+
+

राजनीतिमा २–३ वटा प्रयोग त गर्‍यौं, अझै धेरै परीक्षण गर्नुपर्छ : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते १४:०४

२१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा आफूहरुले दुई/तीनवटा प्रयोग गरेको, तर यसले मात्र परिणाम दिन नसकेको बताए ।

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने धारणा राखे ।

‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबट गुज्रेर मात्र पुष्टि हुन्छ । दुई÷तीनवटा प्रयोग त हामीले ग¥यौं, तर त्यसले मात्र हामीले खोजेको जस्तो परिणाम दिइराखेको छैन’ भट्टराईले भने, ‘नेपाली समाजको जटिलता, जटिल भू राजनीति छ, अन्तर्राष्ट्रिय परिवेश छ । त्यसमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ । यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौं ।’

भट्टराईले आफूहरुले फेरि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको बताएका छन् ।

‘हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ । तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ’ उनले भने ।

भट्टराईले सजिलो बाटो त जो पनि हिँड्न सक्ने भन्दै समस्या समाधानका लागि अप्ठेरो बाटो हिँड्नुपर्ने बताए । ‘सजिलो बाटो त जो पनि हिँड्छ । समस्याहरुको समाधानका लागि असजलो बाटो हिँड्ने हिम्मत र साहस गर्नुपर्छ । हामीले हिम्मत र साहस गरेका छौं, त्यो धेरै कठिन देखिन सक्छ ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले जनता समाजवादी पार्टीलाई रुपान्तरण गर्ने आफूहरुको प्रयास असफल भएको बताए । जसपा पुरानै र क्षेत्रीय पार्टी नै बन्न चाहेको बताए । ‘त्यहाँ परिस्थिति यस्तो सिर्जना भयो, जो नेतृत्वमा रहेका मानिसहरु थिए उनीहरु जातिगत, क्षेत्रगत संकीर्णता भन्दा माथि उठेर जान चाहेनन्’ भट्टराईले भने ।

उनले अघि भने, ‘अब जनता समजवादी पार्टी यस्तो क्षत्रीय पार्टीमा, संकीर्ण दलमा रुपान्तरण र पतन भएको छ । उसले वैकल्पिक राजनीतिको कार्यभार पूरा गर्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?