+
+
डेंगुको प्रकोप :

ज्वरो आएको छ ? डेंगु र कोरोना दुवै जँचाउनुस्

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ भदौ ८ गते २०:२६
परीक्षणका लागि लाइन बसेका बिरामी ।

८ भदौ, काठमाडौं । बुधबार दिउँसो १ बजे इमर्जेन्सी बाल्दै एउटा ट्याक्सी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भित्र छिर्छ । ट्याक्सीमा एक जना विरामी र दुई आफन्त हुन्छन् । बिरामीलाई आफन्त र स्वास्थ्यकर्मीले भित्र ल्याउन सहयोग गर्छन् ।

बिरामी बेडमा पनि पुग्न नपाउँदै आकस्मिक कक्षका प्रमुख डा. लिलानाथ भण्डारी बिरामीको आफन्तलाई सोध्छन्, ‘कहाँबाट आउनुभयो ? के भयो ?

‘यही कंलकीबाट’, आफन्तको बोली नसकिँदैन बिरामी सकिनसकी बोल्छन्, ‘एक हप्ता भयो ज्वरो आएको, आँखाको नानी दुख्छ, शरीर करकरी दुख्छ, टाउको फुट्ला जसरी दुखिरहन्छ ।’

भण्डारी थप्छन्, ‘डेंगुको लक्षण देखिएको छ । कोरोनाको पनि परीक्षण गर्नुहोस् ।’

अस्पतालको आकस्मिक कक्षमा पुग्ने अधिकांशलाई भण्डारीको यही जवाफ हुन्छ ।

अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. मिलन बज्राचार्यका अनुसार उनी आज (बुधबार) १ बजेसम्ममा अस्पताल आइपुग्ने डेंगुका १५ औं बिरामी हुन् । यो संख्या बढ्दो छ ।

नेपालको एकमात्र सरुवा रोग अस्पताल हो– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल । पछिल्ला दुई वर्षदेखि कोरोना संक्रमितको उपचार तथा परीक्षणमा तल्लीन यो अस्पतालमा अहिले कोरोनासँगै डेंगुका बिरामी पनि बढ्दो छन् । बाहिर डेंगुको परीक्षण गर्नेको लाइन छ भने आकस्मिक कक्षका बेड बिरामीले भरिभाउ । आकस्मिक कक्षमा बेड खाली नभए पनि बिरामी आउने क्रम निरन्तर छ ।

‘ज्वरोको समस्या लिएर आउने सबैलाई डेंगुको संक्रमण भएको छ,’ डा. भण्डारीले भने । अस्पताल प्रशासनको तथ्यांकले डेंगु नियन्त्रणबाहिर गएको संकेत गरेको छ । साउन महिनाभर डेंगुका १९० जना बिरामीको भर्ना भएको यो अस्पतालमा पछिल्लो एक हप्तामा नै १७६ जना डेंगुका बिरामी भर्ना भएका छन् । ५ भदौमा एकै दिन ५० जना बिरामी आकस्मिक कक्षमा भर्ना भएका भण्डारीले जानकारी दिए ।

‘यो हप्ता बिरामीको चाप ह्वातै बढेको छ । आइतबार त आकस्मिक कक्षमा बिरामीको व्यवस्थापन गर्न गाह्रो भयो,’ भण्डारीले भने । टेकुमा हाल जनरल वार्डमा ४० बेड छन् । त्यसमध्ये ५० प्रतिशतभन्दा बढी डेंगुका बिरामी उपचारत छन् । वार्डका अधिंकाश बेडमा झुल टाँगिएको छ ।

बेड नम्बर २६ मा छन् शंखमुलका ४० वर्षीय दिनेशकुमार विष्ट । गत शुक्रबार ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिए पनि उनी बानेश्वरको भेनस अस्पताल पुगेका थिए । अस्पताल परिसरमै बेहोस भएपछि उनलाई भेनसले टेकु पठाएको हो । ‘सुरूका दिनमा १०४ डिग्रीसम्म ज्वरो आएको थियो । आँखाको नानी दुख्नेदेखि शरीरमा बिमिरा आउने लगायतका लक्षण देखियो’, निको हुँदै गएका विष्ट भने, ‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेका छ । हेरौं दुई–चार दिनमा डिस्चार्ज होइन्छ कि !’

अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. बज्राचार्यका अनुसार अस्पतालमा आउने संक्रमितहरु कल‌ंकी, बल्खु, कालिमाटी क्षेत्रका बढी छन् ।

टेकुमा मात्र होइन, पाटन अस्पतालमा पनि डेंगुका बिरामीको उस्तै चाप छ । मेडिकल विभाग प्रमुख प्रा.डा युवराज शर्मा भन्छन्, ‘पछिल्लो दुई हप्ता यता डेंगुका केस ह्वातै बेढेको छ, यसले डेंगु नियन्त्रणबाहिर गइसकेको संकेत गर्छ, जसले महामारीको रूप लिने निश्चित छ ।’ अस्पतालको तथ्यांक अनुसार वैशाखयता पाटनमा ४ सयभन्दा बढी डेंगुका बिरामीले उपचार गराइसकेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार अहिले देशका ६० भन्दा बढी जिल्लामा डेंगु फैलिसकेको छ । डेंगुबाट उपत्यका र तराइका जिल्ला मात्र होइन, पहाडी र हिमाली जिल्ला पनि प्रभावित छन् । डेंगु नियन्त्रणका लागि स्थानीय तहका स्वास्थ्य संयोजक तथा जिल्ला तथा प्रदेशका उच्च अधिकारीको समन्वयमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन सुरू भएको महाशाखाले जनाएको छ ।

नेपालमा सन् २००४ मा एक जना विदेशी नागरिकमा डेंगु संक्रमण देखिएको थियो । सन् २०१० र २०१७ मा पनि धेरै संख्यामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१९ मा धरानबाट सुरु भएको डेंगुले महामारी नै ल्याएको थियो । त्यस वर्ष १८ हजारभन्दा बढी डेंगुबाट संक्रमित भए भने ६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार डेंगुको संक्रमण काठमाडौं उपत्यकामा दशैं–तिहारको समयपछि देखिने गरेको थियो । तर पछिल्ला केही वर्षमा फरक स्थिति छ । ‘सन २०१९ पछि फरक अवस्था देखिएको छ । अहिले नै डेंगुले धेरै जनालाई आक्रान्त बनाएको छ । चाँडै नियन्त्रणमा नआउने हो भने प्रकोपको रूप लिन्छ’, डा. पुन थप्छन् ।

एउटा लामखुट्टेबाट ७०० बढी संक्रमित लामखुट्टेको जन्म

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेपछि हुने तीव्र भाइरल संक्रमण हो डेंगु । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज नामक लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले सफा पानीमा फुल पार्छ । यो लामखुट्टे फरकखालको रहेकाले दिउँसोको समयमा टोक्ने गर्दछ ।

‘एडिस जातको लामखुट्टेले डेंगु संक्रमित व्यक्तिलाई टोकेपछि आफू संक्रमित हुन्छ , पोथी जातको लामखुट्टेले अण्डा पार्ने बेलामा टोक्ने गर्छ,’ डा. बज्राचार्य भन्छन्, ‘एक व्यक्तिको रगतले नअघाउँदा अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण फैलाउँछ ।’

आफ्नो जीवनकालमा ३ देखि ५ पटकसम्म अण्डा पार्ने लामखुट्टेले एकपटकमा ६० देखि १५० हाराहारीमा पार्छ । अर्थात एउटा लामखुट्टेबाट सात सयभन्दा बढी फुल पार्ने क्षमता हुन्छ । उक्त अण्डा विकसित हुनका लागि ८ देखि १० दिन लाग्ने गर्छ । संक्रमित लामखुट्टेको फुलबाट जन्मिएका सबै लामखुट्टे डेंगु संक्रमित हुने गर्छन् । उक्त लामखुट्टको शरीर कालो–सेतो छिरबिरे रंगको देखिन्छ ।

यो लामखुट्टेको वृद्धि, विकास सबैभन्दा बढी फालिएका टायरहरुमा तथा फलाम र प्लास्टिकका ड्रमहरु हुने डा. पुन बताउँछन् । उनका अनुसार लामखुट्टेले टोकेको ४ देखि १० दिन सम्ममा डेंगुको लक्षण देखिने गर्छ ।

लक्षण के हुन् ?

धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा डेंगु जटिल अवस्थामा जान सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रुपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने डा. बज्रचार्य बताउँछन् ।

‘डेंगु संक्रमितले ज्वरो र शरीर दुखेमा सिटामोलको प्रयोग गर्न सकेता पनि ब्रुफेन, एस्पिरिन, फ्लेक्सनजस्ता पेनकिलर औषधीहरुको प्रयोग भने गर्नु हुँदैन,’ डा. ब्रजचार्य भन्छन्, ‘यसले संक्रमितमा रक्तश्राव गराउने सम्भावना हुन्छ । धेरैले ज्वरो घट्नेबित्तिकै डेंगु निको भयो होला भन्ने सोच्छन् तर, यसको ठीक विपरीत घटेको २४ देखि ४८ घण्टामा संक्रमित जटिल अवस्था जान सक्ने सम्भावना हुन्छ ।’

बच्ने उपाय : व्यवहार परिवर्तन

सरकार डेंगु संक्रमित बिरामी यति पुगे भनेर केन्द्रित मात्रै भएको सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् । डेंगु रोकथामका लागि व्यवहार परिवर्तन हुनु आवश्यक रहेको डा बास्तोलाको बुझाइ छ ।

लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने जानकारी आममानिसमा हुनु जरुरी छ । बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्यालढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ,’ डा. बाँस्तोला भन्छन्, ‘तर, हामी डेंगुका केस कति आए भनेर दौडिरहेका छौँ, डेंगु सार्ने लामखुट्टेको अन्त्यका लागि कमै मात्र लागेका छौं ।’

लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तिब्र पार्ने र जनमानसमा पर्याप्त सूचना दिनु जरुरी रहेका उनी बताउँछन् । डा. बाँस्तोला थप्छन्, ‘सम्बन्धित निकाय र स्थानीय मिलेर लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई अगाडि बढाउन ढिलाई गर्नु हुँदैन र सँगसँगै डेंगुसम्बन्धी जानकारीमूलक कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्छ ।’

डेंगुबाट बच्न यी उपाय अपनाउनुहोस् :

– लामखुट्टेको टोकाइबाट बच्ने ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।
– घरनजिक कुनै पनि किसिमका झाडी नराख्ने ।
– लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग लगाउने

– घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने
– झ्याल–ढोकामा जाली राख्ने
– शरीर पूरै ढाक्ने कपडा लगाउने
– काम नलाग्ने भाँडाकुँडा , सिसी, बोतल, प्लास्टिकका सामग्री, टायर आदिनको पानी जम्न निमल्ने गरी बिसर्जन गर्ने

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?