+
+
दुर्गन्धित राजधानी :

सडकमा १५ सय ट्रक फोहोर, घरभित्रको तत्कालै उठाउन महाभारत

अमृत चिमरिया अमृत चिमरिया
२०७९ भदौ २ गते २२:०१

२ भदौ, काठमाडौं । पछिल्ला दिनहरुमा अवरोधहरु छिचोल्दै राजधानी काठमाडौंको फोहोर बोकेका गाडी नियति रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । तर, अहिलेसम्म काठमाडौं महानगर घर-घरबाट फोहोर संकलन गर्न सक्ने अवस्थामा पुगेको छैन ।

शहरका चोक, गल्लीहरुमा रहेका फोहोरको डंगुरहरु कहिलेसम्म हट्छन् भन्ने समेत यकिन छैन भने घर-घरमा जम्मा भएर सबेका फोहोर पनि ठूलो परिमाणमा छ । वर्षायाम भएकाले  सबै फोहोर तत्काल उठाइसक्न महाभारत लड्नु जत्तिकै सकसपूर्ण हुने महानगरका अधिकारीहरू बताउँछन् ।

प्रहरीमार्फत बल प्रयोग गरेर फोहोर विसर्जन भइरहेकाले स्थानीय क्षत्रेमा फोहोर कहिले रोकिन्छ भन्ने ठेगान पनि छैन । सोमबारबाट सुरु भएको घम्साघम्सीपछि सोमबार सम्बन्धित स्थानीय तह र प्रशासन संयन्त्रबीच ४ बुँदे सहमति भएको थियो । तर, बिहीबार फेरि सामान्य अवरोधबीच फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा खस्यो ।

अन्योलकै बीच काठमाडौं महानगरले फोहार व्यवसथापनको लागि आवश्यक सबै कदम चाल्न तयार रहेको भन्दै अब धमाधम फोहोर व्यवस्थापन हुने दाबी गरिरहेको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन)का सचिवालय सदस्य रहेका सुनील लम्सालले अनुसार काठमाडौं महानगरमा एक वर्षमा पूर्ण रुपमा व्यवस्थापन हुनेछ ।

‘यो आर्थिक वर्षपछि सडकमा एउटा पनि फोहोर देखिँदैैन, त्यसको लागि महानगरले आवश्यक सबै काम गर्छ’ उनी भन्छन्,’तर अवरोध हुने वित्तिकै फोहोर व्यवस्थापनको योजना असर पर्छ ।’

१५ सय गाडी फोहोर सडकमा  

लम्सालका अनुसार काठमाडौं महानगरका सडकमा अहिले करिब १ हजार ५ सय गाडी (ट्रक) फोहोर थुप्रिएका छन् । अब भोलिबाट महानगरले दैनिक ३ सय गाडी फोहोर विसर्जनको तयारी गरेको छ ।

महानगरका अनुसार काठमाडौं महानगरबाट दैनिक करिब १ सय ५० गाडी फोहोर निस्किन्छ । उपत्यकाको अन्य पालिकाबाट थप १ सय  ५० गाडी नै फोहोर निस्किन्छ ।

भोलिदेखि काठमाडौंबाट मात्रै ३ सय गाडी फोहोर दैनिक बञ्चरे पठाउने तयारी गरेको महानगरले जनाएको छ । बाँकी पालिकाको फोहोरको गाडी आफैंले व्यवस्थापन गर्ने काठमाडौं महानगरले जनाएको छ ।

पछिल्लो सम्झौताअनुसार फोहोरको गाडीबाट लिचेड चुहाउन पाइने छैन । तर काठमाडौं महानगरसँग अहिले लिचेड ट्यांक भएको ७५ वटा मात्रै टिप्पर रहेको छ ।

ती ७५ टिप्परले दैनिक २ टि्रप गर्नेछन् भने १ सय ५० वटा लिचेड ट्यांक भएका टिप्पर भाडामा लिएर प्रयोग गर्ने तयारी भएको लम्साल बताउँछन् । उनले अहिले केही यातायात व्यवसायीहरुले निःशुल्क रुपमा फोहोर ढुवानी गर्न गाडी सहयोग गरेको बताए ।

‘काठमाडौैंको सडकमा रहेको फोहोर उठ्ने वित्तिकै बञ्चरेडाँडामा जाने फोहोर पूर्ण रुपमा वर्गीकरण भएर मात्रै जानेछ । घरबाट उठाउने फोहोर उठाउँदा स्रोत मै वर्गीकरण गर्ने कुरा प्राथमिकताको साथ हेर्छौं । वर्गीकरण नभएका फोहोर उठ्दैन,’ उनले भने ।

बञ्चरेडाँडामा अझै तनाव

बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा तनाव सकिएको छैन । तर, काठमाडौं महानगरपालिकाले अब सो क्षत्रेमा देखिएका समस्या हल भइसकेको दाबी गर्छ ।

महानगरका प्रवक्ता नविन मानन्धर अब बञ्चरेडाँडामा जेठ २६ गते गरिएको १८ बुँदे सम्झौताको कार्यान्वयन र बुधबार प्रशासन र स्थानीय जनप्रतिनिधि बीच भएको भएको सहमति अनुसार काम भए समस्या नपर्ने बताउँछन् ।

बञ्चरेडाँडाका स्थानीयबासीहरु भने आन्दोलन मथ्थर पार्नका लागि पक्राउ परेकालाई छोड्नुपर्ने बताउँछन् । बिहीबार बञ्चरेडाँडाबासीले धुनवेशी गाउँपालिकामा बसेको सर्वदलीय बैठकले ५ बुँदे  निर्णय गर्दै पक्राउ परेका स्थानीयलाई विना शर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

निर्णयमा भनिएको छ ‘स्थानीयवासीले गरेको शान्तिपूर्ण मागलाई बेवास्ता गरी प्रहरी प्रशासनबाट भएको धरपकड गिरफ्तारको विरोध गर्दै गिरफ्तार भएका व्यक्तिको तत्काल रिहाइ र झुट्टा मुद्दामा वारेन्ट जारी भएका व्यक्तिहरुको मुद्दा फिर्ता गर्न माग गर्ने निर्णय गरिएको छ ।’

यस्तै सर्वदलीय बैठकले प्रहरी प्रशासनबाट चलाइएको गोली लागि घाइते रहेका कमल तामाङको उपचार खर्च व्यवस्थापनको लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।

निर्णयमा पटक पटक भएको सम्झौता र सहमति तत्काल कार्यान्वय गरी अल्पकालीन रुपमा फोहोरमैला विसर्जन गर्न सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकालाई आग्रह गर्ने उल्लेख छ । कार्यान्वयनको लागि राजनितिक दलका तर्फबाट आवश्यक पहल गर्ने निर्णय भएको धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।

‘धुनिवेशी नगरपालिका १, ३ र ४ तथा ककनी गाउँपालिका १, २ र ३ का नागरिकले भोग्नु परेको सास्ती एव्म अव्यवस्थित रुपमा न्यूनतम मापदण्ड समेत पुरा नगरी फोहोरमैला विसर्जन गरिँदा महामारीको रुप लिन सक्ने छ, उक्त संवेदनशील अवस्थाकोबारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ मेयर आचार्यले भने ।

सर्वदिलय बैठकले फोहोरमैला प्रभावित स्थानीय समुदाय र सम्बन्धित निकायबीच पटक-पटक भएको सहमति र सम्झौता कार्यान्वयनको लागि सहजीकरण गर्न धुनिवेशी नगरपालिकामा क्रियाशील राजनितिक दलहरुकाबीच समन्वन समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?