+
+

नयाँ युगमा प्रवेश गर्दैछ पोखरा

काशीराज भण्डारी काशीराज भण्डारी
२०७९ भदौ ४ गते १९:४६
जेनिथ फोटो ।

भूगर्भविदहरु भन्छन्, हालको पोखरा उपत्यकाको उमेर धेरै भएको छैन । करिव एक हजार वर्ष अगाडि उत्तरतिरको विशाल हिमताल फुट्दा बगेर आएका ढुंगा, माटो आदिले करिव १०० मिटर जति पुरेपछि हालको उपत्यका अस्तित्वमा आएको विश्वास गरिन्छ ।

उत्तरमा सेती नदी किनारको भराभरी बस्तीदेखि तनहुँको भीमादसम्म लगभग ५० किलोमिटर क्षेत्रमा फैलिएको नयाँ उपत्यकामा त्यसैले होला धेरै पुराना धार्मिक साँस्कृतिक सम्पदाहरु भेटिन्नन् । तर, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यावलोकनका लागि पोखरा विश्वमै उत्कृष्ट छ, अद्धितीय छ ।

साँच्ची नै पोखराबाट उत्तरतिर देखिने हिमशिखरका लहरको दृश्य अलौकिक छ । अन्नपूर्ण हिमश्रृंखला र यसका चुचुराहरु अझ विशेष गरी माछापुच्छ्रेले त धेरैलाई भुतुक्कै पार्छ । त्यसैले होला फ्रान्सेली पर्वतारोही मौरिस हरजोग र लुई लचेनालले सन् १९५० को वसन्तमा अन्नपूर्ण प्रथमलाई नै रोजे अनि सफल आरोहण गरेर विश्वमा इतिहास रचे । अन्नपूर्ण सगरमाथा भन्दा अगाडि नै आरोहण सुरु भएको हिमाल हो ।

उक्त टोलीको आरोहणले पर्वतारोहणको लहर नै ल्याएको थियो । नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमालहरु आरोहण लगातार हुन थाले । सन् १९५३ को मे २९ मा मात्र सगरमाथा (८८४८.५ मि.) आरोहण भएको हो ।

सन् १९५५ को मे १५ मा मकालु (८४६३ मि.), सन् १९५५ को मे २५ मा कन्चनजंघा (८५८६ मि.), सन् १९५६ को मे ९ मा मनास्लु (८१६३ मि.), सन् १९५६ को मे १८ मा ल्होन्से (८५१६ मि.), सन् १९६० को मे १३ मा धवलागिरी (८१६७ मि.), सन् १९७३ को मे १४ मा यालङ काङ (८५०५ मि.) र सन् १९८४ को फेबु्रवरीे १२ मा चो यू (८२०१ मि.) मा मानिसले पहिलो पाइला टेके ।

तीन वटा आठ हजार मिटर भन्दा अग्ला चुचुरा रहेको १०० किलोमिटर भन्दा लामो हिमालयको दुर्लभ दृश्य समुन्द्र सतह भन्दा ८५० मिटरको उचाइमा रहेको पोखरा महानगरबाट देख्न सकिन्छ ।

एभिया क्लब ।

करिव ३० किलोमिटरको छोटो दुरीमै होचो उपत्यकाको भूभाग गगनचुम्बी हिमालमा परिणत भएकाले यहाँ औसत भन्दा बढी पानी पर्छ । बर्खायाममा चुचराहरु प्रायः बादलभित्र नै लुकेका हुन्छन् । जब मौसम सफा हुन्छ अन्नपूर्ण र माछापुच्छ्रे हिमाल भर्खरै विवाह गरेकी युवतीले घुम्टो उघारे जसरी स्निग्ध निलो आकाशमुनि उघ्रन्छन् अनि विदेशी पर्यटकको मुखबाट फुत्त निस्किन्छ, वाह, अमेजिङ !

केही समयदेखि भने आन्तरिक पर्यटकहरुको रोजाइमा पोखरा अग्रपंक्तिमा छ । नेपालभित्र घुम्न जाने स्थानको पर्याय नै पोखरा भइसकेको छ । विद्यार्थी, कर्मचारी, नवविवाहित दम्पती सबैलाई पोखरा प्यारो छ । संस्थागत वा सामूहिक होस वा पारिवारिक घुमघाम, औपचारिक सभा, सम्मेलन, गोष्ठी हुन् वा अनौपचारिक भेटघाट सबैका लागि पोखरा नै सहज छ, सुगम छ र रमणीय छ ।

सफा र चिटिक्क परेका सुविधायुक्त होटल र नेपाली र अन्तर्राष्ट्रिय पकवान पाइने उत्कृष्ट रेष्टुराँहले पोखराको विशेष गरी फेवाताल वरपरको वातावरण सधैं पर्यटकीय बनाएका छन् । तालछेउको रेष्टुराँमा बसेर खाना र पेय पदार्थको आनन्द लिन होस् वा तालमा डुंगा सयर गर्न, केवलकार चढेर सराङकोट पुग्न होस् वा चराजस्तै प्याराग्लाइडिङबाट उडेर फेवाताल किनारमा ओर्लिन पोखराको रसस्वादन गर्ने अनेकौं गतिविधिहरु उपलब्ध छन् ।

अन्नपूर्ण केवुलकार

युवाका लागि त पोखरामा प्याराग्लाइडिङ छुटाउनै नहुने विषय बनेको छ भने जाइरोकप्टर र अल्ट्रालाइट यानबाट हिमाल, पोखरा उपत्यका, हरिया नागबेली परेका डाँडाकाँडा, ताल तलैया आदिको अदभूत दृश्यावलोकनका लागि शायदै विश्वमा अन्य कुनै पोखराजस्तो ठाउँ पाइएला ।

हिंडेर प्रकृतिको आनन्द लिन चाहने पर्यटकका लागि छोटो समयको हाइकिङ गर्ने कि केही दिन लाग्ने पदयात्रामा जाने ? पोखरा पदयात्राका लागि ट्रान्जिट प्वाइन्ट हो भने शहर वरपर पनि धेरै विकल्पहरु छन् । अन्नपूर्णको सेरोफेरो र म्याग्दीको तातोपानी हुंदै मुस्ताङको जोमसोम मुक्तिनाथ जाने पदयात्रा मार्गहरुको विस्तारै अवशान भएजस्तो देखिए पनि पर्यटकीय मौसममा मर्दी हिमाल, घान्द्रुक, अन्नपूर्ण आधार शिविर र पुनहिल जाने पदयात्रीहरुको लर्काे भेटिन्छ ।

पर्यटन र तीर्थाटन संगै गर्ने पर्यटकका लागि गुप्तेश्वर महादेव, विन्ध्यवासिनी मन्दिर जस्ता पुराना मन्दिरहरुका अलावा विश्व शान्ति स्तुप र विशाल शिव मन्दिर जस्ता नयाँ र बन्दै गरेका धार्मिक स्थलहरु पनि प्रशस्तै छन् ।

पोखराको हावापानी र मौसम पनि पर्यटनमैत्री छ । धूलो, हिलो र प्रदुषण मुक्त, गर्मीमा धेरै गर्मी नहुने, शिशिरमा पनि त्यति जाडो नहुने तथा शरद र वसन्तमा त धर्तीको स्वर्ग जस्तै लाग्दछ, पोखरा । नेपालका अन्य शहरहरुमा लिटरिङ (जथाभावी फोहोर फ्याँक्ने) समस्या विकराल देखिन्छ तर पोखरा अझै बिग्रेको छैन, तथापि सुधार गर्नुपर्ने पक्ष धेरै छन् ।

हुनत फेवाताल अतिक्रमण र प्रदुषणको चपेटामा परेको छ भनिन्छ, तर समाधान गर्नै नसकिने गरी बिग्रिसकेको छैन । बेगनास, रुपा, दिपाङ तालहरुमा प्रदुाणको समस्या छैन, पानी कञ्चन छ अनि वरपरको वातावरणमा हरियाली र स्वच्छता । सेती, विजयपुर, मर्दी आदि खोलामा बगेको सफा पानीले ग्रिष्मको उष्णतामा पनि पोखरा शहर शितल भइरहन्छ ।

फेवातालमा डुङ्गा चढेर ताल बाराहीमाताको दर्शन गर्ने, पातले छाँगो र सेती नदीको गल्छी हेरेर तस्वीर खिच्ने जस्ता गतिविधि त पर्यटकले विगतदेखि नै मन पराउने हुन् । अहिले भने पोखरामा पर्यटकले अनुभव बटुल्न सक्ने धेरै गतिविधि थपिएका छन् ।

बन्जीबाट हाम फाल्ने, ठाडो झरनामा डोरीको सहायताले पानीमा भिज्दै झर्ने, जिपलाइनमा सराङकोटबाट हेम्जा हुँइकिएर झर्ने जस्ता साहसिक खेल पनि नयाँ हुन् । बेगनास र रुपातालको बीचको माझीकुनामा माछा खान पाउने आनन्द त छँदैछ ।

पोखरा अल्ट्रालाइट ।

पोखरा अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेशद्वार हो भने पञ्चासे जस्ता विविध किसिमका सुनाखरी र वनस्पति पाइने स्थान पनि यहाँबाट सजिलै पुग्न सकिन्छ । रङ्गीचङ्गी पुतली सजाएर राखिएको गोर्खा संग्रहालय र अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय तथा गुरुङहरुको संस्कृति तथा थकालीहरुको आतिथ्यमा पनि पोखराको विशिष्टता झल्कन्छ र पर्यटकहरुलाई फेरि फेरि आइरहुँ जस्तो बनाइदिन्छ ।

निर्माणको अन्तिम चरणमा पुगेर सञ्चालन हुन ठिक्क परेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको पर्यटन र समग्र विकास नयाँ युगमा प्रवेश गर्दैछ । अब अन्तर्राष्ट्रिय पर्यटकहरु आफ्नो प्रस्थान विन्दुबाट सिधै पोखरा आउन सक्नेछन् भने नेपालको समग्र पर्यटन आगमन संख्यामा र उनीहरुले गर्ने खर्चमा समेत उल्लेख्य वृद्धि गर्न सकिन्छ । गण्डकी प्रदेशका धेरै जिल्लाहरुबाट वैदेशिक रोजगारी लगायत विविध उद्देश्यले नेपाल बाहिर जाने नेपालीहरुको संख्या उल्लेख्य भएकाले पनि यो विमानस्थलबाट जाने नेपालीहरुको संख्या पनि ठूलै छ ।

विमानस्थल २४ घण्टा सञ्चालन हुन सक्ने भएकाले आन्तरिक पर्यटकलाई पनि पोखरा आउन धेरै सहज हुनेछ । हुन त कता कता अन्तर्राष्ट्रिय विमानस्थल नेपालको लागि सेतो हात्ती हुने हो कि भन्ने चिन्ता पनि देखिन्छ । तर झण्डै आधा शताब्दी अगाडि नै पोखराको विकासको परिकल्पना गरेका दूरदर्शी व्यक्तित्वहरु भन्दा पनि अझ परम्परागत र यथास्थितिमा रमाउने सोच हामीले राख्नुहुँदैन । महानगरपालिकाको नयाँ नेतृत्व पनि विमानस्थलको अवरोधको रुपमा रहेको ल्याण्डफिल साइटको समस्या समाधानका लागि सक्रिय रुपमा लागेको देखिन्छ ।

पोखराको लागि यो विमानस्थल एक युगान्तकारी र अपरिहार्य पूर्वाधार हो र यसलाई व्यवसायिक रुपमा सञ्चालन गर्नका लागि सरकार, निजी क्षेत्र र सबै पोखरेलीले सकारात्मक सोच राख्नु र आ­आफ्नो भूमिका निर्वाह गर्न जरुरी छ ।

सबै हिसाबले पोखरा पर्यटकका लागि आर्कषणको केन्द्र नै हो । यहाँको पर्यटकीय विकास तथा सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न सबैको भूमिका रहेकै छ । नयाँ परिवेशमा पोखराको दिगो पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न पनि जरुरी छ ।

यस सन्दर्भमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नु सान्दर्भिक देखिन्छ । औपचारिक रुपमा सुरु भइसकेको यस बहसलाई घनिभूत, सार्थक र परिणाममुखी बनाउन गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका मार्फत संघीय सरकारलाई विशेष आग्रह गर्नुपर्ने हुन्छ ।

निजी क्षेत्र, सञ्चारमाध्यम र पोखरालाई माया गर्ने सरोकारवाला पनि पोखरालाई पर्यटकीय राजधानीको रुपमा हेर्न लालायित छन् । सबैको मन मनमा बसेको पोखरा र पोखरेलीहरुको आवाज शायद सही ठाउँसम्म पुगेको छैन कि । पोखराको पर्यटनको ढोका अझ फराकिलो बनाउन यो पहल समय सान्दर्भिक छ ।

हालसम्म भएका प्रयासहरु सकारात्मक भएपनि केवल प्रस्ताव पेश गर्ने र पत्राचार गर्ने उपायहरु मात्र पर्याप्त नहुन सक्छन् र अलि पृथक ढंगको पहल आवश्यक पर्नसक्छ । उदाहरणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्टिय पर्यटन परिषदको बैठक नबसेको धेरै समय भइसकेको छ, यो बैठक पोखरामा राख्ने प्रयास गर्न सकिन्छ ।

अझ कतिपय देशमा त संघीय सरकारको मन्त्रिपरिषदको बैठक बेला बेलामा राजधानी बाहिर राख्ने पनि प्रचलन छ । त्यसैले संघीय गणतन्त्र नेपालको मन्त्रिपरिषदको बैठक पोखरामा राखेर त्यही बैठकले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सकिन्छ कि ?

भण्डारी पर्यटन बोर्ड पोखराका प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?