+
+
पर्या–विचार :

अबको बाटो पर्यावरणीय खेती

जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र यिनले निम्त्याएको समस्या पनि औद्योगिक राष्ट्रलाई जिम्मा दिएर उम्किन खोजिंदैछ । प्राकृतिक स्रोतमाथिको विवेकहीन दोहन तथा विकास, समृद्धि र आधुनिकताको नाममा भएका गलत अभ्यासबाट आगामी दिनमा झनै समस्या थपिंदै जानेछन् ।

दिपेश नेपाल, सरोज खतिवडा दिपेश नेपाल, सरोज खतिवडा
२०७९ भदौ ४ गते १९:०७

सन् १९९० देखि २०२२ सम्म आइपुग्दा विश्वको करिब ४२ करोड हेक्टर वनजंगल मासिएको छ । मानवीय गतिविधिका कारणले मात्र विगत १५० वर्षमा पृथ्वीको तापक्रम १.४ डिग्री सेल्सियस वृद्धि भएको छ भने अहिलेको कार्बन उत्सर्जन नरोक्ने हो भने यो तापक्रम वृद्धि अझै बढ्ने देखिन्छ जसको असर गुणात्मक हुनेछ ।

हिमालहरू काला हुँदैछन् । प्रत्येक वर्ष समुद्रको सतह ३.२ मिलिमिटरले बढेको छ । अनविकरणीय ऊर्जाको स्रोतको बढ्दो प्रयोगले खानी रित्तिंदै छन् । रसायन र विषादीको प्रयोगले माटो निर्जीव हुँदैछ । विश्वव्यापी महामारीहरू देखिने क्रम बढ्दो छ । वातावरणमा आएको यस्ता उथलपुथलकारी परिवर्तनको कारण मानिसमा भएको लोभ र यस बापत भएको प्रकृतिको दोहन नै मुख्य हो ।

माथि उल्लिखित विपत्ति सृजना हुने गरी प्राकृतिक स्रोत दोहन र वातावरणमा हानिकारक पदार्थहरू उत्सर्जन गर्ने कार्यमा मुख्य भूमिका स्वाभाविक रूपमा विकसित भनिएका औद्योगिक राष्ट्रहरूकै छ । तर कतिपय समस्या सृजना हुनुमा अविकसित भनिएका हाम्रो जस्तो देशहरूको पनि भूमिका छ । एभिभा चोम्स्कीले ‘इज साइन्स इनअफ’मा लेखेकी छिन्, ‘विश्वको करिब एक चौथाइ जलवायु परिवर्तनको कारक आधुनिक भनिएको कृषि अभ्यास र खेतीपातीका लागि जमिनमा गरिएको परिवर्तन हो ।’

के पर्यावरणीय कृषिले अहिले बढ्दै गरेको जनसंख्यालाई खान पुग्छ ? साना किसानको उत्पादनले मात्र मानिसलाई खान पुग्छ त ? तर अहिलेको खाद्य प्रणालीलाई केही मात्र परिवर्तन गर्ने हो भने हामीलाई थप खाद्यान्नको आवश्यकता नै पर्दैन ।

उनले अगाडि थपेकी छन्, ‘विश्वमा हुने जल प्रदूषणको करिब ७८ प्रतिशत हिस्सा पनि आधुनिक कृषि नै हो । पछिल्लो समय जल प्रदूषण मात्रैले पनि पृथ्वीका करिब २८ हजार प्रजाति संकटमा परेका छन् ।’ यसलाई आधार मान्ने हो भने जलवायु परिवर्तन र वातावरण प्रदूषण कम गर्न हाम्रो देशमा विकसित खेतीपातीको अभ्यासलाई परिवर्तन गर्न आवश्यक छ ।

जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणले नेपाल चौथो स्थानमा पर्दछ । धेरैजसो भूगोल हिमाली र पहाडी क्षेत्रमा छ । हिमालबाट पग्लेर पहाड हुँदै बग्ने पानीको धेरै महत्व किन पनि छ भने यो नै खानेपानी र खेतीपातीमा प्रयोग हुने पानीको स्रोत पनि हो । अधिकांश ग्रामीण क्षेत्र भएको हाम्रो समाजको जीवनशैली आजसम्म प्रकृतिसँग नजिक र यसैमा निर्भर छ ।

केही अध्ययनहरूले जलवायु परिवर्तन गराउन तथा जैविक विविधता संकटमा पुर्‍याउन नेपालको हिस्सा खासै नभएको देखाउँछन् वा यसलाई नजरअन्दाज गर्छन् । तर चोम्स्कीका अनुसार पछिल्लो समय मानिसको विकासप्रतिको अन्धमोह र बढ्दो जनसंख्यालाई बचाउने बहानामा विकास गरिएको हरित कृषि क्रान्तिको नक्कलले भने हामी पनि पर्यावरण बिगार्ने लाइनमा उभिएका छौं भन्ने कुरालाई नकार्न सकिंदैन ।

यस्तो कसरी भयो त भन्ने प्रश्नमा विचार गर्दा आधुनिक भनिने कृषिका बारेमा चर्चा गर्नु आवश्यक छ । सन् १९६० मा डा. नोर्मान ई. बोर्लाङले नोरिन जिनको आविष्कार गरेसँगै हरित क्रान्तिको फोहोरा विश्वभरि फैलियो । हरित क्रान्तिले तत्कालीन रूपमा उत्पादन वृद्धि र विश्वले भोगिरहेको भोकमरीको अन्त्य गर्दै बढ्दो जनसङ्ख्यामाथि भविष्यमा आउने खाद्य संकटलाई पनि सम्बोधन गर्छ भन्ने आधार निर्माण गर्‍यो ।

यसपछि विकसित विश्व व्यवस्थासँगै हरित क्रान्तिद्वारा विकसित कृषि पद्धतिलाई संसारभर एकमात्र उत्पादनको विकल्पको रूपमा चर्चा गरिए पनि हाम्रो जस्तो देशमा हरित क्रान्तिको नाम मात्र आयो तर काममा आएन ।

हरित क्रान्तिको आधार भनेकै प्रयोगशालामा विकसित गरेको बीउको प्रयोगशालामै विकास गरिएको मल र विषादीसँगको अन्तरसम्बन्धबाट वृद्धि भएको उत्पादन थियो । जसलाई फैलिंदै गरेका व्यापारिक नियोगहरूले लाभ लिनका लागि प्रयोग गरे ।

व्यापारिक नियोगहरूकै सक्रियतामा नेपालमा पहिले गहुँ, त्यसपछि धान र अन्य बीउ–बिजनको वर्णसंकर भित्र्याइयो । बीउबिजनसँगै उत्पादन बढाउन आवश्यक रासायनिक मल र विषादी पनि भित्र्याइयो । मकै र गहँुको उत्पादन क्षेत्र बढाउने, वर्णसंकर बीउबिजनको र रसायन मलको प्रयोग बढाउने सरकारी लक्ष्य नै तय गरियो ।

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास आएको छ । यसले एकातर्फ हरेक वर्ष रसायन विषादी बढाउनुपर्ने बाध्यता छ भने अर्कोतर्फ माटो नै निर्जीव हुँदै आएको छ ।

सोही अनुकूल कृषि प्रसारलाई हरेक तहमा खटाइयो । कृषि प्रसारहरू नयाँ सूचना त लिएर गए तर त्यो सूचना प्रविधिविहीन हुँदा अपूरो थियो । रासायनिक मलको प्रयोगले उत्पादन बढ्ने भनियो तर कति मल प्रयोग गर्ने सिकाइएन । विषादीको प्रयोग कुन बेला र कति मात्रामा गर्न सम्म सकिन्छ भनेर सिकाइएन । उत्पादन बढाउने नाममा स्थानीय बीउबिजन गुमाउँदै गइयो ।

यसरी हेर्दा आधुनिक भनिएको कृषि मार्फत हामीले वातावरण मात्र बिगारेका छैनौं, यसले हाम्रो अर्थतन्त्र, मानिस र माटोको स्वास्थ्य समेत बिगारेका छौं । बीउबिजन र मलको परनिर्भरता ह्वात्तै बढाएको छ । जस्तो अहिले गाउँघरमा मौसमी तथा रैथाने तरकारी, अन्न र फलफूलको बीउसम्म पाइँदैन भने मलको स्रोतको रूपमा रहेको पशुपालन घट्दै गएको छ ।

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास आएको छ । यसले एकातर्फ हरेक वर्ष रसायन विषादी बढाउनुपर्ने बाध्यता छ भने अर्कोतर्फ माटो नै निर्जीव हुँदै आएको छ ।

रैथाने ज्ञान, बीउ र खाने बानी लोप भए । कृषि र माटो विकसित प्रयोगले मानिसहरू थाहा नै नपाउँदै संकटको चंगुलमा फस्न बाध्य भए । जसको असर अहिले हुने गरेका अर्बौंको खाद्यान्न आयात, बिग्रँदो स्वास्थ्य अवस्था र जैविक विविधतामा आएको ह्रासले पुष्टि गरिसकेको छ ।

खेतीपातीको कारण सृजना भएका समस्याको विकल्प खेतीपातीकै अवस्था सुधार गरेर गर्न सकिन्छ र यसको विकल्प भनेको पर्यावरणीय खेती वा प्रकृतिसँगै गरिने खेती नै हो । सामान्यतया, पर्यावरणीय खेती प्रणाली भन्नाले स्थानीय स्रोतसाधनको प्रयोग गरेर माटोको सुरक्षा गर्ने, रैथाने खेती प्रणालीलाई परिस्कृत गर्दै अगाडि बढ्ने, जैविक विविधताको संरक्षण गर्ने खेती प्रणाली भन्ने बुझिन्छ । जुन खेती प्रणाली दिगो, प्रकृति अनुकूल र प्राकृतिक विज्ञानमा आधारित हुन्छ ।

प्राकृतिक खेती प्रणालीको आधारहरू बहुबाली, एकीकृत शत्रुजीव व्यवस्थापन, माटोको उर्वराशक्ति व्यवस्थापन, स्थानीय ज्ञान र स्थानीय स्रोत–साधनको मौलिक अभ्यास हो । यस्तो खेती प्रणालीले हाल जलवायु परिवर्तनले उत्पन्न गरेका समस्यासँग जुध्नका बाबजुद आम किसानको प्रकृति र खाद्यान्नसँग उत्तम सम्बन्ध स्थापित गराउँदै कृषि उत्पादन र खाद्य संस्कृतिको संरक्षण पनि गर्ने भएकोले आज पर्यावरणीय कृषि अपरिहार्य बनेको छ ।

पर्यावरणीय कृषिको कुरा गर्दा सधैं एउटा प्रश्न प्रमुख रूपमा उठाइन्छ, के पर्यावरणीय कृषिले अहिले बढ्दै गरेको जनसंख्यालाई खान पुग्छ ? साना किसानको उत्पादनले मात्र मानिसलाई खान पुग्छ त ? तर अहिलेको खाद्य प्रणालीलाई केही मात्र परिवर्तन गर्ने हो भने हामीलाई थप खाद्यान्नको आवश्यकता नै पर्दैन ।

अध्ययनका अनुसार अहिले उत्पादन भएको कुल खाद्यान्नको करिब ९ प्रतिशत हिस्सा जैविक इन्धन बनाउन प्रयोग हुन्छ, ३६ प्रतिशत पशुपालनमा प्रयोग हुन्छ भने करिब ५५ प्रतिशत मात्रै मानिसले सीधै खान प्रयोग गरेको पाइन्छ ।

यो सँगै खेर जाने खाद्यान्नको ख्याल गर्ने हो भने अहिलेको विश्वको जनसंख्यालाई खुवाउन, अहिले उत्पादन भैरहेको उत्पादनको करिब ४५ प्रतिशत मात्रै आवश्यक देखिन्छ भने अहिले उत्पादन भएको ७० प्रतिशत साना किसानले उत्पादन गर्ने गर्दछन । यसरी हेर्ने हो भने स्थानीयतामा आधारित पर्यावरणमैत्री खेती प्रणालीबाट प्रकृतिको ह्रास नगरिकनै विश्वको जनसंख्यालाई चाहिने खाद्यान्न उत्पादन गर्न सकिन्छ ।

अधिकांश साना किसान भएको नेपालको सन्दर्भमा पनि खाद्य संस्कृतिमा सुधार ल्याउने हो भने खाद्यान्नको आवश्यकता स्थानीय उत्पादनबाटै पूरा गर्न सकिन्छ, यसका साथै बिग्रँदो मानव स्वास्थ्य र पर्यावरण पनि जोगाउन सकिन्छ ।

सन् २०१८ मा विश्व खाद्य संगठनले विकास गरेका कृषि पर्यावरणका केही सर्वमान्य सिद्धान्त छन् । जसको प्रयोग हामी हाम्रो हरेक कृषि क्रियाकलापमा सम्भव भएसम्म गर्न सक्छौं । कृषि पर्यावरणमा हामी विकेन्द्रित कृषि प्रणालीबाट बोटबिरुवा, माटो, माटोमा पाइने जीवांश, शत्रुजीव, मित्रजीव र वातावरणीय अवस्थाहरूको पूर्ण सन्तुलन राख्ने प्रकृतिसँग जोडिएको कृषि प्रणालीतिर अगाडि बढ्दछौं ।

यो प्रणालीबाट हामीले नै बिगारेको रैथाने ज्ञान पुनस्र्थापित र परिमार्जन गर्दै उत्पादन क्षमता र आवश्यकता बीच सामञ्जस्य कायम गर्दै माटो र पर्यावरण भावी पुस्ताको लागि पनि सुरक्षित राख्न सकिन्छ ।

यस्तो कृषि प्रणाली साना र सीमान्तकृत किसानहरूको आत्मनिर्भर र आत्मसम्मानबाट विकास हुने कृषि प्रणाली हो । यसले पर्यावरणीय खेतीलाई अझ आम मानिसको तर्फबाट, किसानको तर्फबाट स्थापित गर्नुपर्ने आन्दोलनको रूपमा पनि लिन र विकास गर्न आवश्यक छ ।

विश्वमा क्युवा, जापानको सिकोआका सहर, भारतको सिक्किम प्रान्त, भुटान जस्ता देशहरूले गरेको कृषि अभ्यास मात्र नभई हिजो हरित कृषि क्रान्ति नै बढ्दो मानिसको भोक मेट्ने एकमात्र आधार हो भनेर वकालत गर्ने पश्चिमाहरूले पनि पर्यावरण अनुकूल खेतीमा देखाएको चासोले यो अबको खेती प्रणालीमा देखिएको सम्भावना पनि हो । जुन मानव जीवन तथा समग्र प्रकृतिको विरुद्धमा हुने खेतीपातीका अभ्यासलाई निरुत्साहन गरेर पर्यावरणको रक्षा गर्दै कृषिमा आत्मनिर्भर हुँदै जाने मार्ग पनि हो ।

नेपालको कृषि अभ्यासमा पनि पर्यावरणीय खेती कुनै असम्भव र नयाँ कुरा होइन । यो हिजोका लिम्बू, किरात, तामाङ लगायतका किसानहरूले वर्षाैं पहिले गरेकै कृषि अभ्यास हो । जुन अभ्यास निजी जमिनमा मात्र सीमित थिएन । एक बाली मात्र सीमित थिएन । यो त प्रकृतिसँग पूर्ण अन्तरसम्बन्धित थियो ।

उनीहरूको खेती अभ्यास र जीवनशैलीमा वन थियो, खोलानाला थिए, ढुङ्गा थिए, पहाड थिए अझ भनौं सिङ्गो प्रकृति थियो । चेपाङहरूलाई जंगलको माली भनिन्थ्यो, थारूलाई धर्तीको पुत्र । नेपालका जनजातिहरू प्रकृति पूजक भएकाले उनीहरू प्रकृतिको रक्षा गर्दै खेती गर्थे ।

पछिल्लो समय माटो र पर्यावरण बिग्रँदै जानुको मुख्य कारण भनेकै खेतीपातीमा विकास भएको गलत अभ्यास पनि हो भन्दा फरक पर्दैन, विभिन्न अनुसन्धानबाट प्रमाणित भएकै छ । जसमा रासायनिक मलको अन्धाधुन्द र अत्यधिक प्रयोग, कीटनाशक, रोगनाशक जस्ता विषादीको प्रयोग, आनुवंशिकी बीउहरूको बढ्दो प्रयोग, आधुनिकीकरण तथा व्यावसायिकीकरणको नाममा एकल खेतीको थालनी नै मुख्य कारण हुन् । यसतर्फ बेलैमा सचेत भएर पर्यावरणीय तथा दिगो कृषितिर नलाग्ने हो भने भोलि आउने प्राकृतिक तथा मानव सृजित विभिन्न खाले समस्या भोग्न तयार हुनुको विकल्प छैन ।

एकातिर हाम्रो जस्तो धेरै मानिस प्रत्यक्ष–परोक्ष रूपमा कृषिमा लागेको देशमा पर्यावरणको समस्या अझ पेचिलो तर हेर्न नखोजिएको सवाल बन्दैछ । अर्कोतर्फ जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र यिनले निम्त्याएको समस्या पनि औद्योगिक राष्ट्रलाई जिम्मा दिएर उम्किन खोजिंदैछ ।

प्रकृतिको स्रोतमाथिको विवेकहीन दोहन तथा विकास, समृद्धि र आधुनिकताको नाममा भएका गलत अभ्यासबाट आगामी दिनमा झनै समस्या थपिंदै जानेछन् । यदि अहिलेको खेती प्रणालीलाई फेरि प्रकृतितिरै नफर्काउने हो भने यसको असर भोलिको दिनमा गुणात्मक रूपमा बढ्दै पनि जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?