+
+

नाच्दानाच्दै दीपकले पछ्याएको ओलम्पिक सपना

अहिले ओलम्पिकमै यो खेल समावेश हुनु र नेपाली खेलाडीले ओलम्पिक तयारीका लागि छात्रवृत्ति पाउनुले बी-बोइङप्रति आकर्षण बढाउने अपेक्षा छ ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन १९ गते १०:०६

१९ साउन, काठमाडौं । सन् २००९/१० तिर नेपालमा बी-बोइङप्रति युवा पुस्ताको आकर्षण उल्लेख्य थियो । शरीरलाई लचकदार बनाएर आश्चर्यजनक स्टेपबाट दर्शकलाई मनोरन्जन दिलाउने नृत्य विधाले तेक्वान्दो सिक्दै गरेका दीपक लामालाई पनि आकषिर्त गर्‍यो । युट्यूबमा भिडियो हेर्दै नाच्न थाले ।

त्यही बी-बोइङ उनका लागि सन् २०२४ मा हुने पेरिस ओलम्पिकसम्म पुग्नसक्ने बाटो बनेको छ ।

सन् २०१८ मा अर्जेन्टिनामा आयोजित युथ ओलम्पिकमा परीक्षण गरिएको डान्स स्पोर्टसअन्तर्गत ब्रेकिङ डान्स -बी-बोईङ)लाई पेरिस ओलम्पिकमा आधिकारिक खेलका रुपमा समावेश गरिएको छ । दीपक पनि त्यसका लागि मिहिनेत गरिरहेका छन् । उनलाई पेरिस ओलम्पिकसम्म पुग्न सघाउने उद्देश्यले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी -आईओसी)ले ओलम्पिक छात्रवृत्ति उपलब्ध गराएको छ ।

आईओसीको कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटीले पेरिस गृष्मकालीन ओलम्पिकका लागि नेपालका १० खेलका १० खेलाडीलाई ओलम्पिक सोलिडारिटी छात्रवृत्ति दिएको छ । डान्स स्पोर्टसबाट दीपकले छात्रवृत्ति पाएका हुन् ।

‘छात्रवृत्ति पाएको सुन्दा विश्वासै लागेन’

झण्डै एक दशकदेखि बी बोइङ गरिरहेका २३ वर्षका दीपक लामाले थुप्रै इभेन्टमा भाग लिएका छन् र विजेता बनेका छन् । गत असारमा भएको राष्ट्रिय च्याम्पियनसिपको वान भर्सेस वान इभेन्टमा पनि उनी उपविजेता बनेका थिए ।

तर राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा हारेको र अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको उनले ओलम्पिक छात्रवृत्तिको कल्पनै गरेका थिएनन् । ‘सुरुमा मैले समाचारबाटै थाहा पाउँदा के भइरहेको छ भनेर विश्वास नै गर्न सकिनँ,’ धापासीस्थित रुट्ज डान्स स्टुडियोमा अभ्यासरत दीपकले सुनाए, ‘ओलम्पिक छात्रवृत्ति पाउँदा एकदमै उत्साहित छु । मैले अझै धेरै मिहिनेत गर्नुपर्छ । अब यसले मलाई बी-बोइङमै मात्र केन्दि्रत हुन सहयोग पुग्नेछ ।’

उनले आगामी सेप्टेम्बरदेखि लागू हुने यो छात्रवृत्तिमा उनले मासिक ७५० अमेरिकी डलर आर्थिक सहयोग पाउने छन् । यो रकमबाट मेन्टर राखेर अभ्यास गर्नेदेखि विदेशमा गएर प्रशिक्षण गर्न सहज हुनेछ । उनी अहिले भक्तपुरको घलाँतेस्थित निवासबाट दैनिक प्रशिक्षणका लागि धापासी पुग्छन् ।

ब्याटलदेखि ओलम्पिक खेलसम्म

सुरुमा दीपकले तेक्वान्दो खेले । उनी येल्लो बेल्टधारी हुन् । जिम्न्यास्टिक पनि सिके । केही समय उसु पनि खेले । तर कुनै पनि खेलमा उनको मन अडिएन ।

वीरेन तामाङसँग भेट भयो, बी-बोइङतिर मन मोडिए । युट्युबबाट बी-बोइङ सिक्दै गरेका दीपकलाई वीरेनले बी-बोइङ गर्ने स्थानसम्म पुर्‍याइदिए । ‘सुरुमा अंग्रेजी फिल्महरु हेरेर त्यस्तै गर्ने गर्थें । वीरेन दाइले बी-बोइङको बाटो देखाउनुभयो,’ दीपकले भने ।

दीपक बी-बोइङमा लागेको थाङ्काको व्यवसाय गर्ने उनका बुबालाई मन परेको थिएन । बी-बोइङमा राम्रो गर्न थालेपछि प्रदर्शनीबाट उठेको रकम र नयाँ पुस्तालाई प्रशिक्षण दिएर आफ्नो खर्च धान्न थाले । अब ओलम्पिकका लागि प्राथमिकतामा परेको खबरले उनीभन्दा बढी बाबु र परिवारका सदस्य उत्साहित छन् । ‘यसमा लागेर भविश्य छैन । आर्थिक उपार्जन गर्न सकिँदैन भन्नुहुन्थ्यो,’ दीपक भन्छन्, ‘अहिले मभन्दा धेरै मेरा आमा-बुबा खुसी हुनुहुन्छ ।’

दीपकको स्टेज नाम ‘टोनी’ हो । उनी यही नामबाट बी-बोइङ वृत्तमा परिचित छन् । उनी एस्ट्रो ब्वाइज क्रूका सदस्य हुन् । दीपकसँगै एस्ट्रो ब्वाइज क्रूका नामबाट प्रस्तुति दिने नवीन तामाङ -स्माइली)ले ओलम्पिक छात्रवृत्तिबाट पूरै बी-बोइङ समुदाय उत्साहित बनेको बताए । एस्ट्रो ब्वाइज समूहमा पुरुष र महिलासहित २८ जना सदस्य छन् । भुटान र हङकङका खेलाडी पनि छन् ।

दीपकले पनि ओलम्पिक छात्रवृत्तिलाई अवसरका रुपमा लिएका छन् । संघ र राष्ट्रले गरेको विश्वासलाई प्रमाणित गर्न अझै राम्रो तयारी गर्नुपर्ने बुझेका दीपक भन्छन्, ‘पेरिस ओलम्पिकका लागि छनोट हुने गरी तयारी गर्ने छु ।’

के हो बी-बोइङ ?

बी-बोइङको हिपहप ब्याटलको रुपमा चर्चित डान्स विधा हो । जसरी र्‍याप ब्याटलमा दुई व्यक्तिबीच पद्य मिलाएर भनाभन हुन्छ, त्यसरी नै नृत्यको माध्यमबाट भनाभन गर्नुलाई बी-बोइङ ब्याटल भनिन्छ ।

थाइल्याण्डमा सन् २००९ मा भएको अन्तर्राष्ट्रिय ब्याटल प्रतियोगितामा नेपालले पहिलो पटक भाग लिएको थियो । यसले नेपालमा बी-बोइङप्रति युवाहरुको आकर्षण रह्यो । तर कठिन नृत्यविधा हुनुका साथै आर्थिक आय पनि धेरै नभएका कारण धेरैले निरन्तरता दिन सकेनन् । मेला महोत्सव र अवार्ड कार्यक्रममा प्रदर्शन देखाएर आर्थिक उपार्जन गर्ने बी-बोइङ क्रूलाई पनि कोरोना महामारीले असर गर्‍यो ।

अहिले ओलम्पिकमै यो खेल समावेश हुनु र नेपाली खेलाडीले ओलम्पिक तयारीका लागि छात्रवृत्ति पाउनुले बी-बोइङप्रति आकर्षण बढाउने अपेक्षा छ । नेपालमा बी बोइङ गर्नेहरुका लागि नेपाल ब्रेकिङ एण्ड डान्स स्पोट्र्स एसोसिएसन छ । २०७५ सालमा स्थापना भएको यही संघमार्फत नेपालबाट अन्तर्राष्ट्रिय सहभागिता हुनेछ ।

पेरिस २०२४ मा ब्रेकिङ डान्स अन्तर्गत महिला र पुरुषतर्फ एक-एक इभेन्ट समावेश छ, जसमा १६ बी बोइज र १६ बी गल्र्सले सोलो ब्याटलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धीले यस ब्याटलमा, विन्डमिल्स, सिक्स स्टेप र पि|mजहरु जस्तो ‘पावर मुभ्स’ देखाउनुपर्नेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?