+
+

फंकी हाउस : किशोरपुस्ताको एउटा जक्सन

बिकाश श्रेष्ठ बिकाश श्रेष्ठ
२०७९ साउन ३० गते १५:१४

खप्तड स्वामीको एउटा भनाइ छ, ‘सफलताको लागि तीन कुरा आवश्यक हुन्छ, निरन्तरको प्रयास, दृढ संकल्प र आत्मविश्वास ।’ भक्तपुरका कृष डंगोलले खप्तड स्वामीलाई पढेका थिए वा थिएनन्, थाहा छैन  यद्यपि उनको जीवन-भोगाई यस भनाईसँग मिल्दोजुल्दो छ ।

जतिबेला कोभिड महाव्याधिले सर्वत्र तहसनहस बनाउँदै थियो, त्यसबाट अछुतो थिएनन् कृष । उनलाई कोरोना होइन, त्यसले उत्पन्न गरेको संकटले निचोरेको थियो । वैदेशिक रोजगारीबाट आर्जन गरेको सीप र सम्पति ‘बालुवामा पानी’ जस्तै निरर्थक हुने अवस्था थियो ।

अवस्था खासमा कस्तो थियो भने, करिब चालिस लाख लगानी गरेर खोलेको रेष्टुरेन्ट डुब्दै थियो । उनीसहित अरु दुई साथी मिलेर वसन्तपुर झोंछेमा तामझामका साथ यस्तो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । यो रेष्टुरेन्ट, जहाँ किशोरपुस्ता उन्मुक्त रमाउन सक्छन् । यहाँका भान्सामा उनीहरुले रुचाउने व्यञ्जन पाक्ने । त्यो खासमा क्याजुअल डाइनिङ रेष्टुरेन्ट थियो ।

यो रेष्टुरेन्ट मात्र थिएन, उनीहरुको सीप, श्रम र उत्साहको एउटा धरातल पनि थियो । यही धरातल टेकेर उनीहरु आ-आफ्नो भविष्य बनाउन चाहन्थे ।

यसअघि उनीहरुसँग के थियो र ? न लगानी गर्ने पैसा थियो, न कुनै योजना । न त सपना नै । कृष यसै बरालिएर हिँड्थे । साथी संगत राम्रो थिएन । बेपर्वाह दिनहरु कटाइरहेका उनी आफ्नै भविष्यप्रति पनि आशावादी थिएनन् । अरु थुप्रै युवा जस्तै उनीसँग केवल उदासी, गुनासो र छटपटी थियो ।

कृष डंगोल

स्तानक पढ्दा पढ्दै उनी ‘इन्टर्न गर्न’ युएई पुगे, हस्पिटालिटी म्यानेजमेन्टमा । त्यहाँ सात बर्ष बिताए । यसक्रममा उनले केही सीप त आर्जन गरे नै, साथसाथै केहि जुक्ति पनि । अन्ततः नेपाल फर्किएपछि आफ्नो श्रम र सीप लगाएर उनले रेष्टुरेन्ट व्यवसाय सुरु गरे । त्यसमा केही साथी पनि सम्मिलित भए, दीपेश कवें र सविन डंगोल ।

झोंछेमा उनीहरुको रेष्टुरेन्ट सुरु भयो । उनीहरु आफै काममा खटिए । अपेक्षाकृत ग्राहकको भिड लाग्दै गयो । तर, ६ महिना नबित्दै कोरोनाको पहिलो लहर सुरु भयो ।

कोरोना महाव्याधि अनियन्त्रित रुपमा बढ्दै गयो र देशमा लकडाउन जारी गरियो । मानविय चहलपहल ठप्प हुँदै गयो । सधै गतिशिल रहने वसन्तपुर क्षेत्र एकाएक रोकिए । र, त्यहाँ सन्नटा छाउन थाल्यो । अन्ततः उनीहरुको व्यवसाय पनि चौपट भयो ।

एकातिर व्यवसाय ठप्प छ, अर्कोतिर सटरको भाडा थपिदो छ । ऋणमाथि ऋणको बोझ बोक्नुपर्ने अवस्था आयो । उनीहरुले सो रेष्टुरेन्ट व्यवसाय नै बन्द गरे ।

‘पहिलो गाँसमा नै ढुंगा’ भनेझै भयो । यसले उनीहरुलाई आर्थिक बोझ मात्र बोकाएन, उत्साह र उर्जामा पनि ठेस पुर्‍यायो ।

कोरोना महाव्याधि लामो समय जारी रह्यो । जसै कोभिड त्रास मत्थर हुँदै गयो, उनीहरुलाई ‘फेरी केही गर्नुपर्छ’ भन्ने लाग्यो । के गर्ने त ?

आफुले जानेको र भोगेको उही हो, रेष्टुरेन्ट व्यवसाय । उनले यही व्यवसाय गर्ने निधो गरे । यसमा उनलाई सञ्जय श्रेष्ठ, सुमनराज काफ्लेले साथ दिने भए । तर, यतिबेला उनीहरुको खल्ती पहिले जस्तो गह्रौं थिएन । त्यसैले राम्रो ‘लोकेसन’मा भव्य रेष्टुरेन्ट खोल्ने आँट नै भएन ।

भक्तपुर, लोकन्थलीमा एउटा सामान्य पसल थियो । त्यही पसललाई अन्यत्र स्थान्तरण गरे । सामान्य कटेरो जस्तो ठाउँ थियो त्यो । त्यसैलाई उनीहरुले सामान्य ढंगले व्यवस्थापन गरे । भुँइमा गिटी बिच्छ्याए । ठाउँ ठाउँमा टेबल कुर्सी राखे, गुन्द्री ओछ्याए । थोत्रो टायरलगायतका सस्तो सरसामाग्री बटुले र त्यसैलाई सजावटको सामाग्री बनाए । सिलिङमा जुटको बोरा टाँगे, भित्तालाई बाँसको भाँटाले सजाए । धेरै सुकिलोमुकिलो वा भव्य साजसज्जा बनाउने खर्च थिएन ।

‘हामी पनि किशोर उमेरको छँदा पुग्दो पकेट खर्च हुँदैनथ्यो, तर रेष्टुरेन्ट जाने रहर हुन्थ्यो’ कृष सुनाउँछन्, ‘हाम्रो त्यसबेलाको मनोविज्ञान अनुसार यो रेष्टुरेन्ट सुरु गरेका हौं । यहाँ थोरै खर्चमा साथीभाईसँग मीठोमसिनो खाँदै रमाइलो गर्न सक्छन् ।’

लोकन्थलीको भित्री सडक किनारमा छ यो रेष्टुरेन्ट । नाम, फंकी हाउस । यहाँको आन्तरिक सज्जा किशोरपुस्तालाई लक्षित गरेर तयार गरिएको छ । यहाँ मम, चाउमिन जस्ता सदावहार खाजा-नास्तादेखि नेपाली तथा कन्टिनेन्टल परिकारहरु उपलब्ध छन् । चिकेन स्किन र नाचोस यहाँको खास परिकार हुन् ।

लेखकको बारेमा
बिकाश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?