+
+

दल दर्ता, उम्मेदवारीदेखि मतदानसम्मका कार्यक्रम कसरी अघि बढ्छन् ? ६ जिज्ञासा र जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते २०:०२

१९ साउन, काठमाडौं ।  सरकारले ४ मंसिर २०७९ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणा गरेको छ । त्यो दिन दुई सभाका प्रत्यक्ष र समानुपातिक पद्धतितर्फका मतदाताहरुले चारपटक मतदान गर्नेछन् । ४ मंसिरको चुनावभन्दा अगाडि कस्ता प्रक्रिया सुरु हुन्छन् भन्नेबारे अनलाइनखबरले यो जिज्ञासा र जवाफ तयार पारेको छ ।

१. चुनावभन्दा अगाडि केकस्ता प्रक्रिया चल्छन् ?

निर्वाचन आयोगले सरकारले निर्वाचनको मिति घोषणा गर्नुभन्दा पहिलेदेखि नै तयारीका अनौपचारिक काम गरिरहेको जनाएको छ ।

‘आयोगले निर्वाचनको तयारीका लागि क्षेत्रगत रुपमा आन्तरिक तयारीका काम गरिरहेको छ’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइनखबरसँग भने, ‘निर्वाचनको मिति घोषणा हुनासाथ सरकारले आयोगलाई औपचारिक पत्र पठाउँछु । त्यसपछि आयोगले पनि काम थाल्छ ।’

मन्त्रिपरिषदको बैठक प्रमाणीकरण गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोगलाई निर्वाचनबारे पत्र पठाउनुपर्छ ।

निर्वाचनको मिति घोषणापछि आयोगले केही प्रक्रियागत कामहरु गर्नुपर्छ । त्यस्ता काम तत्काल सुरु हुने प्रमुख आयुक्त थपलियाले बताए । निर्वाचनको मिति घोषणा गरी मतदानको दिनसम्म करिव १२० दिन आवश्यक पर्ने भए पनि सरकारले ढिलो गरी मिति घोषणा गरेको हो ।

१० मंसिरपछि हिमाली जिल्लाहरुमा चिसोका कारण मतदान गर्न कठिन हुने भनी आयोगले ध्यानाकर्षण गराएपछि सरकारले ४ मंसिरमा निर्वाचनको मिति घोषणा गरेको हो ।

२. मतदाता नामावलीको तयारी कसरी हुन्छ ?

मिति घोषणा भएको पत्र पाउनासाथ निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गर्छ । मिति घोषणापछि मतदाता नामावली संकलन गर्न मिल्दैन ।

अहिले अरु जिल्लाबाट आफ्नो स्थायी ठेगाना रहेको जिल्लामा समेत मतदाता नामावली संकलन गर्न मिल्ने व्यवस्था गरिएको छ । कतिपयले बसाइँसराईका कागजातका आधारमा अर्को ठाउँमा समेत मतदाता नामावली कायम गर्न आवेदन दिएका छन् ।

आयोगले एक साताभित्र अरु जिल्लाबाट संकलन भएका विवरण सम्बन्धित जिल्लामा पठाउने काम थाल्नेछ । जिल्लाले अद्यावधिक गरेर सबै विवरण निर्वाचन आयोगमा पठाउँछ । अनि आयोगले फेरि सम्बन्धित स्थानीय तहमा पठाएर अद्यावधिक गरेर त्यसलाई अन्तिम रुप दिन्छ । मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा अन्तिम रुप दिने कामका लागि ४०–५० दिन लाग्छ ।

३. मतदानस्थल र केन्द्र निर्धारण कसरी हुन्छन् ?

अघिल्लो निर्वाचनका क्रममा मतदानस्थल तथा मतदान केन्द्रका बारेमा कयौं त्रुटि फेला परेका थिए । उदाहरणका लागि केही ठाउँका मतदाता ३/४ घण्टा हिँडेर पनि मतदात केन्द्रमा पुग्न सकेका थिएनन् भने केहीमा अनावश्यक ठाउँमा समेत मतदान केन्द्र थिए ।

फरक वडाका समेत दुई फरक मतदानस्थल एकै ठाउँमा हुँदा निर्वाचन सुरक्षाको दृष्टिकोणले असहज स्थिति बनेको थियो । निर्वाचन आयोगले त्यही त्रुटि सच्याउन यसपालि निर्वाचनको मिति घोषणा नहुँदै मतदानस्थल र मतदान केन्द्र पुनरावलोकनको तयारी गरिसकेको छ ।

निर्वाचन आयोगका अनुसार, बढीमा २/३ दिनमा मतदानस्थल र केन्द्रबारे पुनरावलोकन भएर प्रतिवेदन आयोगमा आइपुग्नेछ । मतदानस्थलको सिफारिसको काम हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले गर्छ । त्यो समितिमा राजनीतिक दलका प्रतिनिधि लगायतहरु हुन्छन् । निर्वाचन आयोगले स्थानीय निर्वाचनको तुलनामा केही ठाउँमा मतदानस्थल र केन्द्रसमेत थप्ने तयारी गरेको छ ।

४. चुनावका लागि दल दर्ता कहिले हुन्छ ?

निर्वाचन आयोगले मिति घोषणा भएको केही दिनमै दल दर्ताको तयारी थाल्ने योजना बनाएको छ । सम्भवतः सोमबार वा मंगलबारभित्र प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनका लागि दल दर्ताको आह्वान हुनेछ ।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुले निर्वाचन प्रयोजनका लागि फेरि आयोगमा दर्ता हुनुपर्ने व्यवस्था छ । दर्ता नभएका दलहरु निर्वाचनमा भाग लिन पाउँदैनन् । आयोगले प्रतिनिधिसभा र प्रदशसभाको समानुपातिक निर्वाचनका लागि समेत दलहरुलाई आह्वान गर्छ । त्यसरी दर्ता भएका दलहरुको निर्वाचन चिह्नमात्रै समानुपातिकतर्फको मतदाता नामावलीमा प्रकाशित हुन्छ ।

५. समानुपातिक तर्फको बन्दसूची कहिले तयार पारिन्छ ?

यसपालि निर्वाचनका लागि करिव १०५ दिनको समयावधि भएपनि निर्वाचन आयोगले करिव ३ महिनामात्रै पाउने देखिन्छ । किनभने यो बीचमा दशैंको एक साता र तिहारको केही दिन विदाका बीचमा समेत निर्वाचनको तयारी गर्नुपर्छ ।

चाडबाडको बीचमा काम गर्नुपर्ने भएकाले आयोगले दशैंअघि सामानुपातिक तर्फको बन्दसूचीको काम सक्नेगरी तयारी थाल्ने योजना बनाएको छ ।

आयोगका एक सहसचिवका अनुसार, दल दर्ताको काम सकिएलगत्तै राजनीतिक दलहरुलाई समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउन सार्वजनिक आह्वान हुनेछ । दलहरुले त्यसका लागि करिव दुई साताको अवधि पाउनेछन् ।

समानुपातिकको सूची बुझाएपछि त्यसमा दावीविरोध, छानविन र अरु काम गरेर घटस्थापना सेरोफेरोको समयमा अन्तिम नामावली (बन्दसूची) प्रकाशित गर्ने आयोगको योजना छ ।

‘समानुपातिकपछि हामीले प्रत्यक्षतर्फ मनोनयनदेखि अन्तिम नामावली प्रकाशन गर्नुपर्छ’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘त्यसका लागि पनि दशैंअघि समानुपातिकको काम गर्नुपर्छ । दशैंलगत्तै प्रत्यक्ष निर्वाचनको मनोनयनका कामहरु टुंग्याउनुपर्ने हुन्छ ।’

यसपालि १० असोजमा घटस्थापना पर्छ भने १९ गते विजया दशमी छ । निर्वाचन आयोगले तयार पारेको अनौपचारिक खाका अनुसार, दशैं विदालगत्तै उम्मेदवारको मनोनयन सुरु हुन्छ भने एक साताभित्र त्यसलाई टुंग्याउनुपर्ने हुन्छ ।

कात्तिक लाग्नासाथ उम्मेदवारले निर्वाचनको प्रचारप्रसार गर्न पाउनेगरी आयोगले निर्वाचन तालिका बनाउनेछ । कात्तिकभर प्रचारप्रसार गर्न पाउने उम्मेदवारले मंसिर लाग्नासाथ सुरु हुने मौन अवधिअघि त्यो सुविधा पाउनेछन् ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि कम्तीमा एक महिनाको समय दिनुपर्ने हुन्छ । स्थानीय तहको निर्वाचनको तुलनामा ठूलो भौगोलिक क्षेत्र हुने भएकाले उम्मेदवारलाई एक महिना दिने चलन हुन्छ । त्यसमाथि उम्मेदवारको अन्तिम नामावली टुंग्याएपछि मात्रै हरेक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतपत्र छाप्नुपर्ने भएकाले पनि एक महिनाको अवधि चाहिन्छ ।

६. मतपत्र छपाइदेखि कार्यविधिसम्मका लागि निर्वाचन आयोगको तयारी कस्तो छ ?

अहिले करिव एक करोड ७७ लाख मतदाता पुग्ने अनुमान छ । निर्वाचन आयोगले त्यसमा थप केही मत जगेडा राख्नुपर्ने भएकाले दुई करोड मतपत्र छाप्नुपर्छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि चार प्रकारको ८ करोड मतपत्र छाप्नुपर्ने भएकाले पनि आयोगले पहिले समानुपातिकनिर्वाचन पद्धतितर्को काम काम टुंग्याएर प्रत्यक्षतर्फको मतपत्र छाप्नेछ । प्रमुख आयुक्त थपलिया दशैंअघि समानुपातिकको मतपत्र छापिने अनुमान गर्छन ।

निर्वाचन आयोगले यो अवधिमा निर्वाचनमा हुने खर्चको आर्थिक कार्यविधि बनाउनेदेखि अरु आवश्यक निर्देशिकाहरु तयार गर्छ । निर्वाचनमा खटिने जनशक्तिको खाका तयार गर्नेदेखि अन्य कामहरु थाल्छ । खरिददेखि निर्वाचन सामग्री वितरणसम्मका काम यो अवधिमा हुनेछन् ।

‘सहजताका साथ काम होस् भनेर पहिले आयोगले १२० दिनको निर्वाचन कार्यतालिका बनाएको थियो’ प्रमुख आयुक्त थपलियाले भने, ‘त्यसलाई घटाएर आयोगले करिव सय दिनको तालिका बनाउँछ । करिव १०५ दिन बाँकी छ । आयोगले सहजताका साथ निर्वाचन सम्पन्न गराउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?