+
+

सेलिब्रिटीको विदेश दौडाहा, दशैंसम्मै व्यस्त तालिका

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १८:४६

काठमाडौं । कोरोना महामारीले पछिल्लो तीन वर्ष विदेशका कार्यक्रम ठप्प थिए । स्टेजदेखि मेलापर्व पनि हुन सकेनन् । डायस्पोरा त पूर्ण रुपमा शिथिल नै रह्यो । यसबीच सेलिब्रिटी फुर्सदिला बने ।

डायस्पोरा तंग्रिन थालेपछि सेलिब्रिटीलाई अहिले फुर्सद छैन । यतिबेला मुलुकका आधाजसो कलाकार विदेशमा छन् । नजिकिएको दशैंसँगै विदेशस्थित नेपाली समुदायमा कार्यक्रम हुन थालेपछि सेलिब्रिटीको डिमान्ड निकै उच्च छ ।

गायन, फिल्म र फेसन क्षेत्रका अधिकांश कलाकार अहिले विदेश दौडाहामा छन् । संगीत क्षेत्रका त ९० प्रतिशत नै भन्दा फरक पर्दैन । गायक-गायिकादेखि ब्यान्डको कन्सर्टको लाइनअप दशैं-तिहारसम्मै व्यस्त छ । र्‍यापर भिटेनदेखि पछिल्लो छिमलकी गायिका रचना रिमालसम्मको विदेश दौडाहा केही महिनासम्म पूर्णतः व्यस्त छ ।

रचनासहित पशुपति शर्मा, अस्मिता अधिकारी, महेश काफ्ले, राजु लामा, प्रमोद खरेल, सविन राई र उनको ब्यान्ड, भिटेन, लाउरे, नेपहपको श्रीपेचको टोली, मुक्ति एण्ड रिभाइभल, सज्जनराज वैद्यदेखि अन्य धेरै संगीतकर्मी यतिबेला विदेशमा छन् ।

तिहारसम्मै यीसहित अन्य संगीतकर्मीको विदेश तालिका व्यस्त छ । राजेशपायल राईलाई सबैभन्दा धेरै विदेश दौडाहामा जाने कलाकार मानिन्छ । बिहीबार आयोजित द भ्वाइस अफ नेपाल सिजन ४ को पत्रकार सम्मेलनमा पनि राईले यही प्रश्नको सामना गर्नुपर्‍यो ।

तपाईं विदेशमा गइरहने मान्छे, तपाईं नेपालमा टुरिस्टजस्तो देखिनुहुन्छ । अब कसरी रियालिटी शो र विदेशको समयलाई मिलाउनुहुन्छ ? राजेशपायलको उत्तर थियो, ‘म दुवैलाई सन्तुलन मिलाउँछु ।’

र्‍यापर भिटेनले त दशैंसम्म आफूलाई कुनै फिल्म र कार्यक्रममा प्रस्ताव नगर्न आग्रह गरेका छन् । भिटेनको यही आग्रहको कारण दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘रत्नपार्क’को सुटिङ अहिले होल्डमा छ ।

निर्माता नवराज गिरीका अनुसार भिटेनले दशैंसम्म पर्खन भनेपछि आफूहरुले पर्खिएको बताए । पछिल्लो समय र्‍यापरको समेत विदेशबाट माग हुन थालेपछि भिटेन, लाउरे लगायत व्यस्त छन् ।

एक कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने क्रममा अभिनेत्री स्वस्तिमा खड्का लगायत

केही महिना पहिले जी-बबले अस्ट्रेलिया तताएका थिए । र्‍यापर डीएनएक्स, भाइबर साइमनसहितको टोली मध्यपूर्वको कन्सर्टमा छ । आगामी तिहारसम्म कलाकारले विदेशमा राम्रो कमाउने मेसो पनि हो ।

यति मात्र होइन कलाकारहरु परमिता राणा, अदिती बुढाथोकी, क्रिस्टिना गुरुङ, प्रदीप खड्का भारतमा भएका कार्यक्रममा छन् । मिस नेपाल प्रियंकारानी जोशी, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सञ्जोग कोइराला मिस नेपाल उत्तर अमेरिकामा भाग लिन अमेरिकामा छन् ।

अभिनेत्री केकी अधिकारी आफू अभिनित फिल्म ‘झिंगेदाउ’ प्रचारको छेकोमा आगामी साता अमेरिका जाँदैछिन् । उनी त्यहाँ हुने नेपाली टीभी रियालिटी शोकी निर्णायक समेत हुन् । यस वर्ष नेपाली कलाकारको विदेश दौडाहा अझै व्यस्त हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?