+
+

बडिमालिका : बिछट्टै रुपवती

प्रकाश सिंह प्रकाश सिंह
२०७९ भदौ २ गते २०:०२

२ भदौ, बाजुरा । कहीं भिरालो, कहीं चुचुरो, कहीं थुम्का–थुम्की, कहीं अनन्त फाँट । कार्पेट बिच्छ्याए झैं भुइँमा ढकमक्क फूल ।

समुद्री सतहबाट ४ हजार २०० मिटर माथिको भूगोलमा टेकेर जब तपाईं आसपासका दृश्य नियाल्नुहुन्छ, मन नै हराभरा हुन्छ । कञ्चन नीलो आकाश, आँखाले भ्याएसम्म देखिने पहाड–पर्वत, बेलाबेला लुकामारी खेल्ने भुईंकुहिरो, अनि अनायासै स्पर्श गर्ने चिसो सिरेटो, पृष्ठभूमिमा यदाकदा गुञ्जने देउडा भाका । यस्तो लाग्छ, मानौं कुनै काल्पनिक लोकमा विचरण गरिरहेका छौं ।

जति बखान गरे पनि पुग्दैन, बडिमालिकाको ।

धार्मिक आस्था र पौराणिक महत्वको यो थलो आफैंमा कुशल चित्रकारको हस्तशिल्प झैं लाग्छ । नेपालका प्रमुख चार धाममध्ये एक हो यो । बाजुराको त्रिवेणी नगरपालिकामा अवस्थित बडिमालिकाले अपी सैपाल हिमाललाई पृष्ठभूमिमा राखेर आगन्तुकलाई स्वागत गर्छ । प्रकृतिको काखमा रमाउन उत्सुकहरुका लागि गज्जबको गन्तव्य पनि हो, बडिमालिका ।

बडिमालिकामा जनैपूर्णिमाको दिन ठूलो मेला लाग्छ । मेला भर्न देशभरबाट सयौं तीर्थालु पुग्ने गर्छन् । भारतबाट पनि थुप्रै तीर्थालु बडिमालिकाको दर्शन गर्न पुग्छन् ।

कोभिड महाव्याधिका कारण पछिल्लो दुई वर्षमा मेलाको रौनक घटेको थियो । यसपालि भने बडिमालिकामा मेला भर्नेहरुको घुइँचो थामिनसक्नुभयो । यहाँ वर्षमा दुई पटक मेला लाग्छ, गंगा दशहरा र जनैपूर्णिमाको दिन ।

मेला भर्ने पंक्तिमा भेटिएका शेरबहादुर रावत भन्दै थिए, ‘भूस्वर्ग भनेको सायद यही होला । जता हेर्यो, उतै मन रमाउने ।’

त्यसो त गन्तव्यमा मात्र होइन, यात्रामा पनि मन उत्तिकै रोमाञ्चक हुन्छ । बाटोमा भेटिने स–साना मठ मन्दिर, कञ्चन हिमाली खोला, अविरल बगिरहने झरना, विशाल पाटन एवं घाँसे मैदान । जति हेरे पनि मन अघाउँदैन ।

यहाँका पाटनहरुमा भेंडा चराउन ल्याइन्छ । बडिमालिका क्षेत्रमा यो समयमा ५० हजारभन्दा बढी भेंडा चरिचरन गर्ने स्थानीय बताउँछन् । बाजुरा, हुम्ला, कालिकोट, मुगु लगायतका जिल्लाबाट भेंडाहरु ल्याएर वैशाखदेखि भदौ महिनासम्म चराउने गरिन्छ । यी पशु चौपायाले बडीमालिकाका फाँटहरुमा झनै शोभा बढाउँछन् ।

यहाँका फाँटहरुले मौसम अनुसार रुप परिवर्तन गर्छन् । हिँउदमा यो सेताम्मे हुन्छ, वर्षायाममा रंगीचंगी । हरिया फाँटहरु ढकमक्क फुल्ने फूलहरुले बिछट्टै रुपवती देखिन्छ । वास्तवमै प्रकृतिको अनुपम उपहार हो, बडिमालिका ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?