+
+

कहिले टिकट पाइएला भनेर युवाले प्रार्थना गरिरहेका छन् : अध्यक्ष तिमल्सिना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १८:०५

७ भदौ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अहिले राजनीतिक दलमा युवाले कहिले टिकट पाइएला भनेर प्रार्थना गरेर बसेको टिप्पणी गरेका छन् ।

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा उनले पुराना नेता हुँदासम्म युवाले पालो नपाएको बताए ।

‘अहिले पार्टीका नेता, कार्यकर्ताहरु कहिले पुराना नेताहरुको जीवन अन्त्य हुन्छ र टिकट पाउँला भनेर प्रार्थना टिकट पाउनका लागि गरिरहेका छन् । अब दलहरुले क्षमता योग्यता हेरेर प्रतिनिधि अघि बढाउनुपर्छ’ उनले भने ।

उनले नेताहरुले चुनावमा आफू किन उठ्ने भन्ने विषयमा नेताहरु प्रष्ट हुनुपर्ने पनि बताए । ‘अब आउने चुनावमा म कनि उठ्ने र केका लागि उठ्ने भन्ने सोच्नुपर्छ । मन्त्रीका लागि र सांसद बन्नकै लागि सांसद बन्नु हुँदैन । चुनावमा किन र केका लागि उठ्ने भन्ने अठोट गरौं’ अध्यक्ष तिमल्सिनाले भने ।

उनले सरकारको स्पष्ट नीति नहुँदा सानासाना आयोजना पनि संघीय सरकारबाटै कार्यान्वयन भइरहेको बताए । ‘केही हजारका, लाखका योजना पनि किन संघमा रहने ? सबैतिर किन त्यस्तो भइरहेको छ ? भन्दा त्यहाँ पनि हामीले नीतिगत हिसावले अझै प्रष्टता आएको छैन’ उनले भने ।

करोडसम्मका योजना प्रदेश र लाखका योजना स्थानीय सरकारले कार्यान्वयन गर्ने गरी नीति बनाउन उपयुक्त हुने उनले बताए ।

दुई प्रदेशसँग जोडिने, ठूलो जनसंख्याको हिस्सालाई समेट्ने र निश्चित बजेटसम्म्मका आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भन्ने गरी नीतिगत व्यवस्था गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?