+
+

‘अस्पतालमा आवश्यकताभन्दा बढी उपकरण छन्’

स्वास्थ्य सेवा विभागको पूर्वाधार विकास शाखाले गरेको अनुगमन अनुसार विभिन्न अस्पतालमा उपकरण चाहिनेभन्दा बढी भेटिए । यतिसम्म कि ती राख्ने ठाउँसम्म पनि थिएन । तर, सञ्चालन गर्न सक्ने जनशक्तिको कमी थियो ।

डा. झलक गौतम, स्वास्थ्य सेवा विभाग डा. झलक गौतम, स्वास्थ्य सेवा विभाग
२०७९ साउन ३० गते १२:००

स्वास्थ्य प्रणालीलाई व्यवस्थित गर्न विश्व स्वास्थ्य संगठनले ६ वटा पक्षलाई महत्व दिएको छ । यी हुन्- सेवा प्रवाह, स्वास्थ्य जनशक्ति, स्वास्थ्य सूचना प्रणाली, आवश्यक औषधि र प्रविधिमा पहुँच, वित्तीय व्यवस्था, नेतृत्व र सुशासन । यिनै कुरालाई आधार मानेर मात्रै स्वास्थ्य प्रणाली कस्तो अवस्थामा छ भन्ने मूल्यांकन गर्न सहज हुन्छ ।

नेपालमा आधुनिक चिकित्सा प्रणालीको प्रवेशसँगै चिकित्सा सेवामा प्रयोग हुने नयाँ प्रविधियुक्त चिकित्सकीय उपकरणहरूको पनि प्रवेश भएको पाइन्छ । पहिले-पहिले अस्पतालमा उपकरण हातले चलाउनुपर्ने परम्परागत खालका हुन्थे भने आजभोलि प्रयोग हुने उपकरणहरू अत्याधुनिक प्रविधियुक्त हुने गरेका छन् ।

त्यसैले यस्ता उपकरण सञ्चालनका लागि सोही प्रविधिसँग परिचित र प्रशिक्षित छुट्टै जनशक्ति आवश्यक पर्छ । परम्परागत प्रविधिमा अभ्यस्त जनशक्तिले तालिम विना यी उपकरणहरू सञ्चालन गर्न सक्दैन ।

कोरोना महामारीमा आईसीयूमा प्रयोग हुने भेन्टिलेटरलगायत अन्य धेरै उपकरण विभिन्न देशबाट अनुदानमा आए । यस्ता उपकरणलाई हामीले कुनाकाप्चामा रहेका स्वास्थ्य संस्थासम्म पठायौं ।

हाल सबै तहका स्वास्थ्य संस्थाहरूमा विभिन्न खालका स्वास्थ्य उपकरणहरूको अभिलेख राख्ने पद्धतिको विकास भएको छ । नेपालमा अर्बौं रुपैयाँ बराबरका उपचारका लागि प्रयोग हुने उपकरण सरकारी तथा निजी अस्पतालमा भित्रिएका छन् ।

सरकारी अस्पतालहरूमा संघ, प्रदेश र स्थानीय तहले वाषिर्क केही अर्ब रुपैयाँ उपकरण खरिदमा खर्च गर्छ । तर, त्यस्ता सबै उपकरण सही किसिमले सञ्चालनमा आएका छैनन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको पूर्वाधार विकास शाखाले आर्थिक वर्ष २०७७/७८ मा जिल्ला तथा प्रादेशिक गरी ५० वटा अस्पतालमा अनुगमन गरेको थियो । ती अस्पतालमा उपकरण सञ्चालन नहुनुमा विभिन्न समस्या देखिएका थिए ।

केही वर्ष अगाडि नेपालमा भएको एउटा अध्ययनले ६० प्रतिशतभन्दा बढी उपकरण काम नलाग्ने अवस्थामा भेटिएको देखाएको थियो । तर, केही समयपछि तिनै उपकरणलाई दक्ष जनशक्ति पठाएर मर्मत गरिसकेपछि ९९ प्रतिशत पुनः सञ्चालनमा आएका थिए । अन्तर्राष्ट्रिय क्षेत्रका अन्य अध्ययनले पनि विकासोन्मुख मुलुकका स्वास्थ्य संस्थाहरूमा प्रयोग गरिएका ५० प्रतिशतभन्दा बढी उपकरण मर्मत गर्नसक्ने दक्ष जनशक्तिको अभावमा बिगि्रएको अवस्थामा भेटिएको देखाएका छन् ।

स्वास्थ्य सेवालाई गुणस्तरीय र पहुँचयोग्य बनाउन, स्वास्थ्य जनशक्तिलाई काम गर्ने वातावरण तयार गर्न, स्वास्थ्य उपचारमा लाग्ने व्यक्तिको खर्च जोगाउन पनि चिकित्सकीय उपकरणहरू सही अवस्थामा हुनुपर्छ

कोरोना महामारीको अवधिमा झन् धेरै अत्याधुनिक उपकरण नेपाल भित्रिए र हाम्रा विभिन्न अस्पतालमा पठाइए । तर, ती सबै उपकरण सबै ठाउँमा यथोचित सञ्चालनमा आएका छैनन् । यसको अर्थ कोरोना महामारीले स्वास्थ्य उपकरणमा केही सुधार ल्याएको छ । गाउँ-गाउँको स्वास्थ्य संस्थामा अत्याधुनिक उपकरण भित्रिएसँगै सेवाग्राहीहरूले त्यहीं सेवा पाएका छन् ।

स्वास्थ्य जनशक्ति अत्याधुनिक उपकरणहरूसँग परिचित हुने अवसर प्राप्त गरेको छ । सरकारलाई स्वास्थ्य क्षेत्रको बजेट बढाउनुपर्ने तथा उपकरण थप गर्नुपर्छ भन्ने महसुस गराएको छ । कोरोना महामारीले नै सरकारलाई भौतिक पूर्वाधारदेखि जनशक्ति बढाउनमा केही हदसम्म ध्यानाकर्षण गराएको छ ।

तर, नेपालले केही आईसीयू, एचडीयू सञ्चालनका लागि विभिन्न उपकरण थप गर्न फड्को मारे पनि केही समस्या देखिएका छन् । पूर्वाधार विकास शाखाले गरेको अनुगमनको क्रममा विभिन्न अस्पतालमा औजार उपकरणहरू चाहिनेभन्दा बढी छन्, राख्ने ठाउँ छैन । तर, सञ्चालन गर्नसक्ने जनशक्तिको कमी छ । जसले गर्दा सेवा प्रभावकारी भएको पाइँदैन ।

त्यसैगरी, अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको तर, मेडिकल पाइप लाइन प्रणाली छैन । छुट्टै अक्सिजन सिलिण्डर भर्ने व्यवस्था गरेको छैन । उपकरणहरू मर्मत गर्न आवश्यक बजेटको व्यवस्था नभएको तथा उपकरण खरिद, आपूर्ति, जडान र संचालनमा संघ, प्रदेश र स्थानीय तह बीच समन्वयको अभाव भएको पाइएको छ ।

त्यसैगरी, अनुगमनको क्रममा उपकरणहरू मर्मत गर्न वर्कसपको अभाव रहेको, उपकरणहरू सञ्चालन गर्न आवश्यक पर्ने विद्युत् आपूर्तिमा नियमितता र एकरूपता नभएको, अस्पतालहरूका लागि डेडिकेटेड लाइन नछुट्याएको जस्ता समस्या रहेको पाइएको थियो ।
यस्तै, अनुगमनमा उपकरणको आम्दानी, खर्चको व्यवस्थित अभिलेख नभएको, सप्लायर्स

(उपकरण आपूर्तिकर्ताले) उपकरणको वारेन्टी दिएको अवधिमा मर्मतका लागि सहयोग नगरेको, बिग्रिएर काम नलाग्ने उपकरणको लिलामी प्रक्रिया सहज नभएको, बिग्रिएका उपकरणहरू स्टोरमा थन्किएर बसेको देखिएको थियो ।

त्यस्तै अनुगमनमा सरकारले उपकरण सञ्चालनका लागि स्वास्थ्य जनशक्तिलाई अभिमुखीकरण वा तालिम नदिएको तथा तालिम लिएको जनशक्ति पनि छिटो-छिटो सरुवा भएको पाइयो ।

उपकरणको व्यवस्थापनका लागि जिम्मेवार व्यक्ति नतोकिएको र एउटा अस्पतालमा बढी भएको उपकरण अर्को स्थानमा रहेका अस्पताललाई हस्तान्तरण गर्नुपर्नेमा सो नभएको पाइएको थियो ।
तर अनुगमनमा देखिएका समस्या समाधान गर्न सकिन्छ त्यसका लागि संस्थागत नेतृत्वको प्रतिबद्धताको आवश्यकता छ । स्वास्थ्य सेवा विभागले प्राप्त भएका उपकरणको अभिलेखलाई व्यवस्थित गर्ने प्रणाली कार्यान्वयनमा ल्याइसकेको छ ।

स्वास्थ्य सेवालाई गुणस्तरीय र पहुँचयोग्य बनाउन, स्वास्थ्य जनशक्तिलाई काम गर्ने वातावरण तयार गर्न, स्वास्थ्य उपचारमा लाग्ने व्यक्तिको खर्च जोगाउन पनि चिकित्सकीय उपकरणहरू सही अवस्थामा हुनुपर्छ ।

विगतमा भन्दा अहिले उपकरणहरू मर्मत गर्न सक्ने जनशक्ति बजारमा प्रशस्त उत्पादन भइसकेको छ । सो जनशक्तिलाई स्वास्थ्यका अन्य जनशक्ति जस्तै आवश्यक जनशक्तिको रूपमा स्वीकार गरी अस्पतालहरूमा दरबन्दी सिर्जना गरी राख्नुपर्दछ । जसले गर्दा स्वास्थ्य उपकरणहरूमा हुने खर्च जोगिन्छ, सेवाको गुणस्तर बढ्छ र सेवाग्राहीहरूको उपचारमा हुने खर्च घटेर गरिबीको रेखामुनि पर्नबाट जोगिन्छन् ।

(डा.झलक गौतम स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको पूर्वाधार विकास शाखाका प्रमुख हुन् । अनलाइनखबरकर्मी पुष्प चौलागाईंले डा. गौतमसँग गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?