+
+

गुल्मीको रेसुंगा क्याम्पसमा आर्थिक संकटकाल घोषणा

नुनुता राई नुनुता राई
२०७९ साउन ३१ गते २१:३१

३० साउन, काठमाडौं । २०३९ सालमा स्थापना भएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको छ ।

सोमबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्नै समस्या भएको भन्दै ‘आर्थिक संकटापन्न अवस्था’ घोषणा गरेको छ ।

कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकटमा परेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । अहिले क्याम्पस चरम आर्थिक संकटमा परेकोले समुदाय, सरोकारवाला निकायलाई जानकारी दिनको लागि केही गर्नुपर्छ भनेर संकटापन्न घोषणा गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

क्याम्पसलाई समस्यामुक्त गर्नको लागि विभिन्न उपाय लगाउने उनको भनाइ छ । अहिले क्याम्पसको समस्या समाधान गर्नको लागि तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

अध्यक्ष भलामीले विभिन्न नौ बुँदे कार्यदेश दिइएको जानकारी दिए । उनका अनुसार सञ्चालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा बनेको अध्ययन समितिले कोभिड–१९ को बेलाको खर्चको व्यवस्थापन कसरी गर्ने, क्याम्पसमा भएका खर्च कटौती कसरी गर्न सकिन्छ, १० वर्षअघि लगाएको महायज्ञमा घोषणा भएको चन्दा रकम उठाउनका लागि अब के गर्न सकिन्छ लगायतको विषयमा प्रतिवेदन तयार गर्नेछ ।

पाँच दिनभित्र प्रतिवेदन तयार गर्नुपर्नेछ । समितिको उक्त प्रतिवेदनमाथि बृहत छलफल गरी कार्यान्वयनका लागि अघि बढ्ने अध्यक्ष भलामीले बताए ।

आर्थिक समस्याको सुरुवात

क्याम्पसले २०६३ साल अघिसम्म जिल्ला मालपोत कार्यलयबाट ठूलो रकम सहयोगको रुपमा प्राप्त गर्दै आएको थियो । २०३९ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापना भएको क्याम्पस सञ्चालन गर्नको लागि नियमित आर्थिक स्रोत थिएन ।

ग्रामीण क्षेत्रको विद्यार्थी पढ्ने क्याम्पस भएकोले बढी शुल्क लिन सक्ने अवस्था थिएन । तर, क्याम्पस भने सञ्चालन हुनुपर्ने जरुरी थियो । त्यही अवस्थालाई ध्यान दिँदै २०४८ सालमा जिल्ला विकास समितिले विभिन्न राजनीतिक दलहरु सहितको सहमतिमा एउटा निर्णय गर्‍यो ।

जिल्ला विकास समितिका तत्कालीन सभापति चन्द्रबहादुर केसीको संयोजकत्वको समितिले रेसुंगा बहुमुखी क्याम्पस सञ्चालनका लागि अन्यत्र आम्दानीको स्रोत नभएसम्म मालपोतमा जग्गा रजिष्ट्रेसन पास गर्दा जग्गा खरिदकर्ताले रजिष्ट्रेसन फारममा लाग्ने रकमको ०.५ प्रतिशत रकम क्याम्पसलाई उपलब्ध गराउने सुझाव दिएको थियो ।

उक्त सहयोग रकमले क्याम्पसको भौतिक संरचना निर्माण, शिक्षक कर्मचारीको तलब, भत्ता लगायत काम गर्न महत्वपूर्ण मद्दत मिलेको क्याम्पस प्रमुख हरि बहादुर केसी बताउँछन् । तर २०६३ सालमा आएर राजनीतिक दल, विद्यार्थी संघसंगठनहरुको विरोधका कारण यो आयस्रोत बन्द भयो ।

त्यसयता नियमित आयस्रोत नहुँदा आर्थिक समस्या थप हुँदै आउन थालेको प्रमुख केसी बताउँछन् । क्याम्पसको आर्थिक संकट कम गर्न १० वर्षअघि महायज्ञको आयोजना गरेको सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

उक्त महायज्ञमा उठेको रकमले धेरै सहयोग पुगेपनि त्यसबेला घोषणा भएको करिब ४० लाख रुपैयाँ अझै नउठेको उनले बताए । ‘क्याम्पसलाई विभिन्न तरिकाले उठाउनको लागि पनि अहिलेको घोषणा जरुरी महसुस गरेका छौं । यतिखेर हामीलाई समुदाय, सरोकारवाला निकायहरुको साथ सहयोग र सुझाव आवश्यकता छ’ उनले भने ।

तलब दिनै नसक्ने अवस्था

कोभिड–१९ महामारीका कारण चार वर्षमा सक्नुपर्ने पठनपाठन सक्न साढे पाँच वर्ष लाग्यो । त्यो समयको शिक्षक कर्मचारीको नियमित तलब क्याम्पसले दियो । तर, विद्यार्थीबाट चार वर्ष भन्दा बढीको शुल्क लिने अवस्था भएन ।

आर्थिक स्रोत संकुचनका कारण त्यो समयको तलब भत्ताका लागि शिक्षक तथा कर्मचारीको उपदान कोष मार्फत पूर्ति गरिएको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । उक्त कोषमा भएको रकम पनि सकिएपछि चैतदेखि यताको तलब भत्ता खुवाउन नसकेको उनको भनाइ छ ।

क्याम्पसमा २४ जना शिक्षकमध्ये एक जना सहप्राध्यापक, १० जना उपप्राध्यापक र सात जना आंशिक प्राध्यापक छन् । उनीहरुलाई २०७८ चैत महिनादेखि २०७९ असार मसान्तसम्मको तलब भत्तावापत एक करोड ३५ लाख रुपैयाँ दिन बाँकी छ ।

उपदान, उपचार कोषको रकम तलबभत्तामा खर्च भएपछि उपदानमा शिक्षकले पाउनुपर्ने रकम क्याम्पसको दायित्वमा राखिएको छ । तर, उक्त दायित्व भुक्तान गर्नसक्ने अवस्थामा क्याम्पस नरहेको अध्यक्ष भलामीले बताए ।

उनले भने ‘सरहरुले उपदान बापत पाउनुपर्ने रकम दिन सकेका छैनौं । त्यो क्याम्पसको दायित्वमा राखेका छौं । त्यो त हामीले जसरी पनि भुक्तान गर्नुपर्ने हुन्छ । तर त्यो भुक्तान गर्न सक्ने पैसा अहिले हामीसँग छैन ।’ उपदान, उपचार कोषको पाँच करोड रुपैयाँ बराबरको रकम क्याम्पसले भुक्तान गर्न बाँकी रहेको छ ।

राजीनामा दिन आग्रह

रेसुंगा बहुमुखी क्याम्पसमा कुनै बेला १५ सयसम्म विद्यार्थी भएको इतिहास छ । तीन सिफ्टमा विद्यार्थी पढाई हुने जिल्लाकै प्रतिष्ठित क्याम्पस हो ।

तीन जनासम्म सहायक क्याम्पस प्रमुख राखिएको इतिहास रहेको अध्यक्ष भलामी बताउँछन् । अहिले पनि दुई जना सहायक क्याम्पस प्रमुख छन् । तर अब एक जना पनि राख्न नसक्ने स्थितिमा पुगेको छ ।

अहिले विद्यार्थी संख्या कम भएकोले क्याम्पसको सबै प्रशासनिक काम क्याम्पस प्रमुखले गर्न सक्ने अवस्था भएकोले सहायक क्याम्पस प्रमुखलाई राजीनामा दिएर सहयोग गर्न सञ्चालक समिति बैठकले आग्रह गरेको छ ।

अध्यक्ष भलामीले भने, ‘६ महिनाको लागि संकटापन घोषणा गरेको हो । अहिलेको लागि उहाँहरुले त्यति गर्नुहुँदा पनि केही मात्रामा र अन्य कुरामा अगाडी बढ्नको लागि पनि सहयोग हुने भएकोले हामीलाई सहयोग गर्न अनुरोध गरेका हौं ।’

यो बाहेक सेवाको उमेरहद परिमार्जन गर्ने र अध्ययनमा बेतलबी बस्नेहरूको उमेरहद घटाउने निर्णय पनि सञ्चालक समितिले गरेको छ । आर्थिक संकटकालपछि सुविधा कटौती र सहयोग माग्ने तयारी गरेको छ ।

प्राध्यापक संघको विरोध

रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिले बिना छलफल संकटकाल घोषणा गरेको भन्दै घोर भत्र्सना गर्ने प्राध्यापक संघले जनाएको छ । संघका सभापति यमबहादुर थापा क्षेत्रीले आपसमा छलफल गरेर संकटपूर्ण अवस्थाबाट निकाल्न सकिने सम्भावना हुँदा हुँदै सञ्चालक समितिले आफैं घोषणा गरेको दाबी गरे । उनले भने, ‘बिना छलफल गरिएको यो अप्रिय घोषणाको घोर भर्त्सना गर्छौं ।’

सामुदायिक क्याम्पसहरु सबैको अवस्था दयनीय भएपनि छलफल, सहयोग लिएर समस्या कम गर्न सकिने उनको भनाइ छ । भन्छन् ‘सामुदायिक क्याम्पस सबैको अवस्था अहिले दयनीय छन् ।

रेसुंगाको लागि यो अप्रिय घोषणा हो । तर, यसलाई स्थानीय सरकार, राजनीतिक दलहरुसँग बसेर छलफल गरेको भए समस्या केही कम गर्न सकिन्थ्यो ।’

सञ्चालक समितिले सोमबार गरेको निर्णयहरूका बारेमा प्राध्यापक संघसँग कहिल्यै छलफल नगरेकाले सम्पूर्ण प्राध्यापक कर्मचारीहरूसँग सल्लाह गरेर थप धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?