+
+

एजुकेसन कन्सल्टेन्सीको आवरणमा अनलाइन जुवाको धन्दा

साहको बैंक खातामा एक महिनामा ८० लाख रुपैयाँ भन्दा बढीको कारोबार देखिएपछि प्रहरी उनको कोठासम्म पुग्यो । उनको कोठामा २४४ वटा एनसेलको सिमकार्ड फेला पारेको प्रहरीले अनलाइन जुवा खेलाउने गरेको प्रमाण भेट्यो ।

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ ७ गते १९:१७
अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेकाहरु ।

७ भदौ, विराटनगर । झापाको दमक नगरपालिका– ८ का २५ वर्षीय सतप्रकाश साह शैक्षिक पराशर्म केन्द्र (एजुकेसन कन्सल्टेन्सी) सञ्चालन गर्छन् । तर उक्त व्यवसायबाट हुन सक्ने सम्भावित आम्दानीको तुलनामा उनको जीवनशैली अस्वाभाविक देखेपछि प्रहरीले निगरानी बढायो ।

त्यसै क्रममा उनीबाट ठगिएको भन्दै केही व्यक्तिले प्रहरीमा मौखिक जानकारी पनि गराए ।

गुनासो बढ्दै गएपछि इलाका प्रहरी कार्यालय दमक र प्रदेश १ प्रहरीको रिजनल इन्भेस्टिगेसन टिमलेसंयुक्त रुपमा अनुसन्धान अघि बढायो । साहलाई पछ्याउने क्रममा प्रहरीले अनलाइनमार्फत ठगी गरेको जानकारी पायो । साहको सिभिल बैंकको खातामा एक महिनामा ८० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार देखिएपछि प्रहरी उनको कोठासम्म पुग्यो ।

उनको कोठामा २४४ वटा एनसेलको सिमकार्ड फेला पारेको प्रहरीले अनलाइन जुवा खेलाउने गरेको प्रमाण भेट्यो । ‘हाम्रो अनुमान अनलाइन ठगी गर्छ भन्ने थियो, तर कोठामा पुग्दा अनलाइन जुवा खेलाउने गरेको पाइयो’, इलाका प्रहरी कार्यालय दमकमा डीएसपी दिलिप गिरीले भने, ‘जुवाका लागि ईसेवाबाट कारोबार गर्दा रहेछन् ।’ ईसेवाको खाता (एकाउन्ट) बनाउनका लागि प्रयोग भएका २४४ वटा सिम उनको कोठामा भेटिएको हो ।

अनलाइन जुवामा कारोबार गर्न एउटा मात्रै ईसेवा एकाउन्टले सम्भव नभएपछि उनले सञ्चालन गरेको पदमा इन्टरनेसनल कन्सलटेन्सीमा आउने सेवाग्राहीको नागरिकताको फोटोकपी र फोटो प्रयोग गरेर अरु सिमकार्ड निकाल्ने गरेको प्रहरीले फेला पारेको छ ।

‘एजुकेसन कन्सल्टेन्सीमा आउनेको नागरिकताको फोटोकपी र फोटो राख्दा रहेछन्’, प्रहरी स्रोत भन्छ, ‘कन्सल्टेन्सीमा राखेको फोटो र नागरिकताको फोटोकपी प्रयोग गरेर एनसेलको सिम निकाल्दै ईसेवा एकाउन्ट बनाएको भेटियो ।’ साहले कागजात मिलाउन र ईसेवा एकाउन्ट बनाउन छुट्टाछुट्टै व्यक्तिलाई प्रयोग गर्थे ।

उनी अनलाइन जुवा खेलाउने वान एक्स एप्लिकेसनको टिम १ लिडर हुन् । टिम २ र टिम ३ मा दमक नगरपालिका–७ का राजु श्रेष्ठ र कमल गाउँपालिका– २ का अरुण कार्कीलाई जोडेको प्रहरीले बताएको छ । २७ वर्षीय श्रेष्ठ पदमा इन्टरनेशनलका कन्सल्टेन्सीका सञ्चालक पनि हुन् । कार्की भने योर्स कम्युनिकेसन एण्ड फोटो स्टुडियो सञ्चालन गर्छन् ।

प्रहरीका अनुसार कन्सटेन्सीमा आएका सेवाग्राहीको कागजात कार्कीले मिलाइदिएपछि पिताम्बर थापा नाम गरेका व्यक्तिले ईसेवा एकाउन्ट खोलेर आईडी र पासवर्ड साहलाई दिन्थे । साहले ईसेवा आइडी जुवा खेलाउँदा पैसा लिन र पठाउन प्रयोग गर्थे ।

सतप्रकाशले डेढ महिनायता अनलाइन जुवा खेलाइरहेको वयान दिएका छन् । ‘प्रारम्भिक अनुसन्धानका क्रममा डेढ महिनादेखि जुवा खेलाएको स्वीकार गरेका छन्’, डीएसपी गिरीले भने, ‘थप अनुसन्धान जारी छ, हामी सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं ।’

नक्कली कागजात र सरकारी छाप भेटियो

साहले अनलाइन जुवा खेलाउने गरेको फेला पारेपछि प्रहरी उनको एजुकेसन कन्सल्टेन्सीसम्म पुग्यो । कन्सल्टेन्सीमा प्रहरीले नक्कली सरकारी कागजात र त्यस्ता कागजात बनाउन प्रयोग हुने सरकारी छाप भेटेको छ ।

‘वडाको कागजपत्रदेखि सबै नक्कली कागजात कन्सल्टेन्सीबाट बन्दो रहेछ’, प्रहरी स्रोत भन्छ, ‘कन्सल्टेन्सीको नक्कली कागजात कार्कीको स्टुडियोमा प्रिन्ट हुन्थ्यो ।’ कार्कीलाई साहले नै अनलाइन जुवामा जोडेका प्रहरीको भनाइ छ ।

एजुकेसन कन्सल्टेन्सीपछि प्रहरी टोली फोटो स्टुडियोमा पनि पुग्यो । जहाँ ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकले नक्कली कागजात बनाएको फेला प¥यो । जसको सञ्चालक दमक– ८ का ३३ वर्षीय राजु लिम्बु हुन् ।

बेलायती सेनामा भर्ती हुने तयारी गरिरहेकाहरुको एसईईको नक्कली प्रमाणपत्र बनाउन लिम्बुले कार्कीको फोटो स्टुडियोमा ल्याउने गरेको प्रहरीको दाबी छ । ‘एसईईमा डी र ई ग्रेड आउनेले ब्रिटिस आर्मी भिड्न पाउँदैनन्’, प्रहरी स्रोत भन्छ, ‘कार्कीले त्यस्ताको सर्टिफिकेट बनाइदिँदा रहेछन् ।’

प्रहरीले कन्सल्टेन्सीमा फेला पारेको प्रमाणपत्रको पनि अनुसन्धान गरिरहेको छ । ‘यहाँ फेला परेको सर्टिफिकेटका वास्तविक धनीहरुलाई पनि बोलाउँछौं’ डीएसपी गिरीले भने, ‘सर्टिफिकेट अध्ययनपछि थप प्रक्रिया अघि बढ्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?