+
+
संक्रमणकालीन न्याय :

ओलीको चेतावनी : सम्हालिएर व्यवहार गर, त्यस्ता विधेयक च्यातेर फालिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १८:०८

६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएका छन् । कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेको भन्दै उनले यस्ता विधेयक च्यातेर फाल्ने बताए ।

सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले सरकारलाई सम्हालिएर व्यवहार गर्न आग्रह गरे । कानुनमन्त्री गोविन्द बन्दीतर्फ संकेत गर्दै उनले भने, ‘एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरुमाथि बदजफ्ती गर्ने ?’

संसदको सबभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमालेसँग एक वचन सरसल्लाह नगरेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘मनपरी ढंगले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ ।’

उनले अघि भने, ‘पीडितहरुको आँसुमा खेलबाड गर्न, अझ पीडा थप्न शान्ति प्रक्रिया होइन । पीडा टुग्याउनुपर्‍यो, सद्भाव कायम गर्नुपर्‍यो, मेलमिलाप हुनुपर्‍यो ।’

स्वेच्छाचारी ढंगले कानून संशोधन गर्न खोजेको भन्दै उनले सरकारलाई खबरदारी गरे ।

२०६२/६३ को जनआन्दोलनको बेला ८ वैशाखमा तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलन टुंगियो भनेर घोषणा गर्दा आफूहरुले छैन भनेर अगाडि बढेको भन्दै ओलीले भने, ‘आफ्ना लागि टुंगियो भनेर हुन्छ ? देशका लागि टुंग्याउनु पर्दैन ? जनताका लागि टुंग्याउनु पर्दैन ?’

अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको फैसलाअनुसार पीडितको चित्त बुझाएर समस्या समाधान खोज्नुपर्ने उनले बताए । पीडितलाई दमन गरेर शान्ति प्रक्रिया टुंग्याएँ भनेर कसैले घोषणा गर्दैमा नटुंगिने भन्दै ओलीले भने, ‘पीडा थप्न बन्द गर, यथोचित ढंगले न्याय पाउनुपर्छ । मानवताविरुद्धको जघन्य अपराधमा सजाय हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?