+
+

नागरिकता विधेयकमा गठबन्धनको टक्कर, अब शीतल निवास के गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १४:१५

३१ साउन, काठमाडौं । सत्ता गठबन्धन बन्नुपूर्व नै राष्ट्रपति विद्या भण्डारीसँग यसका नेताहरुको र्‍याङठ्याङ मिलेको थिएन ।

यही गठबन्धनले संसदमार्फत् अघि बढाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाइदिएपछि आसन्न राजनीतिक कोर्स के होला भन्ने जिज्ञासा थियो । मंगलबार सकिएको गठबन्धनको शीर्ष नेताको बैठकले शीतल निवासको कदमसँग आमनेसामने हुने बाटो रोजेको छ ।

मंगलबार दिउँसो सकिएको सत्ता गठबन्धनको बैठकले विधेयकलाई पूर्णविराम, अर्धविराम केही फेरबदल नगरी हुबहु फेरि टेबल गर्ने निर्णय लिएको छ । यो निर्णयबाट गठबन्धनले राष्ट्रपति भण्डारीसँगको टकरावपूर्ण सम्बन्धकै निरन्तरताको रुपमा आफूलाई प्रकट गरेको छ ।

राष्ट्रपति भण्डारी रहेकै बेला विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारकै पालादेखि नागरिकता अध्यादेशलगायत विषय विवादित बनेको कुरालाई सत्ता गठबन्धनले नोटमा त लियो, तर सँगसँगै बाबुबारे आमाको स्वघोषणालगायत कतिपय संवेदनशील विषयमा शीतल निवासले देखाएको स्वभाविक चासोलाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता ठानेन । अझ संसदीय समितिमा छलफलका लागि लैजानुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था पनि पालना नगर्ने मनसाय देखायो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग तिक्तताकै बीच शीतल निवासले पछिल्लो नागरिकता विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाइदियो । मंगलबारै शीतल निवासको सन्देश प्रतिनिधिसभाले प्राप्त गर्‍याे । तर गठबन्धनले संसदबाहिरैबाट शीतल निवासलाई तुरुन्तै अर्को राजनीतिक सन्देश प्रवाह गर्न चाहेको छ ।

यस्तो अवस्थामा शीतल निवाससँग के विकल्प रहन्छ त ?

राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले गठबन्धनको निर्णयबारे आफूले समाचारमा थाहा पाएको टिप्पणी गरे । ‘गठबन्धनले के गर्छ भन्ने कुरालाई राष्ट्रपति कार्यालयले चिन्दैन, संसदले के गर्छ भन्ने कुरालाई चिन्छ,’ उनले भने, ‘पहिले संसदको निर्णय आओस्, अनि त्यसलाई हेरिसकेपछि राष्ट्रपति कार्यालयको भूमिका संविधान अनुसार अघि बढ्छ ।’

संविधानको धारा ११३ को उपधारा ४ मा ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रुपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्रमा राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

अर्थात्, नागरिकता विधेयकमा देखिएका विभिन्न प्रश्नउपर राष्ट्रपतिले देखाउने चासोको सीमितता यही उपधाराले कोरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?