+
+

त्यसपछि बालेनले ड्रिलर छोडेर डोजर रोजे…

अमृत चिमरिया अमृत चिमरिया
२०७९ भदौ ८ गते २०:२७

८ भदौ, काठमाडौं । अन्डरग्राउन्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रमा ‘ड्रिलिङ मेसिन’ लगाउँदा मेयर बालेन साहमाथि प्रश्न आयो, ‘ठूलालाई चैन, सानालाई ऐन किन ?’ जिल्ला अदालतदेखि ठूला मलअगाडि फुटपाथ मिचेर पार्किङ गरेको भिडियोहरु विभिन्न माध्यमबाट उनीसम्म पुग्यो ।

मेयर बालेनले बुधबार काठमाडौं मल, आरबी कम्प्लेक्स लगायतले बनाएको अनाधिकृत संरचनामा डोजर लगाएर त्यसको जवाफ दिएका छन् ।

काठमाडौं मलको स्वामित्व कर्मचारी सञ्चय कोषसँग छ । महानगरको भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्यका अनुसार यो भवनको पहिलो तल्लाको मात्रै नक्सा पास भएको छ । महानगरले ३ वर्षदेखि नक्सा नियमित गर्न निर्देशन दिंदा पनि कोषले अटेरी गरिरहेको छ भने अगाडिको भागमा सटरहरु हालेको थियो । जहाँ विभिन्न व्यापारीहरुले व्यापार गरिरहेका थिए ।

बुधबार महानगरको टोलीले अगाडिको भागमा हालिएका सटरहरु हटाएको छ भने नक्सा विपरीत सडक छेउसम्म राखिएका पानीपुरी पसल लगायतलाई पनि बस्न नमिल्ने गरी अघिल्लो भाग भत्काइदिएको छ ।

यस्तै न्यूरोडको आरबी कम्प्लेक्सले बनाएको अवैध संरचना पनि हटायो, रञ्जना गल्लीका अवैध संरचना पनि भत्कायो । आरबी कम्प्लेक्सको आडमा बनेका अवैध सटरहहरु हटाएर बाटो खुला गरिएको छ ।

टोलीले न्यूरोडको नबिल बैंकको शाखा कार्यालयलाई बेसमेन्टबाट हटाउन निर्देशन दिएको छ भने दरबारमार्गस्थित लण्डन पबलाई दुई दिनभित्र अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ ।

ट्राफिक जाम हटाउने उपायको खोजी

मेयर बालेनले काठमाडौंको ट्राफिक व्यवस्थापनबारे विज्ञहरुसँग बारम्बार छलफलमा थिए । अन्डरग्राउन्ड पार्किङहरु प्रयोगमा आएमा काठमाडौंको ट्राफिक जाम ३० प्रतिशत घट्ने विज्ञहरुको राय छ । किनकि अन्डरग्राउन्ड पार्किङहरु सटर कवल बन्दा फुटपाथ र सडक किनारामै सवारी पार्किङ हुने गरेको छ ।

महानगरले १ साउनमा सूचना निकालेेर अन्डरग्राउन्ड पार्किङ खुला गर्न ३५ दिने सूचना निकाल्यो । तर यो अवधिमा केही छलफलका लागि नआएको मेयर बालेनले बताएका छन् र ‘एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौं, ३५ दिने सूचना जारी गरेका थियौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ ।’

३५ दिने म्याद सकिएपछि महानगरले सोमबारबाटै अण्डरग्राउण्ड पार्किङ खुला गर्ने अभियान थाल्यो, जसमा यसमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको साथ छ ।

कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी अवैध संरचना हटाउँदा उपत्यकाका ट्राफिक, फुटपाथ र पार्किङको समस्या हल हुनेमा आशावादी छिन् । बुधबार मेयर बालेनसँग फिल्डमा खटिएकी उनी भन्दै थिइन्, ‘मेयर सा’ब अब वडा-वडामा पनि यस्ता अवैध संरचना हटाउन भन्नुपर्‍यो, सबैलाई जानकारी गराउँदा पनि हटाएनन् भने कारबाही सुरु गर्नुपर्छ ।’

मेयर बालनले वडाले सूचना जारी गर्ने र हटाउन नमाने बल प्रयोग गर्ने टोलीसहित आफैं जाने गरी तयारी गर्न समेत नगर प्रहरीलाई निर्देशन दिएका छन् ।

‘कानुन सबैलाई बराबर’

मेयर बालेनकै उपस्थितिमा डोजर चलेपछि व्यापारीहरुले भने महानगरको कार्यशैलीको विरोध गरेका छन् । पूर्वजानकारी र सूचना नदिई  डोजर चलाएको उनीहरुको आरोप छ ।

तर मेयर साहले गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने जवाफ फर्काएका छन् । बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन पुगेका मेयर बालेन पीडित व्यापारीसँगै सवाल जवाफ गरेका थिए ।

‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकि दोष उसको हो’ बालेनले भनेका छन् । उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिएका छन् ।

न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरेका थिए । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरेका छन् । उनले अघि भने, ‘नक्सा पासविना बनेका सबै संरचना हट्छन् ।’

काठमाडौं जिल्ला अदालतको उदारहण दिंदै उनले कानुन विपरीत गरेको भए कारबाही हुने बताए । कानुन सबैका लागि एउटै हुने भन्दै मेयर बालेनले अदालतसँग नक्सा अनुसार संरचना प्रयोग भइरहेको प्रमाण मागेको जानकारी दिए ।

महानगरको भवन निर्माण विभागका प्रमुख शाक्यका अनुसार काठमाडौंमा करिब १ लाख ५२ हजार भवनहरु नक्सापास गरेर बनाइएको बताउँछन् । ‘२०७५ सालसम्म बनेका करिब १ लाख ३८ हजार पुराना नक्सा त डिजिटाइज गरिसकिएको छ’ उनले भने, ‘त्यसपछि यो संख्या करिब १ लाख ५२ हजार पुगेको छ ।’

तीन वर्षदेखि महानगरले पास नभएका नक्सा नियमित गर्न आह्वान गरिरहेको छ । तर, नक्सा विपरीतका संरचना पास गराउन महानगर पुग्ने न्युन छन् । ‘३ वर्षमा एक हजार मात्रै नक्सा नियमित भएका छन्’ उनी भन्छन्,’यस्तो नक्सा पास नभएका भवन कति छन् भने यकिन भन्न सकिन्नँ, तर महानगरको अहिलेको अभियानले नक्सा पास गराउन आउनेहरु बढ्न सक्छन् ।’

तस्वीर- चन्द्र आले

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?