+
+
विचार :

वैदेशिक रोजगारीलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने ?

ठगिएपछि पछुताउनु र समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउनुपूर्व नै वैदेशिक रोजगारी र श्रम स्वीकृति बारे सही सूचना र जानकारी थाहा पाएमा समस्यामा कमी आई वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुने देखिन्छ।

रमेश अर्याल रमेश अर्याल
२०७९ भदौ ५ गते १५:३२

नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि विदेशिएका छन् । केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांश नेपालीका लागि यो बाध्यता बन्न पुगेको छ। बाध्यतावश चर्को व्याजमा ऋण लिएर विदेश जान चाहेका र जानु परेका युवाहरू वैदेशिक रोजगारी र श्रम स्वीकृतिको प्रक्रिया थाहा नहुँदा ठगिएको र दु:ख पाएको पाइन्छ।

ठगिएपछि पछुताउनु र समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउनुपूर्व नै वैदेशिक रोजगारी र श्रम स्वीकृति बारे सही सूचना र जानकारी थाहा पाएमा समस्यामा कमी आई वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुने देखिन्छ।

यस लेखमा वैदेशिक रोजगारीको अवस्था, श्रम स्वीकृतिको प्रक्रिया, वैदेशिक रोजगारीको क्षेत्रमा भएका सुधार तथा विदेश जानुपूर्व, विदेश गइसकेपछि र विदेशबाट फर्केपछि थाहा पाउनुपर्ने विषयबारे चर्चा गरिएको छ।

१. विषयप्रवेश

वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगार भनी परिभाषित गरेको छ। यद्यपि भारतमा काम गर्न जानुलाई वैदेशिक रोजगारीको कानूनी दायरामा समावेश गरिएको छैन।

नेपाल सरकारले संस्थागत रूपमा १११ देशलाई वैदेशिक रोजगारीको लागि खुला गरेकोमा हाल अफगानिस्तान, इराक र लिवियामा रोक लगाइएको छ।व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भने १७८ देशहरू खुला छन्। २०७९ साउन महिनाको तथ्यांक अनुसार दैनिक दुई हजार युवा कामका लागि विदेशिने गरेका छन्।

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र धानिएको छ। आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रेको छ। कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको अनुपात करिब २१ प्रतिशत छ। रेमिट्यान्सले वैदेशिक मुद्रा आर्जन तथा शोधनान्तर स्थितिमा सहयोग पुगेको छ र अहिले अर्थतन्त्रलाई ढाडस दिएको छ।

शिक्षा, स्वास्थ्य, पोषण, आवास तथा स्थानीय आय आर्जनमा योगदान पुगी गरिबी घटाउने प्रमुख कारण वैदेशिक रोजगारी बनेको छ। विदेशमा आर्जित रकम र सीपले स्वदेशमा उद्यम र स्वरोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।यद्यपि वैदेशिक रोजगारीले केही परिवारमा विखण्डन र विचलन बढेको, कृषियोग्य जग्गाजमिन बाँझो रहेको, गाउँमा वृद्धवृद्धाको मात्रै उपस्थिति भएको र देशमा युवाशक्तिको अभाव भएको छ।

२.वैदेशिक रोजगारीको अवस्था

आर्थिक वर्ष २०५०/५१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने ३ हजार ६०५ जना भएकोमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ६ लाख ३० हजार ९७ जनाको श्रम स्वीकृति जारी भएको छ।भारत बाहेक अन्य देशमा हालसम्म दोहोर्याएर जाने समेत गरी करिब ७५ लाख जनाको श्रम स्वीकृति जारी भएको छ।

अहिले पनि करिब ३५ लाख नेपाली विदेशमा कार्यरत रहेको अनुमान छ।अझ श्रम स्वीकृति नलिएर भिजिट भिसा र विद्यार्थी भिसामा विदेश गएर काम गर्नेको संख्या जोड्ने हो भने यस्तो संख्या ठूलो हुन्छ। यद्यपि राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार २१ लाख ७० हजार व्यक्ति नेपालको परिवारबाट अनुपस्थित भई विदेशमा बसोबास गरेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ महामारीका कारण श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ६७ हजार भएकोमा आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार पुगेको छ। यसअघि आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ४३ हजार र आर्थिक वर्ष २०७२/७३ मा ६ लाख ४१ हजार श्रम स्वीकृति जारी भएको थियो। अहिले वैदेशिक रोजगारीले पुरानै लय लिएको छ।

कोभिडका कारण पछिल्ला दुई वर्ष मलेशियाले कामदार लैजान रोकेकोमा हाल लैजान सुरु गरेसँगै मलेशिया जानेको संख्या बढ्न थालेको छ र वैदेशिक रोजगारीमा जानेको संख्या आगामी दिनमा अझ बढ्ने देखिन्छ ।

चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा श्रम स्वीकृति लिने नेपालीको संख्या ६३ हजार ४२ पुगेको छ। गत आर्थिक वर्षको साउन महिनामा २५ हजार ४२८ नेपालीले श्रम स्वीकृति लिएका थिए।

साउन महिनामा सबैभन्दा बढी मलेशियाको लागि २४ हजार ४८४ श्रम स्वीकृति जारी भएको छ। कतारमा १२ हजार ५७०, संयुक्त अरब इमिरेट्समा ८ हजार १४०, साउदी अरेबियामा ६ हजार ७०५ र कुवेतमा ४ हजार २८४ श्रम स्वीकृति जारी भएको छ।

यी पाँच देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन्। कुल श्रम स्वीकृति लिनेमध्ये पुन: श्रम स्वीकृति लिने अर्थात् दोहोर्याएर जाने ३२ प्रतिशत छन् भने पहिलोपटक जाने ६८ प्रतिशत छन्। गत आर्थिक वर्षमा दोहोर्याएर जाने ४५ प्रतिशत थिए। श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन्।

जिल्लागत आधारमा हेर्ने हो भने धेरै श्रम स्वीकृति लिने जिल्लाहरू क्रमश: धनुषा, सिरहा, महोत्तरी, झापा र मोरङ छन्। वैदेशिक रोजगारीमा गएका मध्ये करिब दुईतिहाइ अदक्ष छन्।

३.श्रम स्वीकृति के हो र कसरी लिने ?

विदेशमा काम गर्न जानका लागि नागरिकलाई सरकारले प्रदान गर्ने अनुमति नै श्रम स्वीकृति हो।संस्थागत र व्यक्तिगत प्रक्रियाबाट श्रम स्वीकृति जारी गर्ने कानूनी प्रावधान रहेको छ।संस्थागत प्रक्रियाको अवलम्बन गरी वैदेशिक रोजगारीमा जाँदा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले नै आवश्यक प्रक्रिया अगाडि बढाउने गर्छन्।

नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार कार्यालयबाट पूर्व स्वीकृति लिने, विज्ञापन गरी व्यक्ति छनोट गर्ने र श्रम स्वीकृतिका लागि अनलाइन फारम भरिदिने लगायतका काम म्यानपावर कम्पनीले गर्छन्। सरकारले तोकेको अभिमुखीकरण संस्थामा दुई दिनको अभिमुखीकरण, स्वास्थ्य परीक्षण, बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउने रकम तथा अनलाइन फाराम भर्न पनि म्यानपावर कम्पनीले नै सहजीकरण गर्छन्।

व्यक्तिगत प्रक्रियाबाट जाँदा व्यक्ति आफैंले नै प्रक्रिया अगाडि बढाउनुपर्छ। नयाँ व्यक्तिगत श्रम स्वीकृतिको लागि भिसा, करार सम्झौता लगायत कागजात प्राप्त भएपछि अभिमुखीकरण संस्थामा दुई दिनको अभिमुखीकरण र तोकिएको मेडिकल संस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्छ।

त्यसपछि श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्नुपर्छ। अनलाइनमा अपलोड गर्नुपर्ने कागजातहरू पासपोर्ट, भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण रहेका छन्। रोजगारदाता कम्पनी वा स्पोन्सरको आधिकारिक इमेलबाट भिसा, करार वा सम्झौतापत्र स्क्यान गरी सम्बन्धित व्यक्ति र कार्यालयको इमेलमा आउनुपर्छ।उक्त इमेलको स्क्रिनसट गरी अनलाइनमा अपलोड गर्नुपर्छ जसले गर्दा कार्यालयमा पठाएको मिति खोज्न सजिलो हुन्छ।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका, २०६९ को प्रक्रिया बमोजिम सम्बन्धित देशको नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले पेश गर्नुपर्ने कागजातहरू राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपि लगायत विवरण रहेका छन्।

नेपाली राजदूतावासबाट यी कागजात सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा आउनुपर्ने हुन्छ।सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात अनलाइनमा अपलोड गर्नुपर्छ। श्रम स्वीकृति नलिई घरेलु कामदारको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, 2072 को अनुसूची 8 बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सिफारिस पत्र पनि अपलोड गर्नुपर्छ।

विदामा स्वदेश आएर फर्कनु परेमा पुन: श्रम स्वीकृति लिनुपर्छ। पहिले लिएको श्रम स्वीकृतिको म्याद ९० दिन भन्दा कम भए पनि पुन: श्रम स्वीकृति लिनुपर्छ।पुन: श्रम स्वीकृतिको लागि अभिमुखीकरण र स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र आवश्यक पर्दैन।

पुन: श्रम स्वीकृतिको लागि अनलाइन आवेदन गर्दा अपलोड गर्नुपर्ने कागजातहरू राहदानी, भिसा, पहिलेको श्रम स्वीकृतिको प्रमाण, अध्यागमन कार्यालयले राहदानीमा लगाएको प्रस्थान र आगमन स्ट्याम्पको प्रमाण, गन्तव्य मुलुकको नियम बमोजिम कम्पनी परिवर्तन भएकोमा करार सम्झौता पत्र, घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सिफारिस पत्र स्क्यान गरी अपलोड गर्नुपर्छ। वैदेशिक रोजगार कल्याणकारी कोष र म्यादी जीवन बीमाको रकम अनलाइन भुक्तानी प्रदायकबाट तिर्न सकिन्छ लाइन लागेर बुझाउनु पर्दैन।

श्रम स्वीकृति गर्दा म्यादी जीवन बीमाको शुल्क उमेर अनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि १५०० रुपैयाँ शुल्क लाग्छ। म्यादी जीवन बीमा ३५ वर्षसम्मका लागि ३ हजार ७०८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि ४ हजार ९३१ रुपैयाँ र ५१ वर्षदेखि माथिका लागि ९ हजार ४६३ रुपैयाँ मात्र शुल्क लाग्छ।

४.सुधारका प्रयास

पछिल्लो समयमा वैदेशिक रोजगारीको क्षेत्रमा सुधारका काम हुन थालेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा चौबीसै घण्टा सञ्चालन हुने गरी कल सेन्टर तथा वैदेशिक रोजगार सम्बन्धी गुनासो सुनुवाइ कक्षको स्थापना भएको छ।

श्रमिकहरूको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्य अगाडि बढेको छ।वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विना झन्झट आधुनिक प्रविधिमार्फत सहज र सरल तरिकाबाट सेवाप्रवाह हुन थालेको छ।

सूचनाप्रविधिको माध्यमबाट श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाई छिटो, छरितो र पारदर्शी रूपमा गुनासोरहित सेवाप्रवाह गर्न वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृतिको सबै काम अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्थासँगै सेवाप्रवाह प्रभावकारी बनेको छ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई सम्मान तथा पुरस्कार पनि दिने गरेको छ।यसकारण स्वदेश फर्किएपछि आफ्नै गाउँठाउँमा उद्यम व्यवसाय गरी बस्नुपर्छ।वैदेशिक रोजगारीको क्षेत्रमा भएका विकृति, विसंगति र बेथिति नियन्त्रणका लागि सरकारले गरेका पहलमा सहयोग गर्नुपर्छ।वैदेशिक रोजगारीमा जान चाहनेलाई सही सूचना दिई सहजीकरण गर्नुपर्छ।

कार्यालयले २०७८ माघ २ गतेबाट पुन: श्रम स्वीकृति, २०७९ वैशाख २ गतेबाट संस्थागत श्रम स्वीकृति र २०७९ जेठ ६ गतेबाट नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र काम गर्न थालेसँगै कार्यालयमा दैनिक हुने दुई हजार बढीको भीड हटेको छ।

सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो सुन्नु परेको र कर्मचारीहरूले समेत रातिसम्म काम गर्नुपर्दथ्यो। कार्यालयमा बिहानैदेखि सेवाग्राहीको भीडभाड हुन्थ्यो। कार्यालयदेखि सोल्टीमोडसम्म सेवाग्राहीले भरिएका हुन्थे।

नेपाल प्रहरीका ६ जना जनशक्ति लाइन व्यवस्थापन गर्न खटिन्थे।टोकन पाउन सेवाग्राहीलाई हम्मे हम्मे पर्दथ्यो।बिचौलियाहरू कार्यालय परिसर वरिपरि जम्मा भएर सेवाग्राहीलाई ठग्ने गर्दथे।कार्यालय प्रमुखसमक्ष सेवाग्राहीका गुनासा मात्रै हुन्थे।

अहिले सेवाग्राहीको गुनासो सुन्न नपरेको र कर्मचारी समेत समयमै घर जान पाएका छन्।अनलाइनका कारण सेवाग्राहीको लागतमा पनि कमी आएको छ।सेवाप्रवाहका चार चरण घटाई दुई चरण कायम गरी काम छिटोछरितो भएको छ।

अहिले दैनिक २ हजार ५०० बढीको श्रम स्वीकृति अनलाइनबाट हुने गरेको छ।अनलाइन आवेदनका आधारमा क्रमैसँग काम हुने गरेको छ। कुनै सेवाग्राहीको कागजात अपुग भएमा म्यासेज पठाएर थप विवरण अनलाइनबाटै मगाउने गरिएको छ।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन, गुनासोलाई तत्काल निराकरण गर्न र्‍यापिड रेस्पोन्स टिमको गठन भएको छ।वैदेशिक रोजगारसम्बन्धी समस्या हेर्ने गरी छुट्टै प्रहरी युनिटको व्यवस्था भएको छ। विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुन: सोही देश, रोजगारदाता र भिसामा जाँदा सम्बन्धित देशको राजदूतावासबाट घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिकाको अनुसूची ८ लगायत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थाले रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका कैयौं महिला श्रमिक लाभान्वित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्क हटेको छ र विमानस्थलमा श्रमिकहरू निश्चित द्वारबाट मात्र प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।वैदेशिक रोजगार नीति, २०६८, वैदेशिक रोजगार ऐन, २०६४ लगायतका नीति तथा कानूनलाई समसामयिक परिमार्जन गर्ने कामको सुरुवात भएको छ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पूँजी, सीप, प्रविधि र अनुभवलाई नेपालमा नै उद्यमशीलताको विकास र सीपको प्रवर्द्धनमा उपयोग गराउन पुन: एकीकरण कार्यक्रम सञ्चालन र व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भई कार्यान्वयनमा आएको छ।

वैदेशिक रोजगार विभाग र कार्यालयबाट सञ्चालन हुने सेवाहरूलाई सरलीकरण गर्न कार्यसञ्चालन कार्यविधि 2079 तर्जुमा गरी कार्यान्वयन भएको छ। यस कार्यविधिमा श्रम स्वीकृतिका लागि आवश्यक कागजात र प्रक्रियाका बारेमा उल्लेख भएको छ।

यस कार्यविधिले पुन: श्रम स्वीकृतिको हकमा पेपर भिसा अनलाइनबाट परीक्षण गर्न सकिएमा सम्बन्धित देशको नेपाली राजदूतावासको प्रमाणीकरण आवश्यक नपर्ने, ड्राइभिङ्ग भिसामा विदेश गएको वा ड्राइभिङ्ग भिसा लगाई विदामा नेपाल आएर पुन: फर्किने कतिपय कामदारको भिसा ड्राइभिङ्ग भए पनि विदेशमा अन्य प्रकृतिको काम गर्ने व्यक्तिहरूको हकमा कम्पनीबाट ग्यारेन्टी पत्र आएमा पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको छ।

पानीजहाजमा काम गर्न जाने व्यक्तिले सम्बन्धित देशबाट जारी भएको ओ के टु बोर्ड वा भिसा, सम्बन्धित कम्पनीबाट प्राप्त टिकट र उडान विवरण सम्बन्धित कम्पनीबाट कार्यालयको इमेलमा प्राप्त भएमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेसँगै विगतमा यी विषयमा भएका अन्योल हटेर श्रम स्वीकृतिमा सेवाग्राहीलाई सहजता भएको छ।

५.सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका लागि सामूहिक दायित्व

वैदेशिक रोजगारसँग सम्बन्धित गुनासाहरू नआउने गरी काम गर्न म्यानपावर व्यवसायी, अभिमुखीकरण संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, आमनागरिक र कर्मचारी सबैले आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ। वैदेशिक रोजगार व्यवसायीले नाफाभन्दा पनि सेवाभावको हिसाबले तोकिएको रकम मात्र लिनुपर्छ।

नागरिकलाई दु:ख दिने गरी बढी पैसा लिनुहुँदैन। पूर्व स्वीकृति लिएर मात्र विज्ञापन गरी तोकेको काम र तलबमा कामदार पठाउनुपर्छ।स्वदेशमा एउटा काममा पठाउने तर विदेश पुगेपछि थौरे पैसामा अर्को काममा लगाउने र विदेशमा बिचल्लीमा पार्ने काम गर्नुहुँदैन।

कामदार विदेश पठाएपछि नेपाल फर्केर नआएसम्म वा श्रम स्वीकृतिको म्यादसम्मको नैतिक जिम्मेवारी म्यानपावर कम्पनीले लिनुपर्छ।आफूले पठाएका कामदारको अवस्था के कस्तो छ भनी समय समयमा जानकारी लिनुपर्छ।विदेशमा बिचल्ली भएमा वा दुख पाएमा आकस्मिक रूपमा उद्धार गर्नुपर्छ।गैरकानूनी काममा नलागी सरकारको नियम अनुसार पेशागत मर्यादा र नैतिकतामा रहेर म्यानपावर कम्पनीले काम गर्नुपर्छ।

वैदेशिक रोजगारमा जाने कामदारको अभिमुखीकरण गर्ने संस्था र स्वास्थ्य परीक्षण गर्न अनुमति प्राप्त संस्थाले पनि मर्यादित र नैतिकवान भएर कानूनी मापदण्ड बमोजिम अभिमुखीकरण र स्वास्थ्य परीक्षण गर्नुपर्छ।

देशमा रोजगारी नपाएर महङ्गो व्याजदरमा ऋण काढेर विदेशमा जान लागेका दाजुभाइ दिदीबहिनीको सेवा गर्न पाउनुलाई कर्मचारीले अवसर ठान्नुपर्छ। विदेश जान बाध्य दाजुभाइ दिदीबहिनीहरूले निजका परिवारलाई पठाएको रकमको उपभोग गर्दा मूल्य अभिवृद्धि कर, अन्तशुल्क, भन्सार लगायतका अप्रत्यक्ष कर सरकारलाई प्राप्त भएको छ, कतिले रेमिट्यान्सबाट व्यापार व्यवसाय गरेर आयकर पनि तिरेका छन्।त्यही राजस्वबाट तलब खाएका छौं भन्ने कुरालाई कर्मचारीले सदैव हेक्का राख्नुपर्ने हुन्छ।

विदेश जान चाहने व्यक्तिले १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रिया अवलम्बन गर्नुपर्छ। वैदेशिक रोजगारीमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नुहुँदैन।आफू जान चाहेको मुलुक, कम्पनी, काम गर्ने पद, जान लाग्ने लागत खर्च, पाउने तलब, बस्‍ने व्यवस्था, काम गर्नुपर्ने घण्टा, ओभरटाइम भत्ता, करार अवधि आदि लगायत सेवासुविधाका साथै पहिले गएका व्यक्तिहरूको अनुभव र घरपरिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र विदेश जाने योजना बनाउनुपर्छ।

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानुपर्दछ।श्रम स्वीकृति लिएर गएमा मात्र विदेशमा कुनै समस्या परेमा उद्धार गर्न तथा क्षतिपूर्ति दिलाउन सहयोग पुग्छ। सरकारले निषेध गरेको देशमा र काममा जानुहुँदैन।

भिजिट भिसामा विदेशमा श्रम गर्न जानु अवैधानिक हुने र यस्ता व्यक्तिको सेवा, सुविधा र शर्त सम्बन्धमा वैदेशिक रोजगार ऐन र नियमावली आकर्षित नहुने हुँदा अलपत्र परेमा र दुख पाएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुनुपर्छ।त्यसैले कोही पनि भिजिट भिसामा काम गर्न विदेश जानुहुँदैन।वैदेशिक रोजगारीमा जान चाहने र जानेले श्रम स्वीकृतिका साथै वैदेशिक रोजगारीका प्रक्रियाबारे थाहा पाउनुपर्छ।

६. विदेश जानुपूर्व, गएपछि र फर्केपछि थाहा पाउनुपर्ने कुरा

संस्थागत रूपमा वैदेशिक रोजगारमा जाँदा नवीकरण भएको विश्वासिलो र भरपर्दो म्यानपावर कम्पनीमार्फत जानुपर्छ। वैदेशिक रोजगार विभागबाट इजाजत लिएको म्यानपावर कम्पनी हो कि होइन ? उक्त म्यानपावरको कामकारबाही रोक्का भएको छ छैन ? खारेजीमा परेको छ छैन ? इजाजत प्राप्त म्यानपावर कम्पनीको सूचना वा विज्ञापन हो होइन ? बुझ्नुपर्छ। बिचौलियाहरूको भर पर्नुहुँदैन।

आफ्नो नाममा भिसा प्राप्‍त भई वैदेशिक रोजगारमा जाने निश्‍चित र जाने लागत खर्च यकिन भएपछि म्यानपावर कम्पनीमा वैदेशिक रोजगारको लागि भन्ने प्रयोजन खुलाई पैसा बुझाएर भरपाई लिनुपर्दछ।बैंकमार्फत कारोबार भए म्यानपावर कम्पनीको बैंक खातामा वैदेशिक रोजगारीको लागि भन्ने प्रयोजन खुलाएर रकम बुझाई भौचर लिनुपर्छ।

कुनै कारणवश उजुरी गर्नुपर्ने बाध्यता भयो भने रकम बुझाएको भर्पाई वा बैंक भौचरमा वैदेशिक रोजगारीका लागि भन्ने प्रयोजन खुलेमा उक्त प्रमाण बलियो हुन्छ।पूर्व स्वीकृति अनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम दिनुहुँदैन। इजाजत प्राप्‍त म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधिभित्र पठाउने र कति लागतमा पठाउने हो ? यकिन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनुपर्छ।

सीप सिकेर विदेश जाँदा तलब र सुविधा धेरै हुने भएकोले सीप सिकेर मात्र जानुपर्छ। सीप तालिम लिंदा खर्च र समय लाग्ने भनेर टार्ने, नक्कली प्रमाणपत्र बनाएर जाने, आफूले नजानेको काम जान्दछु भनेर जानुहुँदैन।सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाणपत्र लिनुपर्छ।

विदेश जानुअघि स्वीकृत अभिमुखीकरण संस्थामा गई अनिवार्य रूपमा दुई दिनको अभिमुखीकरण लिनुपर्छ।अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, रहनसहन, धर्म, कानून, काम गर्ने वातावरण, ट्राफिक नियम, श्रम सम्बन्धी सामान्य कानूनी प्रावधान लगायत विषयमा जानकारी प्राप्‍त हुन्छ।

श्रम स्वीकृतिको लागि अनलाइनमा आवेदन सकभर आफैंले वा आफन्तमार्फत भर्न र घरमा नभई अन्यत्र अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी ठगिनु हुँदैन।अनलाइन फर्म भर्नेलाई बीमा र कल्याणकारी कोषको लागि कति रकम हो र फर्म भरेको कति हो ? भनी प्रश्न गर्नुपर्छ। अहिले अनलाइन फर्म भर्नेले धेरै रकम लिएको गुनासो आइरहेको अवस्था छ।

त्यसैले अनलाइन फर्म भर्नेसँग सचेत हुनुपर्छ। केही कुरा बुझ्नुपरेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको कल सेन्टरको निशुल्क फोन नम्वर ११४१ अथवा १६६००१५००५ वा वैदेशिक रोजगार कार्यालयको टेलिफोन नम्बर ५३००६६७ मा फोन गर्नुपर्छ।श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सोको कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको इमेलमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल प्रयोग गर्नुपर्छ।

विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाई टिकटको व्यवस्था गर्नुपर्छ। केही सेवाग्राहीले श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको पाइन्छ।पूर्ण रूपमा अनलाइनबाट श्रम स्वीकृतिको काम गर्दा आवेदनको क्रमसंख्या अनुसार श्रम स्वीकृतिको काम हुने भएकोले पछाडिको आवेदनलाई अगाडि ल्याउन सकिंदैन।

अधिकांश सेवाग्राहीको अनलाइन आवेदन गरेको दिनमा नै श्रम स्वीकृति हुने गरी काम भए तापनि केही सेवाग्राहीको कागजात अपुग हुने, अस्पष्ट हुने लगायत कारणले आवेदन अस्वीकृत गर्नुपर्ने हुन्छ। यस्ता आवेदनमा म्यासेज पठाएर विवरण प्राप्त गर्दा समय लाग्ने तथा कहिलेकाहीं सर्भर लगायत प्राविधिक कारणले समस्या हुनसक्ने भएकोले तीन कार्य दिन अगाडि अनलाइन फाराम भर्नुपर्दछ।

बिचौलियाहरूले सजिलै हुने र हुँदै नहुने काम मिलाइदिन्छु भन्दै रकम मागेमा ठाडै इन्कार गर्नुपर्छ।वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा विवरण प्रविष्टि गर्दा सही विवरण राखी सक्कलसँग राम्ररी रुजु गरी यकिन भैसकेपछि मात्र पेश गर्नुपर्छ।

स्वदेशी विमानस्थलबाट मात्र विदेश जानुपर्दछ। अन्य छिमेकी देशको बाटो गरेर जाँदा बेचिन वा ठगीमा पर्न सकिन्छ।लुकीछिपी जाँदा कानूनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्‍त हुने सेवासुविधा प्राप्‍त नहुने हुँदा विशेष होश पुर्‍याउनुपर्छ।

राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरूको प्रमाणपत्र, रकम बुझाएको रसिदहरू, बीमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घरपरिवारका व्यक्ति वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ।आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरू रुजु गरेर लिएर जानुपर्छ जसले गर्दा अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु पर्दैन। वैदेशिक रोजगारको क्रममा ठगीमा परे वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ।

विदेशमा काम गर्दा करार अवधि सकिएपछि अनलाइनबाटै जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषमा रकम भुक्तानी गरी विदेशबाटै अनलाइन मार्फत श्रम स्वीकृति नवीकरण गर्नुपर्छ। अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइँदैन।

सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली राजदूतावास, वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ। आफूखुसी अन्यत्र काम गर्न जानु हुँदैन।आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ। कमाएको रकम बैंकिङ्ग च्यानल वा रेमिट्यान्स कम्पनीबाट पठाउनुपर्छ। हुण्डीबाट पठाउनु गैरकानूनी हुन्छ।

कुनै कारणले विदेशबाट समय अगावै वा अवधि सकेर नेपाल आउँदा प्रचलित कानूनले दिएको सुविधा भन्दा बढी परिमाणको सुन तथा सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थहरू ल्याउनुहुँदैन। कसैले ललाईफकाई गरेर प्रलोभनमा पारी त्यस्ता सामान लैजान वा कुनै वस्तु भित्र गोप्य रूपमा सुन, चाँदी राखेर लैजान भन्यो भने ठाडै इन्कार गर्नुपर्छ।

भन्सार विभागले तोकेको परिमाण भन्दा बढी ल्याएमा जफत हुनुका साथै थप शुल्क समेत तिर्नुपर्ने हुन्छ। कुनै समस्या परेर फर्कनु परेमा वैदेशिक रोजगार विभाग र पठाउने म्यानपावर कम्पनीमा फिर्ता भई आएको यथाशीघ्र जानकारी गराउनुपर्छ र ठगिएको भए उजुरी गर्नुपर्छ।

स्वदेशमा बस्ने भएमा वैदेशिक रोजगारका क्रममा हासिल गरेका ज्ञान, सीप र अनुभवको प्रयोग गर्नुपर्छ।वैदेशिक रोजगारीका क्रममा आर्जित आम्दानीलाई उद्यम र व्यवसायमा लगानी गर्नुपर्छ।सरकारले वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गर्नेलाई सहुलियत व्याजदरमा ऋण प्रदान गर्ने गरेको छ भने पुन: एकीकरण कार्यक्रम पनि सञ्चालन गर्न लागेको छ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई सम्मान तथा पुरस्कार पनि दिने गरेको छ।यसकारण स्वदेश फर्किएपछि आफ्नै गाउँठाउँमा उद्यम व्यवसाय गरी बस्नुपर्छ।वैदेशिक रोजगारीको क्षेत्रमा भएका विकृति, विसंगति र बेथिति नियन्त्रणका लागि सरकारले गरेका पहलमा सहयोग गर्नुपर्छ।वैदेशिक रोजगारीमा जान चाहनेलाई सही सूचना दिई सहजीकरण गर्नुपर्छ।

७. निष्कर्ष

वर्तमान अवस्थामा नेपाली युवाका लागि वैदेशिक रोजगारी बाध्यता बनेको छ।सकभर नेपालमा नै बसेर कुनै उद्यम, पेशा, व्यवसाय वा कृषि कार्य गर्नुपर्छ। बाध्यतावश कामका लागि विदेश जानु परेमा वैदेशिक रोजगारीको समग्र प्रक्रिया बुझेर तथा सीप सिकेर मात्र जानुपर्छ। श्रम स्वीकृतिको प्रक्रिया थाल्दा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी अनावश्यक रकम कसैलाई पनि दिनुहुँदैन।

वैदेशिक रोजगारको क्षेत्रमा भएका थुप्रै बेथितिको अन्त्य सरकार एक्लैको प्रयासले मात्र सम्भव हुँदैन।वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले गरिरहेको पहलमा सर्वसाधारण, म्यानपावर कम्पनी, अभिमुखीकरण संस्था, स्वास्थ्य परीक्षण संस्था, सञ्चारमाध्यम एवम् सरोकारवाला सबैले साथ दिनुपर्ने देखिन्छ।

(लेखक वैदेशिक रोजगार कार्यालयका सहसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?