+
+
प्रदेशसभा चुनावको सम्भावित परिदृश्य :

गण्डकीको एमाले वर्चस्वलाई गठबन्धन तगारो

पाँचदलीय गठबन्धन कायम रहने हो भने ३६ मध्ये २८ सिटमा उनीहरु अगाडि देखिन्छ । यसमध्ये पनि २० प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो स्थानको एमालेसँग मतान्तर ५ प्रतिशतभन्दा बढी हुनेछ । एमाले ८ क्षेत्रमा अगाडि हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते २०:०५

७ भदौ, काठमाडौं । शुक्रबार म्याग्दी पुगेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कार्यकर्तामा ‘आत्मविश्वास’ जगाउँदै सुनाए, ‘गण्डकी प्रदेशमा अहिले पनि नेकपा एमालेको एकल सरकार बन्नसक्छ । स्थानीय तहको निर्वाचन परिणाम हेर्दा ३६ वटा निर्वाचन क्षेत्रमध्ये २२ वटामा नेकपा एमाले एक्लै अगाडि छ ।’

सत्तारुढ दलहरुले गठबन्धन गर्दा एमालेको त्यो अग्रता कायम हुने छैन । पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङ भन्छन्, ‘बल गरेर १५ देखि २० सिट प्रत्यक्षतर्फ जित्ने स्थिति बन्यो भने १०/११ समानुपातिकमा आउँछ । ३१ सिट भयो भने गण्डकीमा प्रदेश सरकार बन्छ ।’

प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने कि प्रदेशमा दोहोरिने भन्ने अलमलमा रहेका गुरुङले भने जस्तै ६० सदस्यीय प्रदेशसभामा ३१ सांसद भए सरकार बन्छ । तर ३१ सांसद जिताउन भने सहज देखिएको छैन ।

एक्लै लड्दा एमाले पहिलो

स्थानीय निर्वाचन २०७९ मा वडाध्यक्षतर्फ दलहरुले पाएको मत हेर्दा गण्डकीमा एमाले पहिलो दल हो ।

यदि दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने एमाले एक्लै १९ प्रदेशसभा निर्वाचनमा अगाडि देखिन्छ । जसमध्ये १० सिटमा दोस्रो स्थानमा रहेको दलसँग ५ प्रतिशतभन्दा धेरै मतान्तर समेत छ ।

कांग्रेस १४ क्षेत्रमा अगाडि छ । जसमध्ये ६ मा दोस्रो स्थानमा रहेको दलसँग ५ प्रतिशतभन्दा धेरै मतान्तर छ । माओवादी केन्द्र ३ प्रदेश सभा क्षेत्रमा अगाडि छ र सबै ठाउँमा मतान्तर ५ प्रतिशतभन्दा कम छ ।

हाल प्रदेशसभामा रहेको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा र प्रदेशसभामा नभएको एकीकृत समाजवादीले पनि प्रदेशसभामा प्रत्यक्षतर्फ जित्न कठिन रहेको स्थानीय तहको मतले देखाएको छ ।

पाँच दलले गठबन्धन गर्दा एमालेलाई संकट

गठबन्धन भएको अवस्थामा भने जसले गर्छ, उसले बाजी मार्ने स्थानीय तहको मतले देखाएको छ । सत्तारुढ पाँच दलले प्रतिनिधिसभासँगै प्रदेशसभामा तालमेल गर्ने सहमति गरेका छन् र सिट बाँडफाँटका लागि निरन्तर छलफल गर्दै आएका छन् ।

पाँचदलीय गठबन्धन कायम रहने हो भने ३६ मध्ये २८ सिटमा उनीहरु अगाडि देखिन्छ । यसमध्ये पनि २० प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो स्थानको एमालेसँग मतान्तर ५ प्रतिशतभन्दा बढी हुनेछ । एमाले ८ क्षेत्रमा अगाडि हुनेछ । तर त्यसमध्ये पनि ५ क्षेत्रमा मतान्तर ५ प्रतिशत भन्दा कम देखिन्छ ।

एमालेले अहिले राप्रपा र राप्रपा नेपालसँग तालमेल गर्ने प्रयास गरिरहेको छ । यदि दुबै दलसँग तालमेल गर्ने हो भने एक क्षेत्र कास्की २ क मा यो गठबन्धन ४ दलीय गठबन्धनभन्दा अगाडि हुनेछ ।

अरुमा केहीमा मतान्तर कम हुनेछ, तर गठबन्धन अगाडि रहेको २७ मध्ये १९ सिटमा एमाले–राप्रपा–राप्रपा नेपालको गठबन्धन ५ प्रतिशतभन्दा बढी मतले नै पछाडि पर्ने स्थानीय तहको निर्वाचनले देखाउँछ ।

वाम गठबन्धन भए कांग्रेसलाई आपत

राजनीतिमा असम्भव भन्ने हुँदैन । चुनावका बेला रातारात गठबन्धनहरु भत्किने र बन्ने थुप्रै खेल भइसकेको छ । त्यसैले अहिले निकै टाढा जस्तो देखिएको वाम गठबन्धन नहोला भन्न सकिन्न । यदि वाम गठबन्धन हुने भने हो गण्डकीको प्रदेशसभा चुनावमा पाँचदलीय गठबन्धन कायम हुँदा एमालेलाई पर्ने संकट कांग्रेसतिर सर्ने देखिन्छ ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच गठबन्धन हुने हो भने गण्डकी प्रदेशको ३६ मध्ये २९ प्रदेशसभा निर्वाचन क्षेत्रमा उनीहरु अगाडि हुनेछन् । त्यसमध्ये पनि ७ सिटमा मात्र मतान्तर ५ प्रतिशतभन्दा कम हुनेछ, २२ सिटमा धेरै हुनेछ ।

कांग्रेस भने जम्मा ७ क्षेत्रमा अगाडि हुनेछ । यसमा पनि ५ क्षेत्रमा मतान्तर वाम गठबन्धनको भन्दा ५ प्रतिशत भन्दा कम हुनेछ । यसरी हेर्दा वाम गठबन्धन बन्ने हो भने कांग्रेस निकै संकटमा पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?