+
+

हुर्कदै तराई क्षेत्रको वन

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन ३० गते १७:४५

३० साउन, विराटनगर । २०७७ साल जेठ भन्दा अगाडि विराटनगर– ८ सिंघिया खोला किनारमा रहेको स्वस्थानेश्वर महादेवको मन्दिरको १४ कट्ठा जग्गा गौचरन थियो । दुई वर्षयता सो क्षेत्र वन बनेको छ । सव डिभिजन वन कार्यालय विराटनगरले रोपेको विरुवा हुर्किएका कारण मन्दिर क्षेत्र वन बनेको हो ।

‘समुदायको सहभागितामा रोकिएका विरुवा हुर्किएका छन्,’ सव डिभिजन वन कार्यालय विराटनगरका प्रमुख परमेश्वर पासवानले भने,‘ यो वनबाट भोलि समुदायले फाइदा लिन्छ ।’

सोही वर्ष विराटनगर महानगरपालिका– १८ संघिया खोलाको किनार जतुवामा रोपिएका बासका विरुवा पनि हुर्किएका छन् । खोला किनारमा राखिएका विरुवाले कटान रोकथाममा पनि मद्दत गरेको छ ।

दुई वर्षअघि ग्रामथान गाउँपालिका– १ को आदिवासी हरियाली क्षेत्रमा रोपिएका विरुवा पनि हुर्किएका छन् । सिंघिया खोला किनार क्षेत्रमा लगाएका विरुवा हुर्किएर जंगल बनेको छ ।

आर्थिक वर्ष २०७८–७९ मा बेलबारी नगरपालिका -११ मा रहेको सामुदायिक वनको खाली जग्गामा १० हजार नयाँ विरुवा रोपिएको छ । ती विरुवा पनि हुर्कने क्रममा छन् ।

पासवानका अनुसार ऐलानी जग्गामा समुदायको सहभागितामा वृक्ष रोपणको अभियान चलिरहेको छ । ‘मोरङको उत्तरी क्षेत्रमा मात्रै ठूला वन छन्, दक्षिणी क्षेत्रमा वन छैन,’ उनी भन्छन् ,‘ प्रदेश हरित अभियान अन्तर्गत ऐलानी जग्गामा वृक्ष रोपण गरेर साना-साना वन बनाउने अभियान सञ्चालन गरिरहेका छौं ।’

मोरङको दक्षिण क्षेत्रका दुई सय ३२ हेक्टर सार्वजनिक जग्गामा वन लगाइएको उनले बताए । मन्दिर, विद्यालय, मसानघाट, नदी किनारमा लगाइएका विरुवा हुर्किएर वनमा परिणत भएको उनले बताए ।

सन् २०१५ मा गरिएको सर्वेक्षणमा मोरङमा ४४ हजार ५४० हेक्टरमा बन रहेको पाइएको थियो । जुन मोरङको क्षेत्रफलको २४ प्रतिशत हो । सन् १९७८ को सर्वेक्षणले मोरङमा ५५ हजार ५ सय हेक्टरमा बन रहेको देखाएको थियो ।

निजी वन पनि बढ्यो

यता, मोरङ ग्रामथान गाउँपालिका-१ तेतरलाल माझी थारुले आफ्नो १.२२ हेक्टर जग्गामा वन लगाएका छन् । धान खेती छाडेर उनले लगाएका विरुवा हुर्किसकेका छन् । ‘खेती गर्दा जन (कामदार) पाइदैन, सिँचाइ गर्न पनि गाह्रो छ’, उनले भने, ‘वन लगाउदा जन र सिँचाइको झन्झट परेन, आम्दानी पनि राम्रो हुन्छ ।’

ग्रामथान गाउँपालिका–४ मा धनीराम चौधरीले दुई हेक्टर क्षेत्रमा निजी वन लगाएका छन् । उनले लगाएको विरुवा पनि हुर्किए । वनसँगै लगाएको कागतीले आम्दानी दिइरहेको उनले बताए । वनसँगै उनले भैंसीपालन पनि गरेका छन् । धान उब्जनी नहुने खेतमा लगाएको वनले राम्रै आम्दानी दिइरहेको उनले बताए ।

वन अधिकृत पासवानका अनुसार मोरङमा निजी वन लगाउनेको संख्या बढ्दो छ । उनका अनुसार ६ सय ३८ निजी बनले ६ सय ५८ हेक्टरमा विरुवा लगाएका छन् । ‘सबै निजी वन दर्ता भएका छैनन,’उनले भने,‘दर्ता भएका भन्दा दुई गुणा बढी वन दर्ता भएका छैनन् ।’

निजी वनमा मात्रै १० लाख विरुवा हुर्किएको उनले बताए । मोरङमा उपभोक्तालाई आवश्यक पर्ने काठ ८० प्रतिशत निजी वन बाट आपूर्ति भइरहेको उनको भनाइ छ । वनले जीविकोपार्जनमा पनि मद्दत पुगेको उनले बताए ।

नि: शुल्क विरुवा

वन विस्तारका लागि वन कार्यालयले मोरङका १९ स्थानमा नर्सरी बनाएको छ । नर्सरीबाट सर्वसाधारणलाई नि :शुल्क विरुवा वितरण गरिदै आएको उनले बताए । विरुवा लैजाने किसानलाई वन प्राविधिकले प्राविधिक सल्लाह पनि दिएको उनले बताए ।

व्यावसायीक रुपमा वन लगाउनका लागि पूर्व पश्चिम लाइन बनाएर रोप्नुपर्छ वन बाली लगाउँदा लाइन देखी लाइनको दुरी १२ फिट र विरुवादेखि अर्काे विरुवाको दुरी ८ फिटको हुनुपर्छ । यसरी लगाउँदा घुसुवा बालीको रुपमा अन्य कृषि बाली लगाउन सकिने पासवान बताउँछन् ।

पूर्व पश्चिको चौडाई १२ फिटको भए अन्य बाली लगाउनका लागि ट्याक्टर लगाएर जोत्नपनि सकिन्छ । विरुवा रोपेको चार वर्षसम्म तोरी मसुरो, केराउ जस्ता घुसुवा बालीको खेती गर्न सकिने बताउँदै उनले खेतको आलीमा अग्लो ढिस्को बनाएर बिरुवा रोपे जुन सुकै खेती गर्न मिल्ने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?