+
+

कोर एरियाको फोहोर गाईजात्राअघि नै उठाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते २०:१७

२६ साउन, काठमाडौं । काठमाडौैं महानगरपालिकाले मुख्य शहर क्षेत्रको फोहोर बिहीबार रातिदेखि नै उठाउने भएको छ । शुक्रबार गाईजात्रा पर्व परेकाले त्यसअघि नै हालसम्म थुप्रिएको फोहोर उठाउने गरी महानगरपालिकाले तयारी गरेको हो ।

बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले गाईजात्रालाई लक्षित गरी कम्तीमा कोर एरियाको फोहोर आजै उठाउनुपर्ने धारणा राखेका थिए । त्यसपछि बसेको फोहोर व्यवस्थापन समितिको बैठकले तत्कालका लागि काठमाडौंको कोर क्षेत्र (१२ वटा वडाहरु) को फोहोर बिहीबार राति नै उठाउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए ।

‘कोर क्षेत्रको फोहोर आज रातिदेखि नै उठाएर टेकुको प्लान्टमा लगेर राख्ने निर्णय भएको छ । जात्रा पर्वको लागि दुई दिनभित्र कोर क्षेत्रको फोहोर उठाउने र बाँकी क्षेत्रको फोहोर बञ्चरेडाँडामा लैजाने प्रयास गर्ने निर्णय भएको छ’ उनले भने ।

काठमाडौं उपत्यकामा शुक्रबार गाईजात्रा र शनिबार रोपाइँजात्रा मनाइन्छ । फोहोरले जात्रा सञ्चालनमा नै अवरोध हुने भएपछि महानगरपालिका अस्थायी व्यवस्थापनका लागि तयार भएको हो ।

कोर एरियाका खुला ठाउँमा मात्रै २०० टन भन्दा धेरै फोहोर जम्मा भएको महानगरको आकलन छ । उक्त फोहोर उठाएर टेकुमा व्यवस्थापन गर्न मेयर बालेन्द्र (बालेन) साह आफैं गएको प्रवक्ता मानन्धरले बताए ।

आजै काठमाडौं महानगरपालिकाको एउटा टिम बञ्चरेडाँडामा अनुगमनमा समेत गएको छ । अनुगमन टोलीले भोलिदेखि सुरक्षा टोली सहित केही फोहोर बञ्चरेडाँडामा लैजान सक्ने रिपोर्टिङ मेयर बालेनलाई गरेको टोलीमा सहभागी एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?