+
+

शिक्षक बने मेयरको पीए, विद्यालयमा खेताला !

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन २४ गते १८:२३

२३ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले स्थायी शिक्षकलाई मेयरको सचिवालयमा बोलाएर विद्यालयमा खेतला शिक्षक पठाएको छ । प्राथमिक तहका शिक्षक डिकप्रसाद घिमिरेलाई मेयर नागेश कोइरालाको सचिवालयमा काज सरुवा गरेर विद्यालयमा खेताला (सट्टा शिक्षक) पठाएको हो ।

महेन्द्र माध्यमिक विद्यालयका प्राथमिक तहका स्थायी शिक्षक घिमिरेलाई गत जेठमा मेयर कोइरालाले आफ्नो सचिवालयमा ल्याएका हुन् । घिमिरेको स्थानमा करार नियुक्त भएका शिक्षकलाई महानगरपालिकाको कार्यालयले तलब खुवाउनेछ ।

महेन्द्र माध्यमिक विद्यालयकै प्राथमिक शिक्षिका अन्जु खड्का पनि प्रदेश १ योजना आयोगमा काज सरुवा लिएर गएकी छन् । खड्काको गत चैतमा योजना आयोगमा काज सरुवा भएको थियो ।

राजनीतिक पहुँचका आधारमा काजमा गएका शिक्षकको स्थानमा विद्यालयले दुई जना सट्टा शिक्षकलाई करारमा नियुक्त गरेको महानगरपालिकाले बताएको छ । दुई शिक्षकको आवश्यकताका आधारमा काज सरुवा भएपछि विद्यालयमा सट्टा शिक्षक राखिएको विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए ।

दुई जना शिक्षकलाई काज सरुवा गरेर शिक्षक लाइसेन्स प्राप्त गरेका दुई जनालाई नियुक्त गरिएको उनको भनाइ छ । उनका अनुसार नियुक्त भएका एक शिक्षकको तलब महानगर र अर्काको तलब प्रदेश सरकारले उपलब्ध गराउनेछ ।

मेयरको सचिवालयमा आवश्यक भएपछि घिमिरेलाई ल्याएको बताउँदै खतिवडाले भने ‘महानगरका कर्मचारी सचिवालयमा हुँदा अधिकृत स्तरको हुन्थ्यो, सुब्बा तहका प्राथमिक तहका शिक्षकलाई अहिले राखिएको छ ।’

विद्यालयका प्राधनाध्यापक शम्भु साहले दुई शिक्षक काजमा गएपछि दुई जनालाई करारमा नियुक्त गरिएको बताए । उनका अनुसर अञ्जु खड्का गत चैतमा र घिमिरे गत जेठमा स्कुलबाट काजमा गएका थिए ।

उनका अनुसार प्राथमिक तहमा सपनाकुमारी यादव र सुलेखा साह नियुक्त भएका छन् । उनीहरुको नियुक्ति केही दिनअघि मात्रै भएको हो । ‘दुई जना शिक्षक काजमा गएपछि उहाँहरुको स्थानमा दुई जना शिक्षकलाई नियुक्त गरिएको छ’, उनले भने, ‘सार्वजनिक विज्ञापन गरेर भर्खरै नियुक्त गरिएको हो ।’

प्रदेश योजना आयोगका सूचना अधिकारी अम्बिका रेग्मीका अनुसार आयोगमा शिक्षक अञ्जु खड्काको जिम्मेवारी सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रदेशसभा हेर्ने गरी दिइएको छ । चैत तेस्रो साता अयोगमा हाजिर भएकी खड्कालाई वैशाख पहिलो साता जिम्मेवारी दिइएको थियो ।

घिमिरेले मेयर नागेश कोइरालाको जनसम्पर्क हेर्ने गरी सचिवालयमा जिम्मेवारी पाएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?