
काठमाडौं । जुबिन नौटियाल यतिबेला बलिउड पार्श्वगायनको एक अग्लो नाम । गत महिना ‘रात लम्बियाँ’ गीतबाट उनले प्रतिष्ठित आइफा अवार्डको ट्रफी उचाले ।
सन् २०१४ को फिल्म ‘सोनाली केबल’ फिल्मको गीत ‘एक मुलाकात’बाट बलिउड गायनमा डेब्यु गरेका नौटियालको चर्चा पछिल्लो समय चुलिएको छ । ‘कबीर सिंह’को हिट ट्रयाक ‘तुझे कित्ना चाहें और हम’, मर्जाबन फिल्मका ‘किन्ना सोना’ र ‘तुम ही आना’ले त उनलाई बलिउड चार्टबस्टरमा स्थापित नै गरे ।
बलिउडका यी चर्चित गायक यतिबेला भने नेपाली फिल्मसँग जोडिएका छन् । नेपाली फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका लागि नौटियालको एक रोमान्टिक गीत रेकर्ड भएको छ । शुक्रबार मुम्बईस्थित उनकै स्टुडियोमा ‘कोही ना कोही नाता हे…’ गीतमा नौटियालले स्वर दिएका छन् ।
अमर मोहीद्वारा संगीतबद्ध उक्त गीतलाई फिल्मको हिन्दी संस्करणका निर्माता सुवास कालेले लेखेका हुन् । तर हिन्दी ‘प्रेमगीत ३’मा गीत गाउन नौटियाल एक्ला बलिउड स्टार भने होइनन्, यो सूचीमा अंकित तिवारी, पालक मुछाल, राहत फत्तेअली खान र देव नेगी यसअघि नै जोडिइसकेका छन् ।
हिन्दी संस्करणमा चार गीत समावेश भएको निर्देशक तथा निर्माता सन्तोष सेनले जनाए । ‘टिजर हेरेर कन्भिन्स भएपछि मात्र उहाँ गाउनका लागि तयार हुनुभयो,’ मुम्बईबाट निर्देशक सेनले भने, ‘हामीले बल्ल बल्ल गाउन लगायौं ।’ यो गीत सोमबार रिलिज तयारी छ ।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्म असोज ७ गते नेपाल र भारतसहित विश्वभर रिलिजको तयारीमा छ ।
प्रतिक्रिया 4