+
+

तलब वृद्धिमा अधिकृत र नायब सुब्बामा विभेद गरेपछि तरंग

अमृत चिमरिया अमृत चिमरिया
२०७९ साउन २३ गते १६:१९

२२ साउन, काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो ।

तर बजेटको घोषणा एकातिर तलब वृद्धिको निर्णय अर्कोतिर भएपछि सोमबार नायब सुब्बा स्तरका कर्मचारीले मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै आन्दोलन गरे ।

अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीको तलब वृद्धिदर कम हुने गरी तलब वृद्धिको नयाँ प्रस्ताव गरिएको भन्दै उनीहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेटे सच्याउन दबाव दिए ।

कर्मचारीको तलव वृद्धिबारे अर्थ मन्त्रालयले मन्त्रिपरिषदलाई गरेको सिफारिस बाहिरिएपछि अधिकृतदेखि तल्लो तहका कर्मचारीले आफूहरुमाथि विभेद भएको थाहा पाएका थिए ।

गत असार मशान्तसम्म शाखा अधिकृतको सुरुको तलब स्केल ३७ हजार ९९० थियो । बजेटमा घोषणा गरेअनुसार १५ प्रतिशत तलब वृद्धि हुँदा ४३ हजार ६८८ पुग्थ्यो । तर मन्त्रिपरिषदबाट निर्णयका लागि अर्थ मन्त्रालयले पठाएको प्रस्तावमा शाखा अधिकृतको तलब ४७ हजार २०८ उल्लेख गरिएको छ । अर्थात शाखा अधिकृतमा गत वर्षको तलब भन्दा २४.२६ प्रतिशत वृद्धि गरिएको छ । जुन बजेटले घोषणा गरेको १५ प्रतिशत वृद्धि भन्दा बढी हो ।

अर्थमन्त्रालयले अन्तिम निर्णयको लागि पठाएको तलबमान अनुसार उपसचिवको सुरु स्केल ५२ हजार २७९ छ । जुन गत वर्षको तलब स्केल भन्दा २३.३५ प्रतिशतले बढी हो । सहसचिवको सुरु स्केल ६१ हजार ५० छ, अर्थात गत वर्षको भन्दा २३.६३ प्रतिशतले वृद्धि गरिएको छ । सचिवको सुरु तलब ७४ हजार २२१ रहेको छ, जुन गत वर्षको भन्दा १८.२१ प्रतिशतले बढेको हो ।

अर्थ मन्त्रालयले पठाएको तलब वृद्धिदर (सूचना)

सरकारले कर्मचारीको तलब एकमुस्ट १५ प्रतिशतले वृद्धि गर्दा मुख्य सचिवको तलब १० हजार ७१ रुपैयाँ बढेको छ भने खरिदारको तलब ४ हजार २९१ रुपैयाँ मात्र बढेको छ । १५ प्रतिशत मात्र वृद्धि गर्दा मुख्यसचिवको तलब ६७ हजार १४० बाट ७७ हजार २११ रुपैयाँ पुगेको छ भने खरिदारको तलब २८ हजार ६१० बाट बढेर ३२ हजार ९०१ रुपैयाँ पुगेको छ ।

तर सरकारले पदीय मर्यादा मिलाउने भन्दै उच्च तहका कर्मचारीको तलबको वृद्धिदरसमेत बढाएपछि नायब सुब्बा र खरिदार तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
साउन १ देखि कर्मचारीले तलब बाहेक महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता, हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत पाउँछन् ।

साउन १ गते बढेको तलब (ग्राफिक्स)

नायव सुब्बा तहका कर्मचारी मंगलबार बिदामा बस्ने घोषणा समेत गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संगठन विकास महाशाखा शाखा अधिकृत हरि नारायण शर्माका अनुसारमा संघीय सरकार अन्तर्गत नायव सुब्बाको १४ हजार २५ जनाको दरबन्दी रहेको छ । यस्तै ७ हजार ४ सय २१ जना खरिदार रहेका छन् ।

अर्थमन्त्रीको आश्वासन

अर्थमन्त्री जनार्दन शर्माले भने बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने अश्वासन दिएका नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

आन्दोलित कर्मचारीका नेताले अर्थमन्त्रीलाई भेटेर तलब वृद्धिको नयाँ प्रस्ताव सच्याउन दबाव दिएका थिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?