+
+

वामदेव गौतमको नजर प्रधानमन्त्रीतिर !

२०७० को दोस्रो संविधानसभा चुनाव यता वामदेवले दिएको अभिव्यक्ति र लिएको निर्णयले पनि प्रधानमन्त्रीको दौडमा रहिरहन माओवादी केन्द्र रोजेको प्रष्ट हुन्छ । तीन पटक उपप्रधानसहित गृहमन्त्री भएका वामदेवलाई प्रधानमन्त्रीकाे लोभ भने २०७० मा दुई ठाउँबाट जितेपछि जागेको थियो ।

सइन्द्र राई सइन्द्र राई
२०७९ साउन ३१ गते २२:००
राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि खादा लगाएर बामदेव गौतमलाई बधाई दिँदै प्रचण्ड । फाइल तस्वीर

३१ साउन, काठमाडौं । नयाँ पार्टी उद्घाटन गर्ने घोषणा गरेको डेढ महिना नबित्दै वामदेव गौतम नेकपा माओवादी केन्द्रमा समाहित हुने निष्कर्षमा पुगेका छन् ।

गएको १४ असारमा गौतमले आफू संयोजक र डीबी कार्की सचिव रहेको ७५ सदस्यीय नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । पार्टीबारे जानकारी दिन त्यसदिन आयोजित पत्रकार सम्मेलनमा गौतमले भनेका थिए, ‘मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उदघाटन गर्ने बेलामा नेपाल चकित हुनेछ । लाखौं व्यक्तिहरू यो पार्टीको वरपर गोलबन्द हुनेछन् ।’

तर त्यो पार्टी उद्घाटन नै नगरी मंगलबार निर्वाचन आयोग पुगेर गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह रोजेका छन् । ‘चाहना त माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित तीन वटै शक्तिले एउटै चिन्हबाट लडौं भन्ने थियो,’ अभियानका सचिव कार्की भन्छन्, ‘एकीकृत समाजवादी तयार नभएपछि माओवादीसँग मात्रै भयो ।’ कार्कीका अनुसार, प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अगाडि नै माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी छलफल अगाडि बढेको छ ।

आयोग पुगेका गौतमले पनि माओवादी केन्द्रमा समाहित भएको संकेत दिए । गठबन्धनबाट आफूले पाउने सिटबारे गौतमको जवाफ थियो, ‘प्रचण्डलाई जिम्मा दिएको छु, उहाँले दाबी गरेर ल्याउनु हुन्छ कि आफैं दिनुहुन्छ, प्रचण्डको हिस्साबाट मैले पाउने हो ।’

स्रोतका अनुसार, माओवादी केन्द्रमा गौतमको पदबारे कुरा मिल्न बाँकी छ । गौतमले नेकपाकालीन विधान बमोजिम जानुपर्ने प्रस्ताव गरेका छन् । त्यसबेला गौतम उपाध्यक्ष थिए । तर ३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकता जोगिएन । प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको ५ पुस ०७७ मा निर्णयका कारण नेकपा विभाजित हुँदा गौतम कतै पनि लागेनन् । एकता अभियान चलाएका उनले हालै मात्र पार्टी गठन गरेका थिए । ‘पहिलो प्राथमिकता अहिले पनि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण नै हो । तर चुनाव आयो, यस्तो निर्णय गर्नैपर्‍यो’, कार्की भन्छन् ।

माओवादी केन्द्रको चुनाव चिन्ह रोज्नुअघि गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग केहीपटक छलफल गरेका थिए । सँगै, पुष्पकमल दाहाल प्रचण्डसँग पनि निरन्तर सम्वादमा थिए । गौतम निकट एक नेताका अनुसार, पार्टी एकता गर्दा माओवादी केन्द्र नभएर एकीकृत समाजवादी उपयुक्त हुने सुझाव उनी निकट नेताहरुले दिएका थिए ।

१४ असारमा एकता राष्ट्रिय अभियान घोषणा सभा ।

राजनीतिक पृष्ठभूमिका कारणले पनि एकीकृत समाजवादी उपयुक्त हुने सुझाव गौतमलाई दिइएको थियो । गौतमले पनि एकीकृत समाजवादीलाई पार्टी निर्माणमा सहयोग गरेका थिए । एमालेबाट अलग हुँदा गौतमले पत्नी तुलसा थापालाई एकीकृत समाजवादी रोज्न निर्वाचन आयोग पठाए । तर आयोगले थापाको हस्ताक्षर ढिलो भएको भन्दै सदर गरेन । गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा गौतमले एकीकृत समाजवादीका निम्ति चुनावी गीत नै लेखे । गौतमकै संकेतमा नेताहरू केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, धनबहादुर बुढा, हरि पराजुली, बलराम बाँस्कोटा लगायत एकीकृत समाजवादीमा छन् ।

तर गौतम भने चुनावको पूर्वसन्ध्यामा एकीकृत समाजवादी नभएर माओवादी केन्द्रतिर लागेका छन् । ‘गोलाकार भित्रको हसिया हथौडा’ चुनाव चिन्हबाट म चुनाव लड्छु भनेर मैले इच्छा जाहेर गरेको हो । त्यसो गर्न म किन बाध्य भएँ भने त्यसो गरेपछि गठबन्धनले नलिइकन पनि म गठबन्धनमा सामेल हुन्छु, र मेरो जित सुनिश्चित हुन्छ’, गौतमको प्रष्टोक्ति छ ।

प्रधानमन्त्रीकै चाहना

गौतमले जित सुनिश्चित गर्न माओवादी केन्द्रमा समाहित हुने मात्रै नभएर निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने तयारी गरेका छन् । गौतमले बर्दिया–१ बाट ०४८ यताको ६ संसदीय चुनावमध्ये तीन पटक (२०४८, २०५१ र ०७० सालको चुनाव) जितेका थिए भने तीन पटक हारेका थिए । तर यसपटक वामदेव प्युठान जाने भएका छन् ।

देशभर वाम लहर आउँदा पनि ०७४ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएकाले गौतम यसपटक बर्दियाबाट चुनाव नलड्ने निष्कर्षमा पुगेका छन् । हुन त गौतम ०५६ र ०६४ मा बर्दिया–१ बाटै पराजित भएका थिए । ०५६ मा गौतम आफ्नै नेतृत्वको मालेका उम्मेदवार थिए भने ०६४ मा माओवादीको लहरबाट बच्न सकेनन् । तर ०७४ को पराजय भने अनपेक्षित थियो ।

त्यसैले सुरक्षित क्षेत्र खोज्दै गौतम प्युठान जाने भएका छन्, जहाँबाट उनले ०७० को चुनाव जितेका थिए । यसरी राजनीतिक जिन्दगीको उर्बर समय खर्चिएको पार्टी र साथी (नेताहरु) छोड्न तयार भएर पनि जितको पछि लाग्नुमा गौतममा प्रधानमन्त्री हुने चाहनाले काम गरेको अनुमान लगाउन सकिन्छ । यदि प्रधानमन्त्री हुने चाहना हुँदैनथ्यो भने प्रतिनिधिसभा निर्वाचन लड्न आवश्यक देखिन्न ।

६ वर्षे कार्यकालका लागि वामदेव १ असोज ०७७ मा राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । तर दुई वर्ष नपुग्दै राष्ट्रियसभा सदस्य परित्याग गरी चुनाव लड्ने रहर गर्नुमा प्रधानमन्त्री बन्ने आकांक्षा लुक्दैन । तर उनी निकट नेता कार्की भने प्रधानमन्त्री पदकै निम्ति वामदेव गौतम चुनाव लड्न लागेको भन्ने अनुमानको खण्डन गर्छन् । उनी भन्छन्, ‘त्यस्तो परिस्थिति बनेमा अर्कै कुरा हो, तर अहिलेको निर्णय प्रधानमन्त्रीका निम्ति होइन ।’

एकातिर कम्युनिष्ट पार्टी छिन्नभिन्न रहेको प्रतिकुल परिस्थिति र अर्कातिर राष्ट्रियसभा सदस्य सुरक्षित हुँदाहुँदै पनि उमेरले ७४ वर्षका वामदेवले चुनाव लड्ने रहर गर्नुले पनि कार्कीको तर्क पुष्टि गर्दैन । बरु राष्ट्रियसभा सदस्यले प्रधानमन्त्री बन्न नपाउने सवैधानिक व्यवस्थाका कारणले वामदेव प्रतिनिधिसभामा जान चाहेकै तर्कमा बल पुग्छ ।

लामो समय आफूलाई साथ दिने नेताहरू एकीकृत समाजवादीमा हुँदाहुँदै माओवादी केन्द्र नै रोज्नुको चित्तबुझ्दो कारण वामदेवले दिन सक्ने देखिँदैन । तर एकीकृत समाजवादीबाट भन्दा माओवादी केन्द्रबाट उम्मेदवार बन्दा जित्न सजिलो हुने तर्क भने पुष्टि हुन्छ । गएको स्थानीय चुनावमा एकीकृत समाजवादीले प्युठानमा १४१७ मत मात्रै पाएको छ । जबकी १७१६३ मतसहित माओवादी केन्द्र तेस्रो शक्ति हो । कांग्रेसले २१५४६ मत पाउँदा एमालेले सवैभन्दा बढी ३९८७७ मत पाएको थियो । जनमोर्चाले १३६१२ मत पाएको थियो ।

गएको वर्ष १८ भदौमा एमाले परित्याग गरेकाले गौतमसँग जित्नकै लागि माओवादी केन्द्र सहज विकल्प हो, जुन उनले रोजेका छन् ।

०७० को दोस्रो संविधानसभा चुनाव यता वामदेवले दिएको अभिव्यक्ति र लिएको निर्णयले पनि प्रधानमन्त्रीको दौडमा रहिरहन माओवादी केन्द्र रोजेको प्रष्ट हुन्छ । तीनपटक (२०५३ मा आठ महिना, २०६५ मा नौ महिना र २०७० मा २० महिना) उपप्रधानसहित गृहमन्त्री भएका वामदेवलाई प्रधानमन्त्री लोभ भने ०७० मा दुईठाउँबाट जितेपछि जागेको थियो । बर्दिया–१ र प्युठान–१ बाट जितेर काठमाडौं आएका वामदेवले प्रधानमन्त्री बन्न केपी ओलीसँग सहकार्य गरे । गौतमको साथ पाएपछि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई ओलीले संसदीय दलको नेता पराजित गरे ।

केपी शर्मा ओली र बामदेव गौतम, साथमा कोमल वली ।

ओलीले प्रधानमन्त्रीको अवसर वामदेवलाई छोड्ने सहमति थियो । झलनाथ खनाल पार्टी अध्यक्ष र दलको नेता हुँदाहुँदै माधवकुमार नेपाल ०६७ मा प्रधानमन्त्री बनेको नजीर एमालेमा छँदैथियो । त्यसैले ओली दलको नेता र वामदेव प्रधानमन्त्री बन्ने भद्र सहमति भयो । ०७१ मा सम्पन्न नवौं महाधिवेशनमा पार्टी अध्यक्षमा माधव हराएर केपी जिताउन वामदेवले भूमिका खेले । तर ०७२ मा जब एमालेले प्रधानमन्त्री बनाउने अवसर पायो, ओली आफै अगाडि बढे ।

०७४ को चुनावपछि प्रधानमन्त्री बन्न ओलीले गरेको प्रस्ताव वामदेवले माने । त्यही संकेत पाएर गौतमले चुनावका क्रममा आफू प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएका थिए । तर कांग्रेसका गौतमसँग वामदेवले अनपेक्षित पराजय बेहोरेपछि ओली नै झण्डै दुई तिहाइ वाम बहुमतको प्रधानमन्त्री बने । आफ्नो पराजयलाई वामदेवले त्यसबेला प्रधानमन्त्री बन्न नदिन गरिएको षडयन्त्रको आरोप लगाएका थिए ।

चुनाव हारे पनि आफू निकट सांसदहरुलाई राजीनामा गराएर उपनिर्वाचन मार्फत प्रतिनिधिसभा आउनेदेखि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संशोधनको विकल्पमा समेत उनले छलफल चलाए । नेकपाको विवाद विभाजनसम्म लैजानमा गौतमको प्रधानमन्त्री बन्ने चाहना समेत एक कारण थियो । पार्टीभित्रको अन्तरसंघर्षकै क्रममा गौतम राष्ट्रियसभा सदस्य मनोनित भए पनि नेकपाको एकता भने जोगिएन । तर नेकपा पुनर्गठनको वकालत गर्दै आएका गौतम अहिले माओवादी केन्द्रमा सामेल हुने निष्कर्षमा पुग्नुमा प्रधानमन्त्री बन्ने आकांक्षा लुक्दैन । जबकी पार्टी एकता चाँडो टुंग्याउने गौतमको प्रस्तावमा माओवादी केन्द्र संस्थागत रुपमा तयार भइसकेको छैन ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?