+
+

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते २०:२७

२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ ।

प्रभाकरमाथि खेल मिलेमतोको आरोपसमेत छ । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई भारतीय टिमबाट खेल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लाग्नुअघि उनले भारतका लागि ३९ टेष्ट र १३० ओडीआई क्रिकेट खेलेका थिए ।

यस्तै सन् २०११ मा रणजी ट्रफीका लागि दिल्लीको प्रशिक्षक रहेका उनले खेलाडी र छनोटकर्ताको आलोचना गरेका थिए । त्यसपछि उनी रणाजी ट्रफी सुरु हुनु दुई दिनअघि बर्खास्तीमा परेका थिए ।

उनी २००८ बलिङ कोच रहेका बेला दिल्लीले रणजी ट्रफी जितेको थियो । सन् २०१५ मा अफगानिस्तानको बलिङ कोच रहेका उनले २०१६ को टी-२० विश्वकपमा पनि प्रशिक्षण दिए । अफगानिस्तानको प्रशिक्षकबाट हटेको ७ वर्षपछि उनले नेपाली टिमलाई प्रशिक्षण दिने मौका पाएका हुन् ।

प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु ।’

क्यानले प्रभाकरलाई करिब १५ हजार डलरमा अनुबन्ध गरेको हो । यसअघि पुबुदलाई १२ हजार डलर पारिश्रमिक दिएको क्यानले खोजेको जस्तो राम्रो र अनुभवी प्रशिक्षक पाएमा राम्रो पारिश्रमिक दिने बताएको थियो ।

छिमेकी भारतको उत्तर प्रदेशका प्रभाकर आफ्नो समयमा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ दुवै गर्न सक्ने खुवीका खेलाडी थिए ।

केन्या भ्रमणका लागि छिट्टै टिम घोषणा गरिने

प्रशिक्षक नियुक्त भएपछि अब छिटै टिम घोषणा हुने क्यानले जनाएको छ । क्यान सचिव प्रशान्त मल्लले केही दिन भित्रै प्रशिक्षक प्रभाकर नेपाल आउने जानकारी दिए । साथै उनले टिम पनि छिटै घोषणा हुने बताए ।

‘अब प्रशिक्षक केही दिनमा आइपुग्नुहुन्छ । अनि प्रशिक्षण पनि सुरु हुन्छ । टिम पनि चाँडै घोषणा हुन्छ’, मल्लले अनलाइखबरसँग भने । केन्या क्रिकेटको प्रस्तावमा हुने केन्या भ्रमण प्रभाकरको नेपालको मुख्य प्रशिक्षकका रुपमा पहिलो सिरिज हुने छ ।

केन्या भ्रमणको बन्दोवस्त मिलाउन क्रिकेट केन्याका अध्यक्ष मनोज पटेल केही दिनअघि नेपालमै आएका थिए । नेपालले अगष्ट अन्त्यमा केन्या भ्रमण गर्ने लगभग पक्का छ । त्यसको निर्णय पनि केही दिनमा सार्वजनिक हुने सचिव मल्लले जानकारी दिए ।

क्यानका अनुसार नेपालले केन्यासँग पाँच टी-२० आई म्याच खेल्नेछ । तीनवटा ५० ओभरको अभ्यास खेल समेत खेल्नेछ । नेपालको केन्या भ्रमणको सबै खर्च क्रिकेट केन्याले नै बेहोर्ने मनोज पटेलले बताइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?