+
+

पूजालक्षित आँचलको कटाक्ष : महंगो पारिश्रमिक लिनेको फिल्म पनि आएकै हो !

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १३:३५

काठमाडौं । फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गते एकैदिन रिलिज हुने तयारीमा छन् । यो जुधाइको अर्थ बक्स अफिस प्रतिस्पर्धा समेत हो । यस्तोमा स्टारडमको अर्थ हुन्छ ।

‘झिंगेदाउ’मा आँचल शर्माको मुख्य भूमिका छ भने ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्माको । यी दुई अभिनेत्री घरेलु बक्स अफिसमा चल्तीका कलाकार समेत हुन् ।

‘सम्हालिन्छ कहिले मन’बाट पूजाले २० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा नयाँ रहेन । पूजाको यसै महिना रिलिज भएको फिल्म ‘सम्झना बिर्सना’ भने बक्स अफिसमा पूर्णतः असफल रह्यो । महंगी अभिनेत्री भएर पनि फिल्म असफल भएपछि उनको स्टारडममा प्रश्न खडा त हुने नै भयो ।

‘झिंगेदाउ’ अभिनेत्री आँचलले यही सन्दर्भमा कुरा उठाउँदै पूजालक्षित कटाक्ष गरेकी छन् । बढी पारिश्रमिक लिने कलाकारले नभई फिल्म आफैंमा राम्रो भए मात्र चल्ने आँचलको तर्क छ ।

‘महंगो पारिश्रमिक लिनेको फिल्म पनि आएकै हो,’ आँचलको तर्क छ, ‘कलाकारले गर्दा फिल्म चल्ने वा नचल्ने भन्ने कुरा सेकेन्डरी हो । फिल्म आफैंमा राम्रो हुनुपर्छ भन्ने कुरा हामीले अहिले धेरै भोगिसकेका छौं । धेरै राम्रा कलाकारको फिल्म आएको हो नि त हाम्रो अघि ।’

‘बक्स अफिसमा हिट दिने कलाकारको फिल्म आएको हो । बढी पारिश्रमिक लिने कलाकारको फिल्म आएको हो । कलाकारको मेहनत सुटिङसम्म रहेछ भन्ने बुझियो,’ आँचल अगाडि भन्छिन्, ‘मेरो फिल्म पनि राम्रो हुनुपर्छ र अरुको जुधेको पनि छ भने त्यो पनि राम्रो हुनुपर्छ । हामी दुवैको फिल्म राम्रो भए समग्र फिल्म क्षेत्रलाई राम्रो हुन्छ । बलिउड र हलिउडसँग जुध्नुभन्दा त नेपालीसँगै जुध्नु राम्रो हो ।’

आँचलले आफ्नो फिल्म ‘झिंगेदाउ’प्रति आफू निश्चित रहेको बताइन् । ‘म मेरो कथावस्तु, विषय र प्रोडक्टमा विश्वसनीय छु कि छैन । मलाई विश्वास छ कि छैन भन्ने कुरा मात्र हो । मलाई एकदमै विश्वास छ झिंगेदाउप्रति,’ उनी भन्छिन् ।

‘शुक्रबार र शनिबारलाई हेर्दा फिल्म राम्रो भए मात्र आइतबार चल्ने हो रहेछ । मानिलिऔं शुक्रबार कलाकारले हलमा मान्छे आए रे, त्यसपछि त माउथ पब्लिसिटी हो । राम्रो छैन भन्ने लागेपछि त मान्छेहरु जाँदैनन् । मेरो चीजमा म विश्वस्त छु,’ आँचल भन्छिन् ।

ज्ञानेन्द्र देउजा निर्देशित झिंगेदाउ भीमनिधि तिवारीको कृतिमा आधारित छ । फिल्ममा केकी अधिकारी र मुकुन भुसालको समेत प्रमुख भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?