भन्ने बहस सुरु गरे र नयाँ दल जन्माउने निष्कर्षमा पुगे। तत्पश्चात जन्मियो विवेकशील नेपाली दल।

पार्टी बनाउने प्रकृया, त्यसको वैचारिकी र संगठनात्मक पक्षमा मेरो केही फरक धारणा थिए। उज्ज्वल थापा र पुकार बमलाई देशव्यापी जनसंवाद गर्न, सो जनसंवादको निचोडको आधारमा पार्टी निर्माणमा जुट्न मेरो सुझाव रह्यो। तर संविधानसभाको दोस्रो चुनावको चापमा साथीहरू कुकुर चुनाव चिन्ह लिएर घरदैलोमा जुटे।

म पुकार बमको घरदैलोमा आक्कलझुक्कल पुगें, चुनावमा पुकार पहिलो भएन तर उल्लेख्य मत ल्यायो। मिडिया चर्चाको भोक नहुँदा ऊ मिडियासम्म पुगेन, मिडिया पनि ऊसम्म पुगेन।

दोस्रो संविधानसभाको छेकोमा डा. बाबुराम भट्टराई नयाँ शक्तिको बहस चलाउन थाले। आफैंले बनाएको पार्टी छोडेर नयाँ विचार, संस्कार र संगठनसहितको नयाँ शक्तिको अभियान चलिरहँदा डा. भट्टराई, उज्ज्वल थापा, गोविन्द नारायण लगायतले नयाँ राजनीतिक अभियान चलाउने छलफल चलाए। केही बाक्ला भेटघाटहरू पनि भए। सम्भवत: उज्ज्वल थापासँग जोडिएका केही बुद्धिजीवी सल्लाहकारहरूलाई यो पचेन, संयुक्त बहसहरू त्यत्तिकै सेलाए।

यतिबेला उज्ज्वल थापा, गोविन्द नारायण, पुकार बम लगायतले सुरु गरेको विवेकशील अभियानको हविगत सर्वविदितै छ, डा. भट्टराईको नयाँ शक्ति पनि छिट्टै थाकेर समाजवादी पार्टीको अवतारमा फेरियो।
त्यताबाट पनि आफ्नो उद्देश्य पूरा नभएपछि डा. भट्टराई फेरि नयाँ समाजवादीको अपूरो यात्रा छोडेर नयाँ यात्राको तयारीमा पनि छन्। व्यक्तिगत रूपमा कुरा गर्दा विवेकशीलका अभियन्ताहरू र डा. भट्टराई दुवै नयाँ राजनीतिक विचार, संस्कार, अर्थतन्त्र, जनमुखी शासनकै कुरा गर्छन्। यद्यपि त्यो अभियान चलाउन सुरु गरेको संस्थाहरूको कन्तविजोग हाम्रो सामु छँदैछ।

संविधान निर्माणपछिको दोस्रो संघीय निर्वाचनको सँघारमा आइपुग्दा विवेकशीलसँग जोडिएको पुकार र नयाँ शक्ति हुँदै हाल जनता समाजवादीको वागमती प्रदेश सचिवको रूपमा कार्यरत मानुषी दुवैले अबको निर्वाचनमा भिड्ने मूड बनाइसकेका छन्।

हाम्रो संघीय संसदलाई मुख्यत: पुरुषहरूको बोरिङ क्लबबाट जनमुखी, जनपक्षीय, सृजनशील र प्रभावकारी बनाउन मानुषी र पुकारहरू संसदमा पुग्दा त्यो देशकै हितमा हुने थियो शायद।

मानुषी र पुकारमा कमजोरीहरू नभएका होइनन् तर आफ्ना कमजोरीलाई मनन गर्ने, अरुको कुरा सुन्ने, विषय, मुद्दा र जनताप्रति संवेदनशील हुने कुरामा आधारभूत रूपमा दुवै प्रतिबद्ध छन्। मानुषीलाई आफ्नो परिचय हरदम आफ्नो बुबाआमासँग जोडेको मन पर्दैन, उनको अध्ययनको दायरा फराकिलो छ। मिडियाको चर्चाबाट सकेसम्म आफूलाई अलिक पर राख्न खोजेको भान हुन्छ। तर, अनौपचारिक भेटवार्तामा उनको विषयगत बुझाइ र प्रतिबद्धताहरू स्पष्ट राखेकै हुन्छिन्।

यता पुकारमा चल्तीका नेतामा हुने धेरै गुण छैन, सक्रिय राजनीतिको झण्डै एक दशक हुँदा पनि उसलाई ठूलो ठूलो स्वरले चर्को भाषण गर्न आउँदैन। मान्छे, सन्दर्भ र अवस्था हेरेर गफ गर्न आउँदैन, काठमाडौंमै जन्मिए पनि उसको काठमाडौं खाल्डोमा आफ्नै घर छैन। टुटल, पठाओ र अरुसँग लिफ्ट माग्दै अध्ययन, अध्यापन र अभियान भ्याइरहेको हुन्छ।

यी दुवै त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछन्। मिडियाबाजी र क्षणिक पपुलारिटीबाट सकेसम्म परै बस्छन्।

राजनीति आफ्नो जीविकोपार्जन र आफ्ना आसेपासेको भलाइको लागि गरिने मुख्य पेशा जस्तो भएको छ। त्यसैले कुख्यात कतिपय नेताहरू राजनीतिकर्मी कम ठूला व्यावसायिक घरानाको मालिक जस्ता बढी लाग्छन्। जनतासँग टाढा, जनताको मुद्दासँग टाढा ठेकेदारहरूसँग नजिक, अनि यस्तै यस्तै जो तपाईं आफैं भुक्तभोगी हुनुहुन्छ। आजभोलि मतदाताहरू भन्न थालेका छन्, ‘कमसेकम त्यसले घुस नखाला कि, काम नगरे पनि थप नबिगार्ला कि ?’ जनअपेक्षालाई यति निम्न तहमा पुर्‍याउन स्थापित दलहरूको राम्रै योगदान छ।

यता स्वतन्त्र उम्मेदवारीकै अभियानमा जेएनयूबाट विद्यावारिधि गरेर नेपाल फर्केका डा. सचिन घिमिरे, फिल्मकर्मी मनोज पण्डित लगायत पनि नजुटेका होइनन्। संभवत: दलीय व्यवस्थाले संस्थागत गरेको चरम दलीयतन्त्रको विरुद्ध चलेका यस्ता स्वतस्फूर्त अभियानले दलहरूलाई आफैंमाथि प्रश्न गर्लान् र सुध्रिन प्रयत्न गर्लान् भन्ने झिनो आशा त गर्न सकिन्छ कि ?

फेरि पनि राजनीति सुधार्न गर्ने त राजनीति नै हो। यद्यपि, राजनीति गर्न चुनाव नै लड्नुपर्छ भन्ने पनि छैन। लेख्नु, बोल्नु, आवाज उठाउनु, दबाव दिनु आदि पनि राजनीति नै हो। तर चुनावी मैदानमा नउठी, सृजनशील र सक्षम पुस्ता जनताको घर-घर नपुगी, संगठित र सशक्त हस्तक्षेप नगरी यो राजनीति सुधार्न झन् कठिन हुनेछ।

मानुषी र पुकारले समातेको राजनीतिक दलको भविष्य के होला भन्ने चिन्ता उनीहरूलाई होला। तर दलहरू भनेका साधन न हुन्, साध्य होइनन्। दलीय टक्कर अपेक्षा गरिएको आगामी चुनाव मानुषी र पुकारलाई जित्न सजिलो या गाह्रो आफ्नो ठाउँमा होला, त्यो पण्डित्याईं चुनावी बुद्धिजीवीलाई नै छोडौं। चुनावमा लड्नु, लड्ने आँट गर्नु नै सानोतिनो आन्दोलन हो।

यस्तै सामूहिक र सशक्त प्रयत्न नेपाली समाजमा विभिन्न विभेदमा परेका युवाहरूले गरुन्। काठमाडौंले संघीय संसदमा मानुषी र पुकारलाई पुर्‍याउने अवसर पाउन लागेको छ। यस्तै अवसर देशैभरका मतदाताले पाऊन्। चुनावी आन्दोलनको मैदानमा छिर्न लागेका पुकार र मानुषीलाई शुभेच्छा।​​​​​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?