+
+

श्रद्धाका आदर्श निरुता र एन्जेलिना जोली, पुष्प भन्छन्- लभस्टोरीले सन्देश पनि दिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १२:१०

काठमाडौं । आगामी भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कृष्णलीला’ गीत-संगीतले पनि चर्चामा छ । यसका गीतमाथि ६ लाखभन्दा धेरै टिकटक भिडियो बनेका छन् । युट्युब भ्युज पनि सुखद् छ ।

कृष्ण जन्माष्टमी छेकोमा रिलिज हुने फिल्मले दर्शकमा फेस्टिभल मुड पनि सेटअप गर्ने आशामा निर्माता छन् । अटिज्म प्रभावित पात्रको प्रेम र संवेदनालाई चित्रण गर्ने ‘कृष्णलीला’मा दाइजो प्रथा र रोमान्सका तत्व पनि समेटिएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै फिल्मका कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीले फिल्मलाई दर्शकले रुचाउनेमा केही ढुक्क सुनिए । भारतको कालिम्पोङबाट अभिनयमा करिअर बनाउन काठमाडौं आइपुगेकी श्रद्धाले यही फिल्मबाट डेब्यु गरेकी छन् ।

अभिनय र निर्देशन आफ्नो योजना रहेको सुनाउँदै उनी नेपाली फिल्ममै भविष्य बनाउन चाहन्छिन् । निरुता सिंह र हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई आदर्श मान्ने श्रद्धा ती दुई अभिनेत्रीजस्तै बन्न चाहन्छिन् । जोलीजस्तै एक्सन र हरर फिल्म उनका मनपर्ने जनरा हुन् ।

श्रद्धा भन्छिन्, ‘एउटा फिल्म गर्ने र हराउने सोच छैन । पछिसम्म काम गरे पनि उद्योगमै रहन्छु । म एन्जेलिना जोलीकै एक्सन फिल्मबाट प्रभावित छु । त्यस्तै फिल्म गर्न चाहन्छु । अहिले क्यामेरा अघि नै काम गर्छु । पछि गएर निर्देशनमा काम गर्न मन छ ।’

श्रद्धालाई लाग्छ, सानो बजेटमा जसरी ‘कृष्णलीला’ निर्माण भयो, उसैगरी राम्रा कन्टेन्टमा फिल्म बनाउन सकिए बलिउड र दक्षिण भारतीय फिल्मलाई पनि चुनौती दिन सकिन्छ । पछिल्लो समय महिलालाई मुख्य चरित्रमा लिएर फिल्म बनेको देख्दा आफू आनन्दित हुने श्रद्धाको भनाइ छ ।

फिल्ममा पुष्पले अटिज्म पीडित युवकको भूमिका निर्वाह गरेका छन् । आफ्नै परिवारको भोगाइलाई समेत समेटेर फिल्मको कथावस्तु बुनिएको र मुख्य चरित्र निर्वाह गर्दा मेहनत गर्नुपरेको स्मरण उनी गर्छन् । पुष्पलाई लाग्छ, हरेक प्रेमकथा बन्ने फिल्मको उद्देश्य मनोरञ्जन मात्र हुँदैन ।

उनी भन्छन्, ‘प्रत्येक लभस्टोरी मनोरञ्जनको लागि मात्र बनेको हुँदैन, सन्देशको लागि पनि बनेको हुन्छ । समाजमा जन्मिएको अटिज्म पीडित पात्र र कथालाई पस्किन लागेका हौं । दर्शकले नयाँ महसुस गर्न पाउनुहुन्छ । संगीत र यिनै कारणले दर्शक हलमा आउनुहुन्छ भन्ने लाग्छ ।’

गफगाफमा पुष्प र श्रद्धा एकअर्काको प्रशंसामा खनिए । श्रद्धालाई पुष्प प्रेरणादायी, दयालु र काममा प्रतिबद्ध मान्छे लाग्छ । पुष्पलाई चाहिं श्रद्धा विश्वसनीय र डाउन टु अर्थ । ‘केटी मान्छे हुँ भनेर धैरले एक्सक्युज गरेको देख्छु । उसमा त्यो छैन । यी चीज लामो समयसम्म रहेमा उसको भविष्य उज्वल छ,’ पुष्प भन्छन् ।

फिल्म कृष्णलीलालाई दीपक वलीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?