+
+

अर्केष्ट्रामा सई बर्दीमै नाचेपछि…

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७९ भदौ ५ गते १०:२९
सई राजकिशोर साह नाचेको भिडियो फुटेजबाट तानिएको तस्वीर

५ भदौ, रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक *(सई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

सई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ ।

साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरुलाई मोबाइलमा फोटो वा भिडियो नखिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।

नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ‘अमर्यादित हर्कत गर्ने प्रहरी नायब निरीक्षकलाई विभागीय कारबाहीका लागि प्रक्रिया शुरु भएको छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी सुनिल मल्लले भने, ‘उनलाई तत्कालै कार्यरत चौकीबाट हटाएर जिम्मेवारी खोसिएको छ ।’ उनीमाथि विभागीय कारबाहीको थप काम पनि अगाडि बढाइएको उनले जानकारी दिए ।

जिल्लाभरि नै अश्लील अर्केष्ट्रा नाच नाच्ने गरिए पनि जिल्ला प्रहरी कार्यालय रौतहटले त्यसलाई रोक्न चासो नदिएको गुनासो छ । एकजना स्थानीयले यस्ता अर्केष्ट्राहरुमा प्रहरी कर्मचारीहरुले नै आर्थिक लाभ लिएर सुरक्षा प्रदान गर्ने गरेको आरोप लगाए ।

भिडियोमा हेर्नुहोस् :

(*यसअघि समाचारमा राजकिशोर साह सई हुनुपर्नेमा असई लेखिएकाले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?