+
+

बझाङ घटनाको अनुसन्धानमा सीआईबीको टोली खटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १९:०८

२७ साउन, धनगढी । बझाङको बुङ्गल नगरपालिका-९ मा आमासहित दुईजना छोराछोरीसमेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार घटनाको अनुसन्धान गर्न सीआईबीको टोली बझाङ पुगेको छ ।

प्रहरी निरीक्षकले नेतृत्व गरेको उक्त निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका टोलीका समेत गरेर ६ जना सदस्यले बझाङ पुगेर अनुसन्धान थालेको अवस्थीले जानकारी दिए ।

घटनालाई गम्भीर रुपमा लिदै जिल्ला प्रहरी कार्यालयले अनुसन्धानमा प्राविधिक सहयोग मागेपछि सीआईबीको टोली आएको हो । बुधबार बिहान बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की, उनका ५ वर्षीया छोरी र ३ वर्षीय छोरा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

मृतक गीताका श्रीमान अन्दाजी २७ वर्षीय पुष्कर पार्की मंगलबार अबेर राति भारतको पिथौरागढबाट घर पुगेका थिए । गत वर्ष छिमेकीबाट जबरजस्ती करणीको सिकार भएकी श्रीमती गीतामाथि पुष्करले चरित्रको प्रश्न उठाउन थालेपछि उनीहरुको सम्बन्ध बिग्रिदै गएको थियो ।

घटना भएको राति समेत उनीहरुबीच भनाभन भएको प्रहरीलाई दिएको प्रारम्भीक बयानमा उनले बताएका छन् ।

माइती पक्षले दिए किटानी जाहेरी

मृतक गीताका माइती पक्षले उनका श्रीमान पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीकाअनुसार मृतकका काका गगन बिकले पुष्करविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दर्ता गरेका हुन् ।

किटानी जाहेरी दिएपछि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेका पुष्करलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?