+
+

कलैयाको साढे ३ किलोमिटर जीर्ण सडक कालोपत्रे हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ८:४७

३१ साउन, वीरगञ्ज । मानमत-मटिअर्वा सडकखण्ड अन्तर्गत बाराको कलैया क्षेत्रमा साढे ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।

कलैया उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो ।

३.६७८ किलोमिटर सडकको दुवैतिर नाला पनि निर्माण हुनेछ । पूर्व-पश्चिम राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडन भारत सरकारको सहयोगमा उत्तरदक्षिण मानमत मटिअर्वा सडक बनाईएको थियो ।

२८ किलोमिटर सडकखण्डमा भरत चोकलगायत कलैयाको मुख्य बजार क्षेत्र पर्छ । मानमत मटिअर्वा सडक खण्डमा साढे ३ किलोमिटर सडक बन्न नसक्दा कलैया बजार नै कुरुप देखिँदै आएको थियो ।

०००

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सडक तथा नाला बनाउने कार्यको २९ साउन शनिबार शिलान्यास गरेका थिए ।

मानमत मटिअर्वा सडकखण्डमा बाँकी काम सम्पन्न गर्नका लागि सप्तकोशी जलाधार ओमसाई एण्ड कम्पनी जेभी नयाँ बानेश्वर काठमाण्डौंले ठेक्का लिएको हुलाकी राजमार्ग सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले जानकारी दिए ।

उनका अनुसार सडक तथा नाला निर्माण कार्यका लागि ३६ करोड ५२ लाख ७८ हजार ७२४ रुपैयाँ ६० पैसा (भ्याट पिएससमेत) लागत अनुमान गरिएको थियो । तर ठेकेदार कम्पनीले १४ करोड २० लाख ९२ हजार ४०५ रुपैयाँ कममा अर्थात २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँ ९४ पैसामा ठेक्का सकार गरेको छ । ३.६७८ किलोमिटर ६ लेन सडकको चौडाइ ३० मिटर छ । फुटपाथको चौडाइ २.३० मिटर छ भने मेडियन (डिभाईडर) को चौडाइ २ मिटर छ ।

०७८ माघ २ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडक र नालाको काम ०७९ माघ १ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । हुलाकी राजमार्ग योजना कार्यालयका अनुसार उक्त सडक तथा नाला निर्माणका लागि हालसम्म ५० लाख ६८ हजार ६ सय ६४ रुपैयाँ (भ्याट, पिएससमेत) खर्च भईसकेको छ ।

सडक तथा नाला निर्माण कार्यको थालनी पछि बजारको सुन्दरता पनि बढ्ने अपेक्षा गरिएको छ । बजार क्षेत्रमा स्थानीयले सडक निर्माणका लागि ठाउँ छोड्न अटेर गरेपछि काम रोकिएको थियो ।
सडकको मध्य भागदेखि दायाँ र बायाँ १५/१५ मिटर फराकिलो बनाउने निर्णय भएपछि अधिकांश घरधनीले भौतिक संरचना हटाई मुआब्जा समेत लिइसकेका छन ।

जिल्ला प्रशासन कार्यालय बाराले दुई चरणमा गरी ३७ जनालाई २ करोड २६ लाख रुपैयाँ मुआब्जा वितरण पनि गरिसकेको छ । केही घरधनीले मूल्यांकन कम भएको भन्दै सर्वोच्च अदालतमा उजुरीसमेत गरेका छन् । केहीले घर टहरा संरचना नहटाउने र मुआब्जा पनि नलिएर सडक बनाउने ठाउँ खाली समेत गरिरहेका छैनन् । पूनः सरकारले मुआब्जाका लागि १० करोड रुपैयाँ पठाएको छ ।

कलैया बजार क्षेत्रमा देखिएको मुआब्जा सम्बन्धी विवाद भदौभित्र समाधान हुने इन्जिनियर मण्डलको दाबी छ । ‘मुआब्जाका लागि १० करोड रुपैयाँ निकासा भएको छ, वितरणको प्रक्रियामा छ’ उनले भने, ‘घरधनीहरू र अन्य सरोकारवालासँग छलफल चलिरहेकोले मुआब्जा सम्बन्धी विवाद भदौं महिनाभित्र सल्टिने विश्वास लिएका छौं ।’

विवाद समाधान भइसकेकोले मटिअर्वा शितलपुरमा ५१२ मिटरका नाला निर्माणको काम भइरहेको छ । भने मटिअर्वा नहरदेखि दक्षिणतर्फ १६७ मिटर सडक निर्माण र नालाको काम पनि बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?