+
+

टिकटक ट्रेन्ड : तीजको छेकोमा, ‘काला चश्मा’ भाकामा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १५:४६

काठमाडौं । तीजको तिथि नजिकिंदैछ । विगतका दिनमा जस्तो हुँदो हो त बजारमा यतिबेला तीज गीतको सिलसिला सुरु भइसकेको हुन्थ्यो । तीजको भाकामा गीत रेकर्ड गर्ने र त्यसको दृश्यांकन गर्ने चटारोले छोपिसकेको हुन्थ्यो ।

अझ पछाडिको समयमा फर्कने हो भने छोरीचेलीहरु माइत जाने सुरसार गरिरहेका हुन्थे । घरमा भोगेका तीतामीठा क्षणहरुलाई नाचगानका माध्यमबाट अभिव्यक्त गरिरहेका हुन्थे । खासगरी आफूमाथि भएको थिचोमिचो, उत्पीडनको व्यथा गाउँदै विद्रोहको आवाज ओकलिरहेका हुन्थे । तर अहिले महिलाहरु दुःख-पीडाका विलौना होइन, उन्मुक्तिको आवाज घन्काउन थालेका छन् ।

किनभने परिवेश फेरिएको छ । फेरिएको छ तीज भाका । अनि फेरिएको छ तीजको शैली पनि । जमाना टिकटकको जो छ ।

तीजकै मेसोमा एउटा हिन्दी गीतको अंश टिकटकफिकेसन भएको छ, काला चश्मा । यो गीत र तीजको खास कुनै घनिष्ट साइनो त छैन । तर तीजको साजसज्जामा ठाँटिएर यही गीतमा नाचिरहेका छन् नेपाली महिलाहरु ।

यसको खास कुरा के भने यो भाकालाई महिलाहरुले बढी रुचाएका छन् । यसको नृत्य भने केही भड्किलो लाग्छ । साडीमा ठाँटिएका महिलाहरु यस्तै नृत्यलाई नक्कल गरिरहेका छन् । यसले समाजमा खुल्दै गएका महिलाहरुको स्वच्छन्द मनोविज्ञानलाई पनि उजागर गर्छ ।

टिकटकमा खुबै पछ्याइएको यो गीतले भने विश्व फन्को लगाएर नेपाल प्रवेश गरेको हो । खासमा नर्वेजियन युवाको समूहले ‘काला चश्मा’को हुकमा नृत्य गरेका थिए । यो समूहले हिन्दी गीतमा कभर भिडियो बनाउने गरेका छन् । उनीहरुको समूहको नाम छ, ‘क्विक स्टाइल स्टुडियो ।’ खासगरी उनीहरु बिहेभोजमा नाच्ने गरेका छन् र त्यही भिडियो भाइरल हुने गरेको छ ।

‘काला चश्मा’लाई पनि उनीहरुले नै टिकटकमा भाइरल बनाए । खासगरी हात र घुँडा टेकेर नाच्ने ताललाई टिकटकमा अधिकांशले पछ्याएका छन् ।

खासमा ‘काला चश्मा’ गीत पाँच वर्षअघि नै सार्वजनिक भएको हो । हिन्दी फिल्म ‘बार बार देखो’को यो गीतमा सिद्धार्थ मल्होत्रा र कट्रिना कैफ नाचेका छन् । यो गीतको थुप्रै कभर भिडियो पनि बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?