+
+
फिल्म समीक्षा :

डार्लिङ्स : बदलाको कथा, जहाँ महिला र पुरुष दुवै पीडित छन्

विष्णु शर्मा विष्णु शर्मा
२०७९ साउन २५ गते १४:२४

एक जँड्याहा लोग्ने जसलाई हरेक रात आफ्नी पत्नीलाई कुटेकोमा कुनै पछुतो छैन । पत्नी चाहिं पुरुष हिंसालाई टाउकोमै बोकेरै भए पनि माया दर्शाइरहेकी हुन्छिन् ।

शरीरमा चारैतिर चोट हुँदाहुँदै पनि हरेक बिहान पतिको लागि अम्लेट तयार पार्न पत्नीलाई कुनै समस्या छैन । यो दृश्य भारतीय परिवारमा हरेक बिहान देखिन्छ, तर यसको चर्चा बिरलै हुन्छ ।

डार्क कमेडी फिल्मको लागि घरेलु हिंसाको विषयवस्तु उठान गर्नु पक्कै सजिलो कुरा होइन, तर आलिया भट्ट, सेफाली साह र विजय बर्मा स्टारर फिल्म ‘डार्लिङ्स’ले दर्शकको दिमाग हल्लाउँछ ।

जस्मित के रीनको डेब्यु निर्देशन रहेको फिल्म विचित्र सुनिन्छ र देखिन्छ । महिला र पुरुषविरुद्ध हुने हिंसालाई कसरी सामान्यीकरण गरिएको छ भन्ने कथा यसले पेश गर्छ । यस्ताखाले गतिविधिलाई कुनै पनि तर्कले उचित ठहर्‍याउन त सकिंदैन, तर सुरुदेखि अन्तिमसम्म फिल्म हेर्दा निकै रोचक लाग्न सक्छ । कसिलो पटकथा र द्वन्द्वको विकासले दर्शकलाई गज्जबले इन्गेज गराउँछ ।

बद्रुनिशा शेख अर्थात् बद्रु (आलिया भट्ट)ले हम्जा शेख (विजय बर्मा)की पत्नी हुन् । हम्जाले सरकारी जागिर सुनिश्चित गरेलगत्तै बद्रुले ऊसँग बिहे गरेकी हुन्छिन् । बिहेपछि सडक किनारमा बेइज्जती गर्ने होस् वा मदिरा पिएर पत्नीलाई कुटपिट गर्नेसम्मको हर्कत । उनीहरुको घरमा घरेलु हिंसाको दृश्य नियमित देख्न पाइन्छ ।

कहिले खानालाई लिएर किचकिच, कहिले श्रीमानको अनुमतिबिना घरको बार्दलीमा बसेको कुरादेखि कहिले परपुरुषसँग अफेयर चलेको भन्ने आशंकालाई लिएर हम्जा बद्रुलाई कुटपिट गर्छ । गर्भवती बद्रुलाई भर्‍याङबाट खसालेपछि उनको गर्भपतनसम्म हुन्छ । दुर्व्यवहारका यी दृश्यले दर्शकलाई विचलित तुल्याउन सक्छन् जबसम्म बद्रुनिशा यसविरुद्ध खडा हुँदिनन् ।

त्यो बिन्दुबाट कसरी निम्नमध्यम वर्गीय भारतीय आमा–छोरी (सेफाली शाह र आलिया)ले आफ्ना तमाम चुनौतीको बीच मुम्बईजस्तो सहरमा बाँच्नका लागि संघर्ष गर्छन् भन्ने फिल्मले देखाउँछ ।

२ घण्टा १४ मिनेट लम्बाइको फिल्मले एकपछि अर्को रोचक खुलासा गर्छ । परविज शेखले सहलेखन गरेको फिल्मले मन छुन्छ र क्रोध, असह्य र सहानुभूतिको भावना जगाउँछ । कथाभन्दा बढी संवाद प्रभावशाली छन् । डार्क कमेडी जनराको फिल्ममा यस्ता संवादले मेल खान्छन् ।

केही वान–लाइनर र कमेडी पन्च यति सूक्ष्म ढंगले राखिएको छ कि यदि ध्यान दिइएन भने छेउको सिटमा बसिरहेको व्यक्ति किन चर्को हाँसिरहेको छ भन्ने बुझ्न सकिंदैन । उत्कर्ष दृश्य जसमा एकसाथ वेदना र हाँसो मिश्रण भएको छ ।

केही भागमा कथाले दर्शकलाई दिक्क बनाउन सक्छ, जहाँ घरेलु हिंसाका दृश्यलाई हँसाउन प्रयोग गरिएको छ । जस्तै, दुर्व्यवहारको बाबजुद पतिसँग टाँसिइरहने महिला, पश्चातापको कुनै संकेत नदेखाउने पुरुष र व्यंग्यको रुपमा देखाउने मौन अन्य पात्र ।

यो समय जतिबेला प्रगतिशील र नारी शसक्तीकरणका कथावस्तुलाई दर्शकले रुचाइरहेका छन्, डार्लिङसले तपाईंलाई सोच्न बाध्य तुल्याउँछ, के हामीलाई सन्देश दिन डार्लिङ आउनु जरुरी थियो ? घरेलु हिंसालाई सामान्य ठान्ने र मदिरालाई मात्र दोष दिने पुरुषको मानसिकता पत्ता लगाउन ध्यान नदिने र सतही स्तरमा चित्रण गर्ने फिल्म बनिरहेको बेला डार्लिङ्सको आगमन महत्वपूर्ण छ ।

यसबाहेक डार्लिङ्स केही परम्परागत चरित्रले भरिएको छ । भुइँतल्लामा रहेको ब्युटी सैलुनकी महिला जो घरेलु हिंसाविरुद्ध कुनै कार्य गर्नुको सट्टा ग्राहकसँग छलफलमा व्यस्त देखिन्छिन् । कासिम भाइ (राजेश शर्मा) जो एक विश्वासिला छिमेकी छन् र खराब कार्यलाई लुकाउन चाहन्छन् । हम्जाका धूर्त हाकिम (किरण करमकर) पनि छन्, जो अरुका व्यवसायलाई नरक तुल्याउन चाहन्छन् ।

डार्लिङ्सको अभिनय प्रस्तुति प्रिय लाग्छ । आलियाको पन्च लाइन, संवाद, अभिव्यक्ति र भावनात्मक विचलनले दर्शकलाई गहिरो सम्बन्ध गाँस्न मद्दत गर्छन् । उनको अघिल्लो फिल्म ‘गली ब्वाय’को सफिना पात्रसँग दर्शकले आलियालाई स्मरण पनि गर्न सक्छन् ।

आलियाकी अनस्क्रिन आमाको भूमिकामा प्रस्तुत भएकी सेफालीले अब्बल प्रस्तुति दिएकी छन् । उनका पछिल्ला फिल्म हुमन्स र जाल्सामा भन्दा उनको अभिनय बलियो देखिन्छ । आलियाको भूमिकालाई बलियो र संवेदनशील बनाउन तुल्याउन सेफालीको चरित्र चित्रण प्रभावकारी छ ।

बर्मा हम्जाको चरित्रमा प्रभावशाली लाग्छन् र उनको चरित्रलाई दर्शकले घृणा गर्न सक्छन् । उनी क्रूर र अव्यावहारिक छन्, दर्शकले उनको चरित्र महसुस गर्न सक्छन् । उनको चरित्रलाई यथार्थपरक ढंगमा लेखिएको छ । रोशन म्याथ्यु जुल्फीको रुपमा हेर्नयोग्य अर्का पात्र हुन् । आलिया र सेफालीसँग उनको चारित्रिक सम्बन्धलाई गज्जबले प्रस्तुत गरिएको छ ।

आलिया र सेफालीका चरित्रबीचको सम्बन्ध डार्लिङ्सको सबैभन्दा सुन्दर पक्ष हो । फिल्ममा दम्पतीबीचको घरेलु हिंसाको कथालाई मात्र नभई निर्माताले चलाखीपूर्ण रुपमा आमा–छोरीबीचको सम्बन्धलाई केन्द्रमा राखेका छन् । जब टेबुल पल्टिन्छ, हम्जा उसकी सासू र पत्नीबाट कुटिन्छ तब यहाँनेर पुरुष हिंसालाई पनि मजाकको रुपमा प्रयोग गरिएको देख्न सकिन्छ । निःसन्देह बद्रुका काम न्यायोचित लाग्छन्, किनभने उनमा बदला र घृणाको भाव उत्पन्न भएको छ ।

तपाईंलाई डार्क कमेडी फिल्म मन पर्छ भने ‘डार्लिङ्स’ तपाईंका लागि योग्य फिल्म हुनसक्छ । समाजको पछिल्लो वास्तविकता थाहा पाउन पनि डार्लिङ्स तपाईंको ‘वाचलिस्ट’मा पर्नसक्छ ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?